सरकारले ल्याउन लागेको बजेट नेपाली हस्तकलाको विकास र प्रवर्द्धनमुखी होस्

0 Shares

नेपाली हस्तकला उद्योगी तथा व्यवसायीहरुको छाता संगठन नेपाल हस्तकला महासंघको २०७५ पौष २७ र २८ गते सम्पन्न ३८औँ साधारणसभाबाट विगत ३५ वर्षदेखि निरन्तर  हस्तकला , त्यसमा पनि मूर्तिकलालाई कर्मक्षेत्र बनाई काम गरिरहनु भएका सुरेन्द्र भाइ शाक्य  उक्त महासंघको अध्यक्ष पदमा निर्वाचित हुनुभयो ।

यतिबेला सुरेन्द्र भाइ शाक्य – अध्यक्ष , धर्मराज शाक्य -निवर्तमान अध्यक्ष , प्रचण्ड शाक्य वरिष्ठ उपाध्यक्ष तथा दीपेन्द्र शाक्य , सनम शाक्य , रविन्द्र शाक्य र राजमान बज्राचार्य – उपाध्यक्ष र किरणबहादुर खड्गी , चूडादेव सिंह लामा , जीवनरत्न शाक्य , सुनिता श्रेष्ठ , प्रदीप शाक्य , मनमोहन सिंह मल्ल , मोहनकृष्ण मानान्धर , राजेन्द्र शाक्य , सविता सिंह महर्जन , विक्रम सिंह  महर्जन , प्रताप शाक्य , उपेन्द्र बाराही , सूदन शाक्य , सुविन शाक्य र हीरा भट्टराई कार्यकारी सदस्य रहेको नेपाल हस्तकला महासंघको कार्यकारी समिति क्रियाशील छ ।

नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्र भाइ शाक्यको जन्म २०२१ साल फाल्गुण १४ गते हालको ललितपुर महानगरपालिका – १६ , नागबहालमा भएको थियो । मूर्तिकलालाई पेशाको रुपमा अंगाल्नु भएका राजभाइ शाक्य र चिरीमाया शाक्यका २ छोराहरुमध्ये काञ्छा छोरा सुरेन्द्रभाइले ललितपुरको पुल्चोकमा रहेको पाटनहाइट त्रिपद्म हाइस्कुलबाट एस. एल. सी. दिएपछि  बाबु आमाले अपनाएको मूर्ति निर्माण गर्ने पेशालाई अंगाल्नुभयो । हसिलो अनुहार र आकर्षक व्यक्तित्वका धनी उहाँ मूर्ति निर्माणसँगै देश तथा विदेशका नेपाली बजारमा मूर्ति सप्लाईको काम गरिरहेको बताउनुहुन्छ । मूर्ति सहितको हस्तकलाको प्रोमोसन मेलाहरुमा उहाँ सहभागी हुँदै आउनु भएको छ । भारतको दिल्ली तथा गोवा हुँदै हङ्कङ तथा तिव्वत लगायत चीनका विभिन शहरहरु , जापान , थाइलैण्डको बैंककका साथै प्रिय सबैजसो युरोपका देशहरुका हस्तकलाको प्रमोशन मेलामा सहभागी भएको उहाँको भनाई छ ।

हस्तकलाको विकास र प्रवर्द्धनमा सरकारको सहयोग पर्याप्त नभएको उहाँ बताउनुहुन्छ । नेपाली हस्तकलाको विकासको लागि सरकारले आवश्यक सहयोग गर्नु पर्नेमा जोड दिदै उहाँ सरकारले ल्याउन लागेको बजेट नेपाली हस्तकलाको विकास र प्रवर्द्धनमुखी हुनु पर्ने बताउनुहुन्छ ।

नेपाली हस्तकला क्षेत्रमा नयाँ पुस्ताको आकर्षण बढाउनु पर्ने जोड दिदै उहाँ हस्तकलाका सामाग्रीको प्रमोशनका लागि छुट्टै स्थल निर्माण गर्नु पर्ने खाँचो रहेको बताउनुहुन्छ ।

 

Leave a Reply