चन्द्रागिरी साकोस एक्सेस ब्राण्डिङ्ग कार्यक्रममा

काठमाडौंको चन्द्रागिरी नगरपालिकामा रहेको चन्द्रागिरी बचत तथा ऋण सहकारी संस्था लि.ले हिजो ७ अन्तर्राष्ट्रिय स्तरको एक्सेस ब्राण्डिङ्ग कार्यक्रममा सहभागीता जनाउने सम्झौता गरेको बताएको छ । एशियाली ऋण महासंघ(ACCU) को सहयोगमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) द्वारा सञ्चालित एक्सेस ब्राण्डिङ्ग कार्यक्रम नेपालमा वि.स. २०६३ सालदेखि सञ्चालनमा छ । चन्द्रागिरी बचत तथा ऋण सहकारी संस्था लि.द्वारा आयोजित कार्यक्रममा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत श्री शिवजी सापकोटा र सो संस्थाका अध्यक्ष शिवशंकर मानन्धर बीच सो सम्झौता भएको थियो । एक्सेस ब्राण्डिङ्ग कार्यक्रमले सो संस्थाको वित्तीय , सदस्य , आन्तरिक व्यवसाय र सिकाई तथा समृद्धि गरी मूलत: ४ वटा पक्षको अनुगमन गर्ने बताइएको छ । उक्त कार्यक्रममा सहभागी भइसकेपछि संस्थाको वित्तिय सक्षमता बृद्धि हुनुको साथै सदस्य सन्तुष्टिको स्तर अभिबृद्धि हुने विश्वास लिइएको छ ।
नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले असल काम गर्दैमा मात्र नपुग्ने उल्लेख गर्नु हुदै असल कामलाई आधिकारिक निकायले असल गरेको हो भनेर भन्दिनु पनि पर्ने भएकोले यो एक्सेस ब्राण्डिङ्ग कार्यक्रमले यो संस्थालाई गुणस्तरीय ढंगले सञ्चालन गर्न मार्गनिर्देश गर्दै तोकिएको मापदण्ड पूरा भएपछि प्रमाणिकरण गर्ने बताउनुभयो ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठका अनुसार ४ वर्षीय रणनैतिक योजना बमोजिम आ.व. २०७५/०७६ को अन्तिम त्रैमासिकमा संस्थालाई गुणस्तरीय सुनिश्चितताको अन्तराष्ट्रिय स्तरको कार्यक्रममा सहभागीता जनाउने सम्झौता गरिएको हो ।