रु. ८ करोड लिएर प्राइम साकोस वीरगञ्जका पदाधिकारी तथा सञ्चालक फरार
वीरगन्जको लिंकरोडस्थित प्राइम बचत तथा ऋण सहकारी संस्था लि. पदाधिकारी तथा सञ्चालकहरु बचतकर्ताको रु. करोड रुपैँया लिएर फरार भएको बताइएको छ ।
जिल्ला प्रशासन कार्यालय , पर्साले एक महिनादेखि सम्पर्कमा नरहेका उक्त सहकारी संस्थाका पदाधिकारी तथा सञ्चलकहरुको खोजी गरिरहेको जनाएको छ । उनीहरु सबैको मोईबाइल ‘स्विच अफ’ हुनुका साथै फेसबुक एकाउन्ट पनि ‘डिएक्टिभ’ रहेकाले बताइएको छ ।
सो सहकारी संस्थामा अध्यक्ष राजेशकुमार पट्टेेल प्रमुख हर्ताकर्ता थिए भने उनले सो सञ्चालक समितिको कोषाध्यक्ष आफ्नो श्रीमती रीता पोखरेललाई राखेका थिए । यस संस्थाको दैनिक बचत सङ्कलन गर्ने प्रतिनिधिसमेत सम्पर्कविहीन छन् ।
कार्यालय लामो समयसम्म नखुलेपछि सदस्यहरुले चैत २७ मा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए ।
उनीहरुको जग्गा , जमिन र बैंक खाता रोक्का गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । “केही जना सम्पर्कमा आएका पनि छन् तर उनीहरुले आफूले पहिले नै राजीनामा गरिसकेको बताएका छन् । यसको सत्यतथ्य के हो भनेर खोजबिन भइरहेको छ”, उहाँले भन्नुभयो । वीरगञ्ज जेसिसका पूूर्व अध्यक्ष पटेल रौतहटको बृन्दावन गाउँपालिकाको हर्साहाका बासिन्दा हुन् भने उनकी श्रीमती पोखरेल काठमाडौंकी । यस प्रकरणमा सहकारी बाहिरका व्यक्तिहरुको पनिसंलग्नता हुन सक्ने आशंका गरिएको छ ।
