१३ बुँदे घोषणा-पत्र जारी गर्दै २ दिने धौलागिरी स्तरीय बृहत सहकारी सम्मेलन सोमबार सकियो

“समावेशी आर्थिक विकास र सामाजिक रुपान्तरणको लागि दिगो सहकारिता” भन्ने मूल नाराका साथ यही जेठ २६ गते आईतबारबाट बागलुङ बजारमा शुरु भएको २ दिने धौलागिरी स्तरीय बृहत सहकारी सम्मेलन १३ बुँदे घोषण-पत्र जारी गर्दै सोमबार सम्पन्न भएको छ । सम्मेलनमा विभिन्न विषय विज्ञ र सहकारी अभियन्ताहरुबाट गण्डकी प्रदेशमा सहकारीको सम्भावना , अवसर , चुनौती र कानुनी व्यवस्था , महिला सहभागिता प्रवर्द्धन तथा दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी , तनाव व्यवस्थापनका लागि उत्प्रेरणा र सकरात्मक सोच , समृद्ध नेपाल निर्माणमा सहकारी संस्थाको भूमिका , सुशासन प्रवर्द्धनमा स्थीरीकरण कोष तथा सक्षमता विकासका लागि एकीकरण अभिायनका सम्भावना तथा चुनौतिहरु , सहकारी उद्यमशीलता विकास सम्भावना तथा चुनौतीहरु, र सहकारीमा ऋण विषयका कार्यपत्रहरु प्रस्तुत भएको आयोजकको भनाई छ
बागलुङ्ग जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष चण्डडीप्रसाद शर्मा पौडेलको अध्यक्षतामा भएको सम्मेलनले जारी गरेको उक्त घोषणा -पत्रमा प्रत्येक वर्ष कम्तीमा २५ प्रतिशत सदस्यहरुलाई सहकारी शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने , सहकारीमा आउन नसकेका विपन्न , गरिब, पछि परेका तथा पारिएका वर्गका लागि कम्तीमा १० प्रतिशत व्यक्तिहरुलाई विशेष कार्यक्रमहरु सञ्चालन गरी प्राथमिकताका साथ सहकारीमा आवद्ध गराउने , सहकारीका सात सिद्धान्त मध्येको सहकारी बीच सहयोगलाई प्रभावकारी कार्यान्वयन गरी एक आपसमा सहयोग र समन्वयको वाताबरणको सिर्जना गरी उत्पादन र उत्पादकत्व बृद्धिमा योगदान पु-याउने , दिगो विकास लक्ष्य (सन् २०१६–२०३०) लाई केन्द्रित गरी धौलागिरी क्षेत्रमा दिगो सहकारीता विकासका लागि ऐक्यबद्धता जनाउँदै आ–आफ्नो संस्थाको नीति तथा कार्यक्रममा विशेष प्राथमिकता दिने, धौलागिरी क्षेत्रको कुल जनसंख्यामध्ये आगामी ५ वर्ष भित्र कम्तिमा २५ प्रतिशत व्यक्तिहरुलाई सहकारीमा आवद्ध गराउने , सहकारी संस्थाका हरेक नीति निर्माण तथा संरचनाहरुमा महिलाको सहभागिता कम्तिमा ३३ प्रतिशत कायम गर्ने लगायतका विषयबस्तुमा जोड दिइएको छ ।
यस्तै महिला तथा युवाहरुको वित्तीय पहुँच बढाउन थप सुविधाहरुको विकास गरी कार्यन्वयनमा ल्याउने , गरिबीको रेखामुुनि रहेका सदस्यहरुको पहिचान गरी सहभागी हुन सक्ने समुचित ब्यवस्थापन मार्फत धौलागिरी वित्तीय पहुँचमा राष्ट्रियस्तरभन्दा माथि हुने कार्यसम्पादन गर्ने, वित्तीय कारोवार गर्ने सबै सहकारी संस्थाहरुले विद्यमान जोखिम सुपरिवेक्षण गरी व्यवस्थापन गर्न विकास गरिएका गुणस्तरीय सुनिश्चितताको कार्यक्रमहरुमा सहभागी भई सुरक्षित सहकारी अभियान सञ्चालन गर्ने , सहकारीमा आवद्ध सबै सदस्यहरुको कम्तीमा तीन महिनाको आवश्यक खर्च धान्ने गरी नियमित बचत रकम सुरक्षित हुने व्यवस्था गर्ने , सबै सहकारीहरुले वार्षिक रुपमा कम्तीमा एउटा उद्यमशीलता विकास तालिम सञ्चालन गर्न उत्कृष्ठ उद्यमीहरुलाई सम्मान गर्न तथा व्यवसाय प्रवर्द्धन केन्द्र मार्फत उद्यमी सदस्यरुलाई सेवा प्रदान गर्न उद्यमशिलता सहितको ऋणलाई प्राथामिकता दिने , सबै सहकारी संस्थाहरु आगामी आर्थिक वर्ष भित्र सहकारी ऐन २०७४ को दफा १०३ बमोजिमको स्थीरीकरण कोषमा आवद्ध भई जोखिम न्यूनिकरणमा योगदान पु-याइने छ भने सोही अवधिभित्र सदस्य पहिचान फारम भर्ने कार्य सम्पन्न गर्ने , एकीकरण अभियान मार्फत धौलागिरी क्षेत्रमा आगामी ३ वर्षभित्र कम्तीमा १०० वटा सहकारी संस्थाहरुको एकीकरण गर्न प्रतिबद्धता जाहेर गर्ने , सहकारी ऐन , नियम र कार्यविधि अनुसार सहकारी संस्थालाई अगाडि बढाउन तथा समृद्ध सदस्य निर्माणका लागि स्थानीय स्रोतको परिचालन गर्न स्थानीय तहसँग समन्वय र सहकार्य गर्दै विकास साझेदारको रुपमा सहभागिताको वातावरण सिर्जना गर्ने जस्ता बुँदाहरु घोषण–पत्ररमा उल्लेख गरिएको छ।
सम्मेलनले धौलागिरी क्षेत्रलाई सहकारीको पवित्र तीर्थस्थलको रुपमा विकास गरी सहकारी पर्यटन प्रवर्द्धनमा योग्दान पु-याउने तथा त्यस क्षेत्रमा रहेका सहकारी संस्थाहरुलाई नीति , विधि र प्रविधिको प्रधानता भित्र सु-सञ्चालनका लागि साझा बुझाईको विकास गर्ने उद्देश्य राखेर सञ्चालन भएको सम्मेलन राष्ट्रिय सहकारी विकास वोर्डसँगको सहकार्यमा बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङको आयोजनामा सम्पन्न भएको थियो उक्त सम्मेलन सफल पार्न धौलागिरी क्षेत्रका विभिन्न संघ , संस्था, बैंक, स्थानीय तह लगायतले सहयोग गर्नु भएको आयोजकको भनाई छ ।