धादिङ्गमा सहकारीमा लागेका महिलाहरु बचतसँगै उद्यमशील बन्नु पर्नेमा जोड

नेफ्स्कून फिल्ड कार्यालय धादिङ र धादिङ्ग जिल्ला बचत ऋण सहकारी संघ लि.को संयुक्त आयोजना तथा नीलकण्ठ नगरपालिकाको सहयोगमा यही जेष्ठ १८ गते नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुङ्गानाको प्रमुख आतिथ्यता र नेफ्स्कूनका उपाध्यक्ष तथा फिल्ड कार्यालय धादिङ्ग व्यवस्थापन उप-समिति संयोजक पार्वती गाँड राईको अध्यक्षतामा ‘सहकारीमा महिला उद्यमशिलता’ विषयक १ दिवसीय कार्याशाला गोष्ठी सम्पन्न भयो । धादिङ्ग जिल्ला सदरमुकाम
धादिङ्गबेसी स्थित भैरबी बचत तथा ऋण सहकारी संघ लि. को हलमा सम्पन्न सो गोष्ठिमा सहभागीहरुलाई स्वागत गर्दै नेफ्स्कून फिल्ड कार्यालय धादिङ्गका व्यवस्थापन उप -समिति सदस्य तथा धादिङ्ग जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का महिला उपाध्यक्ष सीता दुवाडी खनालले कार्यक्रमको औचित्यता तथा प्रभावकारीताको वारेमा प्रकाश पार्दै नेफ्स्कून तथा धादिङ्ग जिल्ला बचत तथा ऋण सहकारी संघ लि.मा आबद्ध हुन बाँकी साकोसहरुलाई आबद्धतताका लागि आह्वन गर्नुभयो ।
सो अवसरमा धादिङ्ग जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का सदस्य पार्वती अधिकारीले सहकारीमा लागेका महिलाहरु बचत सँगसँगै उद्यमशील हुनुपर्नेमा जोड दिनुभयो ।
त्यस अवसरमा गोष्ठिका प्रमुख अतिथि ढुङ्गानाले सहकारी क्षेत्रप्रति नीलकण्ठ नगरपालिका सदैब सकारात्मक हुनुका साथै महिलाहरुलाई उद्यमशील बनाउने कार्यक्रममा सहकार्य गर्न तयार रहेको बताउनुभयो । महिला तथा पुरुष दुवैलाई उद्यमशील बनाउन नीलकण्ठ नगरपालिकाले ‘मेयर उद्यमशील कार्यक्रम’ सञ्चालनमा ल्याएको उहाँको भनाई थियो । सो गोष्ठिलाई नेफ्स्कूनका केन्द्रीय सञ्चालक सदस्य गोमा नेपालले सहजीकरण गर्नु भएको थियो । सो गोष्ठिमा फिल्ड कार्यालय धादिङ्गका व्यवस्थापन उप-समितिका सदस्यहरु , धादिङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का पदाधिकारीहरुका साथै धादिङ जिल्लाका ३५ वटा बचत तथा ऋण सहकारी संस्थाहरुका अध्यक्ष, सचिब तथा कर्मचारी सहित ६६ जनाको सहभागिता रहेको जानकारी प्राप्त भएको छ ।
