मर्जरको पहल गर्दै बैंकहरु
नेपाल राष्ट्र बैंकले मर्जरमा जान निर्देशन गरे बमोजिम बैंकहरु आफूसँग लोयो पोयो मिल्ने बैंक तथा वित्तीय संस्थाहरु खोजी गरी मर्जरको पहलमा लागेका छन् । यसै क्रममा सरकारी लगानी रहेका नेपाल बैंक लि. , राष्ट्रिय वाणिज्य बैंक लि. र कृषि विकास बैंक लि. का प्रमुख कार्यकारी अधिकृत (CEO) हरु वीच हिजो राष्ट्रिय वाणिज्य बैंक लि.को केन्द्रीय कार्यालय , सिंहदरवारप्लाजा , काठमाडौंमा बैंक मर्जरबारे प्रारम्भिक छलफल भएको जानकारी प्राप्त भएको छ ।
यता नेपाल राष्ट्र बैंक लि. बाट ‘क: श्रेणीको मान्यता प्राप्त ग्लोवल आइएमई बैंक लि. र जनता बैंक लि. बीच बैंक मर्जरबारे सैद्धान्तिक सहमती भएको खबर प्राप्त भएको छ । जसमा शेयर आदान प्रदान ८५ प्रतिशत रहने गरी ग्लोवल आईएमई बैंक लि. अध्यक्ष चन्द्र ढकाल र जनता बैंक लि. का अध्यक्ष केशव रायमाझी वीच सो सैद्धान्तिक सहमती भएको बुझिएको छ ।
यसैगरी काठमाडौंको नारायणहिटी पथमा केन्द्रीय कार्यालय रहेको तथा नेपाल राष्ट्र बैंकबाट ‘क’ श्रेणीको मान्यता प्राप्त सिटिजन बैंक इन्टरनेशनल लि.ले ‘ख’ र ‘ग’ श्रेणीका बैंक तथा वित्तीय संस्था वीच मर्जरको पहल गर्ने योजना बनाएको जानकारी प्राप्त भएको छ ।
उता नेपाल राष्ट्र बैंकबाट ‘क’ श्रेणीको मान्यता प्रापत प्राइम कमर्सियल बैंक लि. र ‘ख’ श्रेणीको मान्यता प्राप्त कैलाश विकास बैंक लि. बीच पनि मर्जर सम्बन्धी सहमती भएको छ खबर प्राप्त भएको छ । कैलाश विकास बैंक लि. को १०० कित्ता शेयर बराबर प्राइम कमर्शियल बैंक लि. को ९४ कित्ता शेयर हुने अर्थात १०० :९४ रहने छ । प्राइम कमर्शियल बैंक लि. को चुक्ता पूँजी रु. ८ अरव ३ करोड र कैलाश विकास बैंक लि. को चुक्ता पूँजी रु. २ अरव ३६ करोड रहेको जनाइएको छ । सो मर्जर सम्बन्धी सहमती पत्रमा हस्ताक्षर प्राइम कमर्शियल बैंक लि. का अध्यक्ष राजेन्द्रदास श्रेष्ठ र कैलाश विकास बैंक लि. का अध्यक्ष नारायणप्रसाद पौडेलले गर्नु भएको बुझिएको छ ।