राष्ट्रिय सहकारी महासंघ लि. ले ग-यो ‘सहकारीमा शिक्षा र तालिम उप-समितिको भूमिका’ विषयक गोष्ठि

राष्ट्रिय सहकारी महासंघ लि.को शिक्षा तथा तालिम उप-समितिको आयोजनामा ‘सहकारीमा शिक्षा तथा तालिम उप-समितिको भूमिका’ विषयक एक दिवसीय गोष्ठि आज सो महासंघको सभाहल , पुल्चोक ललितपुरमा सम्पन्न भयो । सो गोष्ठिलाई सम्बोधन गर्नु हुदै राष्ट्रिय सहकारी महासंघ लि. का अध्यक्ष केशवप्रसाद बडालले को-अपरेटिभ युनिभर्सिटी स्थापना गर्न राष्ट्रिय सहकारी महासंघ लि. लागी परेको बताउनुभयो । सहकारीले शिक्षा र तालिमलाई स्थापना भएदेखि नै महत्व दिएको बताउदै आवश्यकतामा केन्द्रित भएर सहकारी अभियान अगाडि बढ्नु पर्नेमा उहाँको जोड थियो । उहाँले मानव स्रोत सबैभन्दा महत्वपूर्ण हुनुका साथै शिक्षा र सीपले नै मानव स्रोतलाई बलियो बनाउने बताउनुभयो ।
सो अवसरमा राष्ट्रिय सहकारी महासंघ लि.का उपाध्यक्ष तथा आईसीए ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले कार्यक्रम सञ्चालन प्रक्रियालाई समय अनुसार परिमार्जन गर्दै लैजानुपर्ने बताउदै कार्यक्रममा सहभागी सहकारीकर्मीहरुले गोष्ठिबाट सिकेको शिक्षा र सीपलाई व्यबहारमा उतार्नु पर्नेमा जोड दिनुभयो ।
सो कार्यक्रममा उक्त महासंघका सञ्चालक तथा शिक्षा तथा तालिम उप-समितिका संयोजक माधव दुलालले सहकारी अभियानले प्रथम चरण पार गरिसकेकाले अब गुणात्मक विकासमा लाग्नु पर्ने बेला आएको बताउनुभयो । सहकारीको गुणस्तर सहकारीकर्मीहरुले नै निर्धारण गर्नु पर्नेमा उहाँको जोड थियो ।
त्यस अवसरमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून)का वरिष्ठ उपाध्यक्ष परितोष पौडेलले सहकारीमा शिक्षा र तालिमको धेरै महत्व रहेको बताउनुभयो । आधुनिक उच्च प्रविधिको विषयमा समेत सहकारीकर्मीहरु जानकार हुनुपर्ने औल्याउँदै तालिम र प्रशिक्षणलाई अझ व्यवस्थित रुपमा सञ्चालन गर्न नेफ्स्कूनले काभ्रेमा २० रोपनी जमीनमा तालिम र प्रशिक्षण भवन निर्माण गर्न लागेको उहाँको भनाई थियो ।
सो महासंघका अध्यक्ष केशवप्रसाद बडालको अध्यक्षता र उक्त महासंघका वरिष्ठ सञ्चालक गोपीकृष्ण भण्डारीको सञ्चालनमा भएको सो गोष्ठिमा सहकारी विभागका भूतपूर्व रजिष्ट्रार सुदर्शन प्रसाद ढकालले “सहकारीमा शिक्षा तथा तालिम उपसमितिको भूमिका” विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
उक्त गोष्ठिमा सो महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ्ग सुब्बा , नायब महाप्रबन्धक बाबुलाल खनालका साथै विषयगत केन्द्रीय सहकारी संघ , राष्ट्रिय सहकारी बैंक लि., जिल्ला स्तरीय संघं तथा सहकारी संस्थाहरुका प्रतिनिधिहरुको सहभागीता रहेको राष्ट्रिय सहकारी महासंघ स्रोतले जनाएको छ ।