नेपाल हस्तकला महासंघले ग-यो अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदमा पेश गरेको आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि

नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्यको अध्यक्षतामा यही जेठ २० गते सो महासंघको कार्यालय थापाथली , काठमाडौंमा बसेको पदाधिकारीहरुको बैठकले गएको जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्री डा.युवराज खतिवडाले संघीय संसदमा पेश गरेको आर्थिक बर्ष २०७६/०७७ को बजेट सन्दर्भमा आफ्नो धारणा सार्वजनिक गरेको छ । उक्त महासंघका महानिर्देशक श्रीकृष्ण पौडेलद्वारा हस्ताक्षर गरिएको सो धारणा यस प्रकार छ ।
१. मुलुकमा रोजगारी सिर्जना , गरिवी न्युनिकरण , आयात प्रतिस्थापन र निकासी व्यापारको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा हस्तकला क्षेत्रले महत्वपूर्ण योगदान पु-याइरहेको छ । हस्तकला क्षेत्रमा प्रत्यक्ष र अप्रत्यक्ष गरी झण्डै ११ लाख व्यक्तिहरु सम्लग्न रहेका छन् । हाल ७० वटा देशमा ३० भन्दा बढी प्रकारका हस्तकला बस्तुको निकासी भइरहेको छ । झण्डै १० अरब बराबरको हस्तकलाका बस्तु भारत लगायत तेस्रो मुलुकमा निर्यात भइरहेको छ भने त्यत्ति नै परिणाममा आन्तरिक बजारमा खरीद विक्री रहेको यस महासंघको प्रक्षेपण रहेको छ । हस्तकला उद्योग व्यवसाय वातावरणमैत्री हुनुको साथै यस उद्योग व्यवसायमा ठूलो संख्यामा महिला , पीछडिएको जाति , जनजाति सम्लग्न रहेको हुँदा यो व्यवसायको माध्यमबाट उल्लेखित वर्ग वा समुदायलाई राष्ट्रिय अर्थतन्त्रको मूल प्रवाहीकरणमा समावेश गराउन सकिन्छ । दिगो विकास लक्ष्य (Sustainable Development Goal) प्राप्तिमा सघाउ पु-याउने उद्योग व्यवसायहरु मध्येमा यो उद्योग व्यवसाय प्रमुख उद्योग व्यवसायभित्र पर्दछ ।
२. सामाजिक सुरक्षालाई महत्व दिई यसतर्फ धेरै कार्यक्रम तथा बजेट विनियोजन गरी लोक कल्याणकारी राज्य व्यवस्था निर्माण गर्दै समृद्धी हासिल गर्ने बजेटले लिएको नीति स्वागत योग्य रहेको छ तर रोजगारी सिर्जना , आयात प्रतिस्थापन गरी निर्यात प्रवर्द्धन गर्ने र गरिवी न्युनिकरणमा सघाउ पु-याई राष्ट्रिय अर्थतन्त्रमा अहम् भूमिका खेल्ने हस्तकला उद्योग व्यवसायलाई नेपाल सरकारको आर्थिक वर्ष २०७६/०७७ को बजेटले सम्बोधन गर्न नसकेको यस महासंघको ठम्याई रहेको छ ।
३. व्यापार घाटा चुलिदै गएको बर्तमान अवस्थामा आयात प्रतिस्थापन गर्ने उद्योग व्यवसायको रुपया रहेको हस्तकला जस्तो ग्रामिणस्तरका विपन्न समुदायसम्म प्रतिफल पुग्ने उद्योग व्यवसायको प्रवर्द्धनका लागि कुनै पनि ठोस कार्यक्रम र बजेट विनियोजन भएको देखिदैन । हस्तकला जस्तो कम पूँजी र स-साना प्रविधिबाट देशको ७७ वटै जिल्लामा विस्तार गर्न सकिने सम्भावना बोकेको उद्योग व्यवसायको विकास र विस्तार गर्ने तर्फ प्रस्तुत बजेट उदासीन देखिएको छ ।
४. हस्तकला क्षेत्रको दिगो विकासको लागि कोशेढुङ्गा सावित हुने हस्तकला ग्राम (Craft Village) स्थापनामा नेपाल सरकारको सहयोगको लागि झण्डै दुई दशकदेखि महासंघले नेपाल सरकार समक्ष पहल र पैरवी गर्दै आइरहेको छ तर सोप्रति बजेट मौन रहनु साह्रै खेदजनक विषय हो । तसर्थ: यो गम्भीर विषयबस्तुलाई नेपाल सरकारले मनन गरी औद्योगिक पूर्वाधार विकासको लागि बजेटमा छुट्याइएको झण्डै ३ अरब रकम मध्येबाट हस्तकला ग्राम स्थापनाको लागि बजेट विनियोजन गरी दिनको लागि यस महासंघ नेपाल सरकार अर्थ मन्त्रालय समक्ष विशेष अनुरोध गर्दछ ।
५. विशेष आर्थिक क्षेत्र र औद्योगिक ग्रामभित्र परम्परागत प्रकृतिका हस्तकला उद्योग व्यवसाय सञ्चालन गर्न कठिनाई हुने भएकोले शुरुमा ३ नं. प्रदेशको काठमाडौं उपत्यकाभित्र र त्यसपछि क्रमिक रुपमा ७ वटै प्रदेशमा हस्तकला ग्राम स्थापना गरिनु पर्दछ ।
६. सार्वजनिक सेवामा उपलव्ध भएसम्म स्वदेशी बस्तु तथा सेवा उपभोग गर्ने तथा अन्तर्राष्ट्रिय सभा सम्मेलन र वैदेशिक भ्रमणमा सरकारी तवरबाट उपहार दिनु पर्दा स्वदेशी उत्पादन दिनु पर्ने व्यवस्था अनिवार्य गरिने छ भनी बजेट भाषणमा भनिएता पनि नेपाल सरकारको सार्वजनिक खरीद ऐन यो कार्य गर्न बाधक रहेको देखिन्छ । तसर्थ यसको लागि सार्वजनिक खरीद ऐनमा समसामयिक शंसोधन गरी मूल्य अभिबृद्धि करमा दर्ता नभएका तर स्थायी लेखा नं. (PAN) लिएका हस्तकला उद्योगी व्यवसायीले पनि हस्तकलाका बस्तु नेपाल सरकारलाई आपूर्ति गर्न सक्ने गरी कानुनी तथा प्रक्रियागत व्यवस्था मिलाउनु पर्दछ भन्ने यस महासंघको माग रहेको छ ।
७. बजेटले लिएको “युवा जाँगर समृद्धीको आधार” भन्ने नारालाई सार्थक तुल्याउनको लागि अहिलेको युवा पुस्तामा हस्तकला सम्बन्धी सीप हस्तान्तरण गरी रोजगारीका लागि विदेशिने युवा शक्तिलाई हस्तकलाको स्वरोजगारमुखी प्रशिक्षण प्रदान गर्ने जिम्मेवारी यस महासंघलाई प्रदान गरिनु पर्दछ ।
८. देशभित्र रोजगार प्रवर्द्धनको लागि प्रधानमन्त्री रोजगार प्रवर्द्धन कार्यक्रमको लागि पर्याप्त बजेट छुट्याउनु स्वागतयोग्य कदम रहेको छ । उक्त बजेट सीप विकास , सीप हस्तान्तरण र सीप अभिबृद्धि हुने खालका तालिम कार्यक्रममा उपयोग हुनु पर्दछ भन्ने यस महासंघको धारणा रहेको छ । साथै शिल्प उत्थानको लागि बजेटमा आवश्यक व्यवस्था गर्नुलाई पनि महासंघले सकारात्मक रुपया लिएको छ ।
९. स्थानीय स्रोत , श्रम , सीप र कच्चा पदार्थमा आधारित हस्तकला बस्तुलाई प्रवर्द्धन गर्न यस उद्योग व्यवसायलाई पनि मूल्य श्रृंखला (Value Chain) मा समाहित गरी अग्र तथा पृष्ठ सम्बन्ध (Forward and Backward Linkage) कायम गरी उद्यम व्यवसाय सञ्चालनको लागि शुरुवाती पूँजी (Seed Money) बजेटमा छुट्याएकोमा च्यालेञ्ज फण्डबाट व्यवस्था गरी दिन महासंघ नेपाल सरकार समक्ष हार्दिक आग्रह गर्दछ ।
१०. निर्यातजन्य बस्तुहरुको पहिचान , विकास तथा उत्पादन अभिबृद्धि गरी अन्तर्राष्ट्रिय बजार प्रबर्द्धन गरिने कुरा स्वागतयोग्य भएता पनि निश्चित (Specific) योजना र कार्यक्रम नआउदा यो व्यवस्था बजेट भाषणमा मात्रै सिमित नहोला भन्न सकिने अवस्था छैन । अन्तर्राष्ट्रिय बजारमा हस्तकला तथा पश्मिनाको पहिचान स्थापित गर्न अन्तर्राष्ट्रिय मान्यताको गुणस्तर प्रमाणिकरण , लेबलिङ्ग र ट्रेडमार्क मार्फत ब्राण्डिङ्ग गरिने बजेटमा उल्लेख भएको व्यवस्था स्वागतयोग्य छन्। गुणस्तर प्रमाणिकरण र लेबलिङ्गको लागि नेपाल सरकार र नेपाल हस्तकला महासंघबाट सार्वजनिक निजी साझेदारी अवधारणा (PPP Model) बाट स्थापना भएको नेपाल हस्तकला परीक्षण प्रयोगशालाको दायरा फराकिलो पारी सुन चाँदीको अतिरिक्त अन्य गैर धातुजन्य हस्तकला बस्तुमा उपयोग हुने कच्चा पदार्थहरु पनि उक्त प्रयोगशालाबाट परीक्षण गर्ने व्यवस्था मिलाई यस प्रयोगशालालाई स्रोत साधनले सम्पन्न तुल्याउनु पर्दछ भन्ने महासंघको माग रहेको छ ।
११. निर्यात प्रर्वद्धनको लागि बस्तु विकास (Product development) अनिवार्य तत्व हो तर नेपालमा बस्तु विकास सम्बन्धी कार्य कछुवाको गतिमा भएकोले वाञ्छित रुपमा नयाँ बस्तु विकास गर्न सकिएको छैन । बस्तु विकासको लागि डिजाइनरको सेवा आवश्यक पर्दछ । डिजाइनरलाई नयाँ – नयाँ डिजाइन विकास गराउन डिजाइन सम्बन्धी प्रतिष्ठानको आवश्यकता पर्दछ । सो डिजाइन प्रतिष्ठानको रुपमा यस महासंघले नेपाल सरकार , उद्योग , वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा २०६१ सालमा स्थापना गरेका हस्तकला डिजाइन तथा विकास केन्द्रलाई साधन स्रोत सम्पन्न बनाई बस्तु विकास तथा डिजाइन विकासको कार्यमा परिचालन गर्न उद्योग , वाणिज्य तथा आपूर्ति मन्त्रालयको विशेष रुपमा ध्यानाकर्षण गरिन्छ ।
१२. नेपाली हस्तकला बस्तुको अन्तर्राष्ट्रिय बजाय प्रबर्द्धन गर्न नयाँ बजारको अध्ययन (Market research) , अन्तर्राष्ट्रिय व्यापार मेलामा सहभागिताको लागि निर्यातकर्तालाई स्टल भाडा अनुदान प्रतिस्पर्धी क्षमता विकासको लागि नगद प्रोत्साहन दरलाई हाम्रा प्रतिस्पर्धी दक्षिण एसियाली देशहरुले आफ्ना निर्यातकर्तालाई दिए सरह कम्तीमा पनि डबल डिजिट पु-याउने लगायतका प्याकेज कार्यक्रम व्यवस्था गर्न नेपाल सरकार समक्ष महासंघ हार्दिक आग्रह गर्दछ । बजेटमा उल्लेख भएको निकासी गृहको परिभाषा र उद्देश्य स्पष्ट भएमा मात्र उक्त गृह कार्यान्वयनमा आउन सक्दछ, नत्र विगतमा जस्तै यो बजेट भाषणको शोभा मात्र बन्न नपुग्ला भन्न सकिने अबस्था छैन ।
१३. उत्पादित बस्तुको बजार प्रबर्द्धनको लागि व्यापार मेला प्रदर्शनी एक सशक्त माध्यम भएको हुँदा थोरै पूँजी लगानी गरी व्यवसाय सञ्चालन गरिरहेका लघु तथा साना उद्यमीहरु अन्तर्राष्ट्रिय व्यापार मेला प्रदर्शनीमा सहभागिता गर्न नसक्ने भएकोले देशभित्र व्यापार मेला आयोजना गरी उक्त मेलामा विदेशी क्रेताहरुको समेत सहभागिता गराई यस महासंघले २०४८ सालदेखि प्रत्येक वर्ष काठमाडौंमा राष्ट्रिय स्तरको हस्तकला व्यापार मेला आयोजना गर्दै आइरहेको छ । उक्त व्यापार मेला आयोजना गर्दा करिब १ करोडको हाराहारीमा खर्च हुने भएकोले उक्त मेलाको लागि नेपाल सरकारबाट वर्षेनी कम्तीमा ५० लाख जति आर्थिक अनुदानको उपलब्ध गराई दिने व्यवस्थाको लागि महासंघ नेपाल सरकार समक्ष अनुरोध गर्दछ ।
१४. त्यसैगरी सार्वजनिक निजी साझेदारी (PPP) अवधारणाबाट नेपाल सरकार , उद्योग , वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा नेपाल हस्तकला महासंघको पहलमा स्थापना गरिने सार्क हस्तकला विकास केन्द्र , नेपालको निमार्णाधीन भवन आगामी २०७७/०८०७८ भित्र पुरा हुने गरी बजेट विनियोजन गरी दिन पनि नेपाल सरकार विशेष अनुरोध रहेको छ ।
१५. आगामी आर्थिक वर्षमा आयकरका दरहरुमा वृद्धि नगर्ने सरकारको प्रतिबद्धता र आय छुट हुने सीमा बृद्धि गरी व्यक्तिका लागि रु.४ लाख र दम्पतीका लागि रु ४ लाख ५० हजार पु-याउनु स्वागतयोग्य कदम रहेको छ । यसका साथै घरेलु तथा साना उद्यमीहरुलाई कर छुट गरिनु पर्दछ ।
१६. प्रस्तुत बजेटले धेरै क्षेत्रलाई खुशी पार्ने उद्देश्य बोकेको देखिएता पनि यसको कार्यान्वयन पक्ष फितलो भयो भने यो बजेट पनि विगतका बजेट जस्तै नाराहरुको पुलिन्दा र अमुक पार्टीको घोषणा-पत्र भन्दा माथि उठान सक्ने छैन भन्ने यस महासंघको मान्यता रहेको छ ।