प्रधानमन्त्री ओलीद्वारा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम उद्घाटन , आगामी वर्ष ५ लाख रोजगारी सिर्जना गरिने छ : श्रम मन्त्री विष्ट

प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले हिजो भक्तपुरमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले समृद्ध देश निर्माणका लागि बर्तमान सरकार हरेक समस्याहरु समाधान गर्दै अगाडि बढिरहेको बताउनुभयो । सरकारले गरेका परिवर्तनका काम देखेर प्रतिक्रियावादीहरु अत्तालिएको उहाँको भनाई थियो । ‘रोजगारीका लागि विदेशिरहेका नेपालीहरुलाई मध्यनजर गरेर यो प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अगाडि बढाइएको र यस मार्फत रोजगारी सिर्जना गरी बेरोजगारी समस्या समाधान गरिने छ । बेेेेरोजगारी कै कारण रोजगारीको लागि कोही पनि विदेशिनु पर्दैन र कोही भोकै पर्दैन ‘ उहाँले बताउनुभयो । त्यस अवसरमा बोल्दै श्रम , रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले भक्तपुर जिल्लाका ४ वटै नगरपालिकाहरुले तयार गरेको बेरोजगार नागरिकहरुको तथ्यांकको आधारमा यो प्रधानमन्त्री स्वरोजगार कार्यक्रम भक्तपुरमा अगाडि बढाउनुका साथै यसलाई क्रमश: देशभर लागू गरिने बताउनुभयो । यो आर्थिक वर्षमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम आंशिक रुपमा मात्रै लागू हुन सकेको र आगामी आर्थिक वर्षमा यसलाई प्रभावकारी ढंगबाट लागू गरी यस मार्फत ५ लाख रोजगारी सिर्जना गर्ने बताउनुभयो । सो अवसरमा जनप्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।
हिजै प्रधानमन्त्री ओलीले भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका -५ , कटुञ्जेको सुवर्ण चोकदेखि तीनधारासम्मको करिव ३०० मीटर सडक निर्माणको शुभारम्भ गर्नुभएको थियो ।