भारतबाट आयातित फलफूल तथा तरकारीको विषादी परीक्षण नगर्ने विषयमा सरकार प्रतिपक्ष वीच जुहारी चल्दै , नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र पनि देखियो असन्तुष्टि

नेपाल सरकारले भारतबाट आयातित फलफूल तथा तरकारीको विषादी परीक्षण स्थगित गर्ने भन्ने विषयमा सर्वत्र विरोध भइरहेको छ । यो विरोधमा केवल नागरिक तथा प्रतिपक्षी दलहरु र तिनका भातृ संगठनहरु मात्रै होइन , सरकारको नेतृत्वकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का भीम रावल सहितका नेता- कार्यकर्ताहरु पनि देखिएका छन् । उक्त दलको विद्यार्थी संगठन अनेरास्ववियूका कार्यवाहक अध्यक्ष रञ्जित तामाङले प्रेस विज्ञप्ति प्रकाशित गरी सो कार्यको विरोध गर्नुभयो ।
सो दलको संसदीय दलको बैठकमा नेता रावलले यो कार्य नेपाली राष्ट्रियता विरोधी भएको बताउनुभएको थियो। त्यहाँ अरु केही सांसदहरुले पनि सो कार्यको विरोध गरेको सुनियो तर कतिपय जानकारहरुले त्यसलाई जनताको सहानुभूति बटुल्ने चालबाजीको रुपमा पनि अर्थ्याउने गरेको पाइन्छ तर जसले जे उद्देश्यले विरोध गरेको भएपनि यो विरोध नागरिकहरुको स्वास्थ्य र विषादी रहित खानेकुरा खान पाउने हक विरुद्ध भइरहेको खेलबाडको विरोधमा देखिन्छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सो संसदीय दलको बैठकमा बोल्नु हुँदै प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले आफू नेतृत्वको दल भित्रका केही नेता कार्यकर्ताहरुले उक्त विषयको विरोध गरेकोप्रति असन्तुष्टि व्यक्त गर्नु हुँदै कुनै विषयमा कसैलाई चित्त नबुझे सम्बन्धित पार्टी कमिटी राख्नुहोस् तर बाहिरफेर जथाभावी नबोल्न र सरकारको काम कारवाहीको पक्षमा दरो गरी उभिन सो दलका नेता – कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको जनाइएको छ ।
भारतबाट आयातित फलफूल तथा तरकारीको विषादी परीक्षण नगर्न भनेर कसैको पनि कुनै पत्र आफूले नपाएको उहाँको भनाई थियो ।
भारतीय दूताबासको निर्देशनपछि सरकारले भारतबाट आयातित तरकारी तथा फलफुलको विषादी परीक्षण नगर्ने भन्ने सञ्चार माध्यमहरुमा प्रकाशित तथा प्रशारित विषय यतिबेला ठूलो चर्चाको विषय बनिरहेको छ ।
यसै विषयमा प्रेस विज्ञप्ती प्रकाशित गर्दै नेपाली काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले
भारतबाट आयातित तरकारी तथा फलफुलको विषादी परीक्षण कार्य स्थगितबारे सरकारको आधिकारिक धारणा माग गर्नु भयो उहाँले सरकारले आफैले घोषणा गरे विपरीतको यो कार्य नेपाली जनता माथि गैरजिम्मेवारी भएको बताउनु भयो ।
नेपाली बजारमा भारतबाट ४४ प्रतिशत हाराहारीमा फलफूल तथा तरकारी आयात हुने गरेको जानकारहरु बताउछन् ।
भारतबाट आयात हुने तरकारी तथा फलफूल परीक्षणको स्थगित गर्ने कार्यको ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र उसको विद्यार्थी संगठन अखिल नेपाल विद्यार्थी यूनियनले विरोध गरेको छन् ।