आज हिन्दूहरु तुलशी रोप्तै

आज हरिसयनी या ठुलो एकादशीको दिन भएकोले विशेष गरी हिन्दूहरु आफ्नो घरमा मठ बनाएर बैदिक विधि अनुसार तुलशी रोपिरहेका छन् । हरिसयनी एकादशीको दिन रोपेको तुलशीको विवाह कार्तिक ठूलो एकादशी या हरिबोधनी एकादशीको दिन गरी दिने चलन छ । महत्वपूर्ण बहुउपयोगी ओखती मानिने तुलशी आजकाल गयर हिन्दूहरुले पनि गमला या अर्थोकै केहीमा रोप्ने गरेको पाइन्छ।
हिन्दू संस्कृति अवलम्बन गरिरहेका मुडुला कार्कीहरु भने न आफ्नो घरमा मठ बनाएर तुलशी रोप्छन् , न तिहारमा गाई गोरु नै पुच्छन् । किन यसो गरिएको हो भन्ने बारेमा धेरै मौदगल्य गोत्री मुडुला कार्कीहरु भने यसबारे अनविज्ञ देखिन्छन् । मष्ट कूल पूजा गर्ने मुडुला कार्कीहरुका पूर्खा साउना कार्की (साउना कार्की खस साम्राज्य कालमा सेनापति भएको इतिहास भेटिन्छ) र साउल्या कर्क्यानीले दैलेखको दुल्लूमा वि. सं. १३२० देखि १३३५ को वीचमा राजा अशोक चल्लको (त्यसबेला मल्ललाई चल्ल भनिदो रहेछ) नाममा बुद्धको प्रतिमा भएको देवल बनाएका थिए भनेर दिवंगत योगी नरहरि नाथले आफ्ना लेख रचनाहरुमा उल्लेख गर्नु भएको छ । यही कारण उबेलादेखि मुडुला कार्कीहरु बौद्धमार्गी भएकाले आफ्ना घरमा मठ बनाएर तुलशी नरोप्ने चलन चलेको पो हो कि भनेर कतिपयले अनुमान गर्ने गरेको पनि पाइन्छ तर त्यसको चित्त बुझ्दो कारण भने भेटिएको छैन । आजकाल भने कतिपय मुडुला कार्कीहरुको घर/ आँगनमा गमला या पुराना भाँडाहरुमा औषधिका लागि तुलशी रोपेको पाइन्छ ।
आजको दिन ब्रत बस्ने र धानको चामल या पिठोबाट बनेका बाहेकका खानेकुरा फलारको रुपमा खाने चलन छ ।
हरिसयनी एकादशीदेखि हरिबोधनी एकादशीसम्म भगवान विष्णु मस्त निद्रामा रहने भन्ने विशेषगरी हिन्दू समाजमा समाजमा किंवदन्ती रहेको पाइन्छ ।