आज २६औँ मदन-आश्रित स्मृति दिवस मनाइदै , नेकपा(नेकपा) जन-वर्गीय संगठनहरुको एकता सम्पन्न

आज तत्कालीन नेकपा (एमाले) का महासचिव मदनकुमार भण्डारी र स्थायी समिति सदस्य तथा संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय हत्या भएको २६ वर्ष पूरा भएको छ । २०५० साल जेठ ३ गते साँझ पोखराबाट भरतपुर जाने क्रममा चितवनको दासढुंगामा उहाँहरुको रहस्यमय ढंगबाट हत्या भएको थियो । उहाँहरु सवार जीप त्रिसुली नदीमा खसेपनि त्यसबेला चालक अमर लामा भने सकुसल दिए । त्रिसुली नदीमा खोजी गर्दा मदन-आश्रित सवार जीपमा जीवराज आश्रित मात्रै मृत अवस्थामा भेटिनु भएको थियो भने त्यसको १ दिनपछि मदन भण्डारीको शव नारायणी नदीको पुलमुनि भेटिएको थियो ।
उहाँहरुको हत्या भए लगत्तै तत्कालीन नेकपा (एमाले) उहाँहरुको हत्यारा पत्ता लगाएर कारवाहीको माग गर्दै सडक संघर्ष गरेको थियो । जसको परिणाम स्वरुप सो घटनाको छानविन गर्न तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले पूर्व न्यायधीश प्रचण्डराज अनिलको नेतृत्वमा छानविन आयोग आयोग बनायो भने जनस्तरबाट पद्मरत्न तुलाधारको नेतृत्वमा र तत्कालीन नेकपा (एमाले) ले हालका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको नेतृत्वमा छानविन आयोगहरु बने । आयोगहरुले प्रतिवेदन बुझाएपनि यसबेलासम्म घटना रहस्मय छ । उक्त घटनाको दोषी पत्ता लाग्न सकेको छैन । उहाँहरु सवार जीपका चालक तथा सो घटनाका एक मात्र साक्षी अमर लामाको पनि कीर्तिपुरमा हत्या भइसकेको छ ।
२०४७ सालमा भूमिगत अवस्थाबाट खुला हुनुभएका मदन भण्डारी भाषणकलाका कारण लोकप्रिय बन्नुभएको थियो । उहाँकै विशेष पहलमा २०४७ सालमा तत्कालीन नेकपा (माले) र नेकपा (मार्क्सवादी) पार्टी एकता भई नेकपा (एमाले) बनेको थियो । २०४८ सालको निर्वाचनमा तत्कालीन प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति कृष्णप्रसाद भट्टराई काठमाडौँ क्षेत्र नं. १ बाट पराजित गरेसँगै राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिमा उहाँको चर्चा चुलिएको थियो । नेकपा (एमाले) बनेपछि २०४९ साल माघमा सम्पन्न सो दलको एकता महाधिवेशनमा उहाँकै नेतृत्वमा बहुदलीय जनवाद पारित भएको थियो तर त्यसको राम्रोसँग व्याख्या विश्लेषण हुन नपाउदै उहाँ अस्ताउनु भएको थियो ।
यतिबेला सो घटनामा निधन भएका मदन भण्डारी पत्नी विद्यादेवी भण्डारी मुलुकको राष्ट्रपति र तत्कालीन नेकपा (एमाले) ले बनाएको छानविन आयोगका संयोजक खड्गप्रसाद शर्मा ओली देशको प्रधानमन्त्री हुनुहुन्छ तर उक्त घटनाको यसबेलासम्म रहस्य खुल्न सकेको छैन । घटनास्थलमा तत्कालीन बामदेव गौतम नेतृत्वको नेकपा (माले) र उसको विद्यार्थी संगठन अनेरास्ववियूले दुवै नेताको शालिक बनाउने क्रममा सबै प्रमाण नष्ट गरेको जानकारहरु बताउछन् ।
सो घटना भएपछि तत्कालीन नेकपा (एमाले) मदन भण्डारी र जीवराज आश्रितसँगै काम गरेका सहकर्मीहरु मनमोहन अधिकारी , माधवकुमार नेपाल , झलनाथ खनाल र खड्गप्रसाद शर्मा ओली देशको प्रधानमन्त्री भन्नुभयो भने उहाँकी पत्नी विद्यादेवी भण्डारी दोस्रो कार्यकाल राष्ट्रपति रहदा पनि दासढुङ्गा हत्याकाण्डलाई केवल भाषण गर्ने विषय मात्रै बनाइने गरेको धेरैको गुनासो छ । सो घटनाको सम्बन्धमा काठमाडौंबाट प्रकाशित एक दैनिक अखबारले पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई तपाई प्रधानमन्त्री हुञ्जेल त दासभुङ्गा हत्याकाण्डको उच्चारण पनि भएन नि भन्ने प्रश्नको जवाफमा पूर्व प्रधानमन्त्री नेपालले आफू प्रधानमन्त्री हुञ्जेल कसैले पनि आफूलाई दासढुङ्गा घटनाबारे नसम्झाएको बताउनु भएको थियो ।
उहाँहरुको जीपमा पोखराबाट आँबु खैरेनीसम्म सँगै आएर गोरखातिर लाग्नु भएका सो दलका त्यसबेलाका गोरखा जिल्ला कमिटी सचिव तथा हाल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल सो घटनाको स्मरण गर्दै भन्नु हुन्छ ” मदनको त्यस दिन पोखरा मै बसेर कार्यकर्तासँग अलि गहिरो कुरा गर्ने विचार रहेछ तर पार्टी हेडक्वाटरबाट आजै भरतपुर जानु भनेर तारन्तार खबर आयो । त्यही भएर उहाँहरु जीप चढेर पोखराबाट चितवनतिर लाग्नुभयो । म पनि उहाँहरुसँगै पोखराबाट आँबू खैरेनीसम्म पार्टी संगठनका विषयमा कुरा गर्दै आएँ । पार्टीको महासचिव र संगठन विभाग प्रमुखलाई भेटाउन पाए यहाँ संगठन गर्न सजिलो होला कि भन्ने ठानेर आँबु खैरेनीमा रहेको गोरखकाली रबर उद्योगमा कार्यरत मजदुरहरुसँग मदन र जीवराजको भेट गराउनु परो भनेर मैले मदनलाई भने तर जीवराजले भरतपुरमा आफ्ना बहिनी र ज्वाइ खाना बनाएर पर्खिरहेकोले अहिले नभेटौँ भनेर मान्नु भएन र मलाई आँबु खैरेनीमा छाडेर उहाँहरु अगाडि बढ्नु भो । त्यसपछि म पनि गोरखातिर लागेँ । त्यसको १/ डेड घण्टा पनि नबित्तै दासढुङ्गा घटना घटेछ । त्रिसुली नदीबाट जीप निकाल्दा जीवराज आश्रित मात्रै मृत अवस्थामा भेटिनु भएछ तर मदन भने बेपत्ता हुनु भएछ । मसँग छुट्दा मदन ड्राइभरको छेउको सीटमा बस्नु भएको थियो तर त्यतिबेला जीपको मदन बसेको पट्टीको झ्यालको ढोका बन्द थियो । पछि मदन मृत अवस्थामा नारायणी नदीको पुल मुनि भेटिएको खबर थाहा पाएर भेट्न गइयो त्यहाँ । आफूसँगै सवार मदनले लगाएको बेल्टवाला पेन्ट त्यसबेला थिएन । त्यसबेला थियो त केवल कट्टु मात्रै लगाएको मदनको शव । चिकित्सकले चेक गर्दा न उहाँको फोक्सोमा पानी नै भेटियो । सबै कोणबाट हेर्दा यो दासढुङ्गा घटना रहस्यमय छ । यसका दोषी यथाशीघ्र पत्ता लगाई तिनी माथि कडा कारवाही गरिनुपर्छ ।”
आज मदन-आश्रित स्मृति दिवसका अवसरमा विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।
यता २०७५ जेठ ३ गते मदन -आश्रित स्मृति दिवसको अवसर पारेर दुई ठूला वाम दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) घोषणा भएको एक वर्षपछि आज सो दलको पोलिटव्युरोको घोषणा हुने बताइएको छ भने हिजो जनवर्गीय संगठनहरु वीच एकता सम्पन्न भएको घोषणा गरिएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको नेकपा (नेकपा)को सचिवालय बैठकले तत्कालीन एमाले र माओवादी केन्द्रको भागवण्डाका आधारमा विभिन्न जनवर्गीय संगठनहरुको संयोजक र सह-संयोजक चयन गरेको बताइएको छ ।
बैठकले विद्यर्थी संगठनको संयोजकमा अनेरास्ववियुका तत्कालीन महासचिव ऐन महर र सह-संयोजकमा रञ्जित तामाङलाई तोकेको छ । अनेरास्ववियु अध्यक्ष नविना लामा सांसद भएकोले महरलाई प्रधानमन्त्री एवं सो दलका अध्यक्ष ओलीकै जोडबलमा संयोजक बनाएको बताइएको छ । यसैगरी मजदुर संगठनको संयोजकमा जिफन्टका विनोद श्रेष्ठ र सह-संयोजकमा जगत सिम्खडा , युवा संगठनको नेतृत्वमा तत्कालिन योङ कम्युनिस्ट लिगका अध्यक्ष रामप्रसाद सापकोटा र सह-संयोजक रमेश पौडेल , महिला संगठनको संयोजक अमृता थापामागर र सहसंयोजक सीता पौडेल , पत्रकारको संयोजक महेश्वर दाहाल र सह-संयोजक गणेश बस्नेत , बुद्धिजिवीतर्फ डा. दिनेशचन्द्र देवकोटा संयोजक र कृष्ण केसी सह-संयोजक , पेशागत महासंघमा विश्वनाथ प्याकुरेल संयोजक र दयाराम बस्याल सह-संयोजक , जनसांस्कृतिक महासंघमा खगेन्द्र राई संयोजक र सरल सहायात्री सह-संयोजक , मुस्लिम संगठनमा सराज महमद फरुकी संयोजक र अत्तहर हुसेन फारुकी सह-संयोजक तथा दलितमा तिलक परियार संयोजक र ओमबहादुर विश्वकर्मा सह-संयोजक तथा भूपू सुरक्षाकर्मीको संगठनमा धनबहादुर चन्दलाई संयोजक तोकेको जनाइएको छ ।
नेकपा(नेकपा) बनेको एक वर्षसम्म संगठनको काम सुन्य बनेको सो दलको गति बढ्ने सो दलका कार्यकर्ताहरु आशावादी देखिन्छन् तर उक्त दलका नेताहरु वीच छेड छाड शुरु भएको समाचार सञ्चार माध्यमहरुमा सार्वजनिक भइरहेको छ ।