गाम्चा साकोसले बचतको माध्यमबाट २०७६ जेठ १९ गते गुण्डुका ३०० जना पुष्प व्यवसायी दिदी बहिनीहरुलाई नि:शुल्क रुपमा १०,००० सयपत्री फुलका बेर्ना वितरण गरेको छ
– विकास खड्का , अध्यक्ष , गाम्चा बचत तथा ऋण सहकारी संस्था लि. , सूर्यविनायक नगरपालिका – ४ , गाम्चाचोक , भक्तपुर
१. अर्थमन्त्री डा. युवराज खमिवडाले संघीय संसदमा पेश गर्नु भएको नेपाल सरकारको आर्थिक वर्ष २०७६/०७७ को बजेटबारे तपाई के भन्नुहुन्छ ?
~ अर्थमन्त्री ज्यूले संघीय संसदमा पेश गर्नु भएको आर्थिक वर्ष २०७६/०७७ को नेपाल सरकारको बजेट बक्तव्यमा सहकारी क्षेत्रलाई सघाउ पुग्ने मुख्यत: २ वटा महत्वपूर्ण कुरा भएका छन् । जसमा (१) विगत वर्षदेखि सहकारीको करको दरमा भएको अन्यौलपूर्ण अवस्था यस पटक हटेको छ ।(२) सहकारी कर्जा सूचना केन्द्र स्थापना हुने कुराले सहकारीकर्मीलाई खुशी बनाएको छ तर सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी गर्न पाउने कुरा गरिएपनि त्यो मूर्त रुपमा आएको छैन । त्यसलाई स्पष्ट बनाउनु पर्ने देखिन्छ ।
२. सहकारी नियमावली , २०७५ बारे तपाईको धारणा के छ ?
~ सहकारी नियमावली , २०७५ ले सहकारी क्षेत्रमा कतिपय अन्यौलता हटाएपनि अझै केही भने बाँकी देखिन्छ । त्यो अन्यौलता हट्नु जरुरी छ ।
३. सहकारी ऐन , २०७४ बारे चाहिँ तपाई के भन्नुहुन्छ नि ?
~ सहकारी ऐन , २०७४ सहकारीको विकासमुखी भन्दा पनि सहकारीलाई नियन्त्रणमुखी छ । यो ऐनलाई सहकारी र सहकारीकर्मीहरुको मर्म र भावना अनुरुप शंसोधन गर्नु आवश्यक छ ।
४. सहकारी मर्जर बारे तपाईको दृष्टिकोण के छ ?
~ सहकारी मर्जरको कुरा स्वागतयोग्य छ तर यसलाई दवावपूर्ण ढंगबाटभन्दा पनि सहकारीकर्मीहरुको मर्म र भावना अनुरुप गर्नु आवश्यक छ ।
५. तपाई नेतृत्वको गाम्चा साकोसको पछिल्लो गतिविधि के छ ?
~ हाम्रो यस ‘गाम्चा बचत तथा ऋण सहकारी संस्था लि.’को आर्थिक वर्ष २०७५/०७६ को चालु कार्य योजना अन्तर्गत २०७६ जेठ ११ गते हामीले हाम्रो यस संस्थाको आयोजनामा श्री अरनिको मा.वि. गाम्चामा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन ग-यौँ । काठमाडौंको बासबारी स्थित गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका वरिष्ठ मुटु रोग विशेषज्ञहरु सहितका डाक्टर तथा नर्सहरुद्वारा यस संस्थाका सदस्यहरु तथा स्थानीयबासीहरुको मुटु ( ई.सी.जी. तथा इको जाँच ), सुगर , ब्लड प्रेसर , हाडजोर्नी , आँखा , नाक कान घाँटी , स्त्री रोग तथा फिजिसियन सम्बन्धी स्वास्थ्य जाँच गरियो । त्यसबेला १४ जना जेष्ठ नागरिकहरुको आँखाको मोतिया विन्दुको सल्यक्रियाको योजना बनाउने काम गरियो भने विरामीहरुलाई नि:शुल्क औषधि तथा चस्मा वितरण पनि गरियो ।

त्यसैगरी यस संस्थाले २०७६ जेठ १९ गते आफ्ना सदस्यहरुलाई बचतको माध्यमबाट उहाँहरुको जीवनको सामाजिक , आर्थिक र सांस्कृतिक परिवर्तनको लागि सूर्यविनायक नगरपालिका – ७, गुण्डुका ३०० जना स्थानीय पुष्प व्यवसायी दिदी बहिनीहरुलाई नि:शुल्क रुपमा १० हजार सयपत्री फुलको बेर्ना वितरण ग-यौँ । जुन फुलले विदेशबाट आयात गर्ने फुललाई प्रतिस्थापन गर्न मद्दत पुग्छ भन्ने हामीले विश्वास लिएका छौँ । उहाँहरुलाई यो कार्यक्रमले आफ्नो आर्थिक सवलीकरणमा मद्दत पुग्ने विश्वास लिइएको छ । आगामी दिनमा पनि यस्ता रचनात्मक कार्यक्रम थप गरी तिनलाई प्रभावकारी ढंगबाट लागू गर्न प्रयास गर्ने छौँ ।
६. गाम्चा साकोसले आफ्नो भवन निर्माण गर्दैछ भन्ने सुनिन्छ नि ?
~ हाम्रो यस संस्थाको सदस्यमैत्री तथा अत्याधुनिक सुविधायुक्त र बहुउपयोगी आफ्नो भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । आउदो दशैं तिहारसम्ममा सो भवनबाट यस संस्थाले आफ्ना सदस्य माझ एकीकृत कारोवार र सेवा प्रदान गर्ने लक्ष्यका साथ तीव्र रुपमा कार्य अगाडि बढिरहेको जानकारी गराउन चाहन्छु ।
