नेपालको वाम आन्दोलनका नेता क. प्रभुनारायण चौधरीको योगदान र विचारलाई अगाडि बढाउने उद्देश्यका साथ काम गरिरहेका छौँ

– विद्यानन्द लेखी , अध्यक्ष , प्रभुनारायण चौधरी स्मृति प्रतिष्ठान
१. यतिबेला के गर्दै हुनुहुन्छ ?
~हाल म प्रभुनारायण चौधरी स्मृति प्रतिष्ठानको अध्यक्षको जिम्मेवारीमा रहेर काम गरिरहेको छु । यस प्रतिष्ठान मार्फत पछिल्लो पटक बनेको संयुक्त वाममोर्चाका अध्यक्ष तथा त्यसैबेलाका नेकपा (संयुक्त- मार्क्सवादी) का अध्यक्ष एवं भूतपूर्व भूमिसुधार तथा व्यवस्था मन्त्री क. प्रभुनारायण चौधरीले नेपालको वाम आन्दोलनमा पु-याउनु भएको योगदान तथा उहाँका विचारलाई अगाडि बढाउने उद्देश्यका साथ काम गरिरहेका छौँ ।
२. प्रभुनारायण चौधरी स्मृति प्रतिष्ठान यसबेला के गर्दैछ ?
~ प्रभुनारायण चौधरी स्मृति प्रतिष्ठानले नेपालमा रहेका दलित , आदिवासी जनजाति , मधेशी , मुस्लिम तथा पीछडिएको वर्ग र क्षेत्रका जेहेन्दार विद्यार्थीहरुका लागि छात्रबृत्तिको सहजीकरण गरिरहेको छ । विगतका वर्षहरुमा झैं यस वर्ष पनि यस प्रतिष्ठानबाट भित्ते पात्रो प्रकाशन गरियो ।
नेपालको वाम आन्दोलनका नेता क. प्रभुनारायण चौधरीको स्मृतिमा कृति प्रकाशन गर्ने कार्यलाई अगाडि बढाइरहेका छौँ । इनरुवामा रहेको सुनसरी जिल्ला अस्पताललाई प्रभुनारायण चौधरी अस्पताल बनाउन र उहाँको नामबाट सुनसरी जिल्लाका सडकहरुको नामाकरण गराउन हामी दवावमूलक अभियान चलाइरहेका छौँ । सुनसरीको रामधुनी नगरपालिका क्षेत्रमा उहाँको सालिक बनाउने योजनाका साथ काम भइरहेका छौँ ।
३. यो प्रतिष्ठाले अरु केलाई प्राथमिकता दिएको छ नि ?
~ यस प्रतिष्ठानले उहाँको विचार अनुरुप वर्ग संघर्ष र राष्ट्रिय मुक्ति आन्दोलनको विचारलाई सुदृढ बनाउने र त्यसका लागि राजनीतिक दलहरु तथा नागरिक समाजलाई घच्चच्याउने काम गरिरहेको छ । समाजका विकृति तथा विसंगति विरोधी दवावमूलक गतिविधिहरु गरिरहेका छौँ । यस्तै हिमाल , पहाड र तराईका पीछडिएका वर्ग , लिङ्ग तथा समुदायको उत्थानको लागि सामाजिक कार्य पनि अगाडि बढाउने योजना बनाउदै छौँ ।
४. यस प्रतिष्ठानलाई राज्यले कुनै सहयोग पनि गरिरहेको छ कि ?
~ नेपाल सरकारबाट यस प्रतिष्ठानलाई सहयोग नभएको त होइन । तत्कालीन नेकपा (एमाले)का नेता कृपाशुर शेर्पा संस्कृति मन्त्री भएको समयमा सो मन्त्रालयले रु.३ लाख दिएको थियो तर त्यो मन्त्रालयका केही व्यक्तिहरुले त्यो रकम नदिईकन त्यत्तिकै राखे । त्यसपछिको वर्षमा रु.९ लाख दिइएको हो तर प्रभुनारायण चौधरी स्मृति प्रतिष्ठानलाई अपमानित गरीकन भाषा , साहित्य , कला , संस्कृति र क्षेत्रीय स्तरमा योगदान पु-याएको भनेर “घ” वर्गमा राखियो । त्यसलाई सच्याउन माग गर्दै तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल , संस्कृति मन्तीहरु जितेन्द्रनारायण देव , दिलनाथ गिरी र रविन्द्र अधिकारी तथा नेकपा एमालेका संसदीय दलका उपनेता सुवाश नेम्वाङलाई हामीले मागपत्र बुझायौँ । यता यस प्रतिष्ठानले सर्वोच्च अदालतमा आफूलाई “क” वर्गमा राख्न माग गरी मुद्धा हाल्यो । सर्वोच्च अदालतबाट फैसला या परमादेश यस प्रतिष्ठानको पक्षमा भयो तर वर्तमान नेपाल सरकारले यस प्रतिष्ठानको अवमूल्यन गरीकन रु. ९ लाखबाट पनि घटाएर रु. ५ लाखमा सिमित ग-यो । अब भन्नुस् – क. प्रभुनारायण चौधरीलाई राज्यले सम्मान गरेको हो कि अपमान ? म प्रभुनारायण चौधरी स्मृति प्रतिष्ठानको तर्फबाट सोध्न चाहन्छु- क. प्रभुनारायण चौधरीलाई राज्यले के यो सम्मान गरेकै हो त ? नेपालको संविधान , २०७२ मा समाजमा कुनै वर्ग , जाति , धर्म , संस्कृति लगायतको कहीकतैबाट कसैैैले पनि अपमान गर्न पाइने व्यवस्था छैन तर क. प्रभुनारायण चौधरीलाई किन राज्यबाट अपमान गरिएको हो ?
५.कुनै समय नेपाल वार एसोसिएसनको कोषाध्यक्ष तथा सर्वोच्च वार एसोसिएसनका सचिवालय सदस्य समेत रहनु भएका प्रभुनारायण चौधरी भूमिसुधार तथा व्यवस्था मन्त्री हुँदा सम्झन लायक काम चाहिँ के गर्नु भएछ नि ?
~ २०६२/६३ ऐतिहासिक जन आन्दोलनपछि बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा प्रभुनारायण चौधरी संयुक्त वाममोर्चाको तर्फबाट भूमिसुधार तथा व्यवस्था मन्त्री हुनुभएको थियो। सो जन आन्दोलनले उठान गरेका विषयलाई सम्बोधन गर्न उहाँ इमान्दारीपूर्वक लागिरहनुभयो । त्यसबेला उहाँले श्री ५ को सरकालाई हटाएर नेपाल सरकार बनाउन महत्पूर्ण भूमिका निर्वाह गर्नु भएको थियो ।
त्यहीबेला उहाँले स्व. राजा वीरेन्द्र लगायत राजपरिवारको नाममा तराईमा रहेको ४० हजार विघाह र काठमाडौं उपत्यका सहित पहाडमा रहेको सयौँ रोपनी जग्गा नेपाल ट्रष्टको नाममा ल्याउने काम गर्नुभयो भने काठमाडौं महानगरपालिका- १ , नक्सालमा रहेको श्री नन्दी मा.वि. , काठमाडौं कै कोटेश्वर बहुमुखी क्याम्पस , कोटेश्वर , ज्याफू गुठी समाज , च्यासल , ललितपुर , सिञ्धुली उद्योग वाणिज्य संघ , सिञ्धुली सहित देशका विभिन्न स्थानहरुका अपचलन भएका सार्वजनिक विद्यालय तथा कलेज लगायतका सार्वजनिक जग्गाहरुलाई सम्बन्धित विद्यालय , कलेज लगायतको न्यायोचित ढंगबाट अधीन कायम गर्नुभयो ।
६. अन्तमा केही भन्नु छ कि ?
~सर्वप्रथम त यस सहकारीसञ्जाल.कम (sahakarisanjal.com) ले आफ्ना विचार राख्न मौका दिएकोमा यसलाई धन्यवाद दिन चाहन्छु । साथै यसले भविष्यमा पनि सबै आवाज विहीनहरुको आवाजलाई सम्बोधन गर्न सकोस् । धन्यवाद ।