सयपत्री साकोस भयो एक्सेस ब्राण्डिङ्ग कार्यक्रममा आवद्ध
नवलपरासी जिल्लाको सुनवल नगरपालिका बर्दघाट स्थित सयपत्री बचत तथा ऋण सहकारी संस्था लि. नेफ्स्कून र एसियाली ऋण महासंघद्वारा प्रबर्द्धित साकोस गुणस्त र सुनिश्चितता कार्यक्रम अन्तर्गत एक्सेस (ACCESS) ब्राण्डिङ कार्यक्रममा आबद्ध भएको छ ।

संस्थाले सहकारी विभाग र नेफ्स्कुनको संयुक्त रुपमा सञ्चालित प्राेबेसन कार्यक्रममा बिगत २ वर्षअघि सहभागी भई यसले स्तरीय ब्रान्ड प्राेबेसन प्राप्त गरेको छ । सो संस्थामा आयोजित एक कार्यक्रमका बीच नेफ्स्कूनका सञ्चालक कृष्णप्रसाद नेपाल ,बरिष्ठ कार्यक्रम अधिकृत बल्लभ तिमिल्सिना , फिल्ड कार्यालय बुटवलका प्रमुख राधाकुमारी पाेखरेल तथा सयपत्री बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष कृष्णप्रसाद पाैडेल , सचिव नारायण पाैडेल , कोषाध्य कमला थापा , सञ्चालक समितिका सदस्यहरु , संस्थाका ब्यवस्थापक टीकाराम तिमिल्सिना लगायत कर्मचारीहरुको उपस्थितिमा एक्सेस कार्यक्रम आबद्धतामा द्विपक्षिय सम्झौता सम्पन्न भएको थियो।
२ हजार सदस्यहरुमा वित्तीय सेवा प्रवाह गरिरहेको उक्त संस्थाको कुल कारोबार रु.२६ कराेड ४५ लाख रहेको छ । एक्सेस कार्यक्रम एशियाली ऋण महासंघ (ACCU) को प्राविधिक सहयोगमा एशियाली स्तरमा साकोस क्षेत्रका विकासलाई आन्तरिकीकरण गर्ने उद्देश्यसहित नेफ्स्कूनले वि.सं. २०६३ सालदेखि सञ्चालनमा ल्याएको कार्यक्रम हो ।
एक्सेस ब्राण्डिङ कार्यक्रमले संस्थामा ४ आयामहरु अन्तर्गत वित्तीय पक्ष, सदस्यता पक्ष, आन्तरिक कार्य सञ्चालन प्रक्रियाको पक्ष र सिकाई तथा बृद्धि पक्षको अनुगमन गर्दछ । साकोस व्यवसायमा रहेको जोखिम विश्लेषण गरी स्व- व्यवस्थापनको माध्यमबाट संस्थालाई सुरक्षित गर्न , गुणस्तर सुनिश्चितता गर्न , दीगो संस्थागत विकास गर्न , व्यवस्थापन र व्यवसायिकता अभिबृद्धि गर्नका लागि संघले स्थलगत रुपमा सहजीकरण सेवा उपलब्ध गराउँदै आईरहेको छ । हाल ६० बचत तथा ऋण सहकारी संस्थाहरु एक्सेस कार्यक्रममा आबद्ध छन् भने यी मध्ये २० वटा एशियाली मापदण्डमा प्रमाणीकरण भईसकेका छन् ।
