यति बचत तथा ऋण सहकारी संस्था लि. आफू स्थापना हुँदादेखिको कर ललितपुर महानगरपालिकालाई पनि पुन: तिर्नु पर्दा पीडा महसुस गरिरहेको छ
-रामलाल अवाले , अध्यक्ष , यति बचत तथा ऋण सहकारी संस्था लि. बालकुमारी , ललितपुर
१. यतिबेला यति साकोस के गर्दैछ ?
~ यतिबेला हामी यस’ यति बचत तथा ऋण सहकारी संस्था लि.’ को १०औँ वार्षिक साधारणसभाले पारित गरेको नीति तथा कार्यक्रम कार्यान्वयन गरिरहेका छौँ । साथै यस संस्थाको आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम निर्माणको तयारी भइरहेको छ ।
२. कार्यक्षेत्रको आधारमा यति साकोस डिभिजन सहकारी कार्यालय , ललितपुरबाट ललितपुर महानगरपालिकामा हस्तान्तरण भएको छ । डिभिजन सहकारी कार्यालय , ललितपुरमा हुँदा भन्दा ललितपुर महानगरपालिकामा गएपछि तुलनात्मक रुपमा काम गर्न यो संस्थालाघ सजिलो या अफ्ठायारो के छ ?
~ डिभिजन सहकारी कार्यालय , ललितपुर अन्तर्गत काम गर्दा यस संस्थालाई काम गर्न जति सजिलो थियो , ललितपुर महानगरपालिका अन्तर्गत गएपछि काम गर्न त्यसको तुलनामा अलि कठिन महसुस गरेका छौँ ।
३. किन ?
~ यति बचत तथा ऋण सहकारी संस्था लि. २०६५ सालबाट विधिवत सञ्चालनमा आएको हो । त्यसबेलादेखि डिभिजन सहकारी कार्यालय ललितपुरबाट ललितपुर महानगरपालिकामा हस्तान्तरण नगरुञ्जेलसम्म यो संस्था देशको प्रचलित ऐन कानुन अनुरुप सञ्चालन हुँदै आयो र अहिले पनि भइरहेको छ । डिभिजन कार्यालय ललितपुर अन्तर्गत रहुञ्जेल यस संस्थाले नियम कानुनले तोकेको बमोजिमको कर डिभिजन सहकारी कार्यालय , ललितपुरमा तिरिरह्यो । ललितपुर महानगरपालिका अन्तर्गत रहेपछि पनि यस संस्थाले आफू स्थापना हुँदादेखिको सबै कर ललितपुर महानगरपालिकालाई पुन: तिर्नु पर्दा यो संस्था साह्रै पीडा महसूस गरिरहेको छ । जसका कारण यतिबेला हाम्रो यस संस्था एकदमै दु:खित छ ।
४. अघिल्लो महिना संघीय संसदमा पेश भएको नेपाल सरकारको आगामी आर्थिक वर्षको बजेटबारे तपाई के भन्नुहुन्छ ?
~ यो बजेटमा विशेषगरी सहकारी कर र सहकारी कर्जा सूचना केन्द्रको स्थापना गर्नेबारे जे उल्लेख गरिएको छ , त्यो सकारात्मक छ तर सहकारीले उत्पादनमूलक क्षेत्रमा गर्न सक्ने भनिएपनि त्यो स्पष्ट छैन । त्यसबारेमा स्पष्ट भई दिए राम्रो हुने थियो ।
५. सहकारी ऐन , २०७४ र सहकारी नियमावली , २०७५ बारे तपाईको दृष्टिकोण के हो ?
~ सहकारी ऐन , २०४८ को तुलनामा सहकारी ऐन , २०७४ केही प्रगतिशील छ । यति हुँदाहँदै पनि यो ऐनले समग्र सहकारी क्षेत्रको विकासभन्दा पनि सहकारी क्षेत्रलाई नियन्त्रण गर्ने उद्देश्य बोकेको देखिन्छ । तसर्थ : यो ऐनलाई सहकारीकर्मीहरुको मर्म र भावना अनुसार शंसोधन गर्नु आवश्यक छ ।
यसैगरी सहकारी नियमावली , २०७५ सहकारीको विकासको सहयोगी बने जस्तो देखिएपनि यसका केही नियम र उप-नियमका कारण सहकारी क्षेत्रलाई केही असजिलो बनाएको महसूस भएको छ । यसलाई सहकारीको हित हुने ढंगबाट शंसोधन गर्नु आवश्यक छ ।
६. सहकारी मर्जरबारे तपाई के भन्नुहुन्छ ?
~ सहकारी मर्जर गर्ने कुरा राम्रो हो तर त्यो सहकारी संस्था र सहकारीकर्मीहरुको हीतमा हनुपर्दछ ।
७.कोपोमिस कार्यक्रमबारे के भन्नुहुन्छ नि ?
~ कोपोमिस कार्यक्रमबारे हामीलाई त्यत्तिसारो थाहा छैन ।
८. अन्तमा केही भन्नु छ कि ?
~ राज्यले सहकारीको विकास गर्ने ढंगबाट सहकारीमैत्री ऐन , कानून र नियम बनाएर तिनको ठीक ढंगबाट कार्यान्वयन गरोस् ।
