आज पनि वर्षा जारी , बाडी पहिरोमा परी २२ जना मृत्यु र ५ जना बेपत्ता

३ दिनदेखि भइरहेको वर्षा आज पनि जारी छ । वर्षाका कारण विशेष गरी काठमाडौं उपत्यका र सो पूर्वका भूभागका नदी तथा खोलाहरुमा पानीको बहाव बढिरहेको छ । पहिरोको कारण काठमाडौं उपत्यकाको ललितपुरमा १ र काठमाडौंमा ३ जना र काठमाडौं उपत्यका बाहिर बाडी पहिरोबाट १८ जनाको ज्यान गएको र ५ जना बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ । वर्षातका कारण उत्पन्न हुन सक्ने समस्यालाई मध्यनजर गरी सबै सुरक्षा निकाय अलर्टको अवस्थामा रहेको बताइएको छ । बाडी र पहिरोले काठमाडौं , ललितपुर , भक्तपुरका साथै पर्शा , धनुषा , मोरङ , झापा , खोटाङ , भोजपुर , पाँचथर , इलाम लगायतका जिल्लाहरुको मानवीयका साथै ठूलो आर्थिक क्षति भएको खबर छ । सप्तकोशी र कमला नदीको बहाव बढ्दा त्यस आसपास त्रास उत्पन्न भएको छ ।
बाडी र पहिरोबाट पीडितहरुको उद्धार र राहतको लागि नेपाल प्रहरी , नेपाली सेना , ससस्त्र प्रहरी बल तथा स्थानीयहरुले तदारुपताका साथ काम गरिरहेका छन् । ललितपुरको पाटन , मंगलबजार , सानेपा काठमाडौंको तीनकुने , कलंकी , कुलेश्वर , वल्खू , पुतलीसडक , भक्तपूरको राधेराधे , सिर्जना नगर गायतका सडकमा पानी जमेको थियो । जसका कारण सवारी साधन तथा पैदल यात्रुहरुलाई आवत जावत गर्न समस्या भयो ।
काठमाडौं उपत्यका तथा त्यस पूर्वका तराईका नदी तथा खोला आसपासका बस्तीहरुमा बाडी पस्ता धेरै नागरिक विस्थापित भएका छन् । राजधानी जोडिने सडकहरुमा पहिरो खस्ता सवारी साधनहरु जाम पर्दा धेरै यात्रीहरु सास्ती बेहोर्न विवश भए । पृथ्वी लोकमार्गको मुग्लिन नजिकै सडकमा ढुङ्गा खस्ता एउटा ट्रक र सो ट्रकका सह- चालक त्रिसुली नदीमा बेपत्ता भएको तर ट्रकका चालक भने घाइते अवस्थामा जीवितै रहेको जानकारी प्राप्त भएको छ ।
गौर लगायतका तराई केही बजार तथा बस्तीहरु जलमग्न भएका समाचार प्राप्त भएको छ ।