विभिन्न साहित्यिक कार्यक्रम गरी आज २०६औँ भानु जयन्ती मनाइदै

0 Shares

नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २०६औँ जन्म जयन्ती आज विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइदैछ । विक्रम संवत १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मेका भानुभक्त आचार्यले नेपाली भाषा साहित्यलाई समृद्ध बनाउन महत्वपूर्ण योगदान गरेका थिए । आचार्यलाई नेपाली साहित्यको प्राथमिक कालका केन्द्रीय कविको रुपमा लिने गरिएको छ । श्रीकृष्ण आचार्यका नाति तथा धनन्जय आचार्यका छोरा भानुभक्त एक जना  घासीले घाँस बेचेर आर्जन गरेको पैसाले कुवा खनाउने भनेको कुराबाट प्रभावित भएर नेपाली साहित्यमा कलम चलाउन थालेको उनका रचनाहरुमा पाइन्छ । नेपाली साहित्यको वीर रस धारा कमजोर भएपछि विकास हुँदै गएको भक्ति धारालाई समृद्ध बनाउन उनले महत्पूर्ण योगदान गरेका थिए । उनले संस्कृत भाषाको रामायणलाई नेपाली भाषामा अनुवाद गर्ने काम गरे । उनका  फुटकर कविताहरुका साथै रामगीता , प्रश्नोत्तर , बधुशिक्षा र भक्तमाला पुस्तकको रुपमा  प्रकाशित छन् । उनका कृतिहरुमध्ये बधुशिक्षालाई भने कतिपय महिलाहरुले महिला विरोधी भनेर आलोचना गर्ने गरेको पनि पाइन्छ ।

भानुभक्त आचार्य र उनका साहित्यिक कृतिहरुको प्रचार प्रसार गर्ने काम भने युवा कवि मोतीराम भट्टले गरेका थिए ।

प्रभातफेरीका सँगै विद्यालय तथा कलेजहरुका साथै  विभिन्न साहित्यिक संघ/संस्थाहरुको आयोजनामा आज देश तथा प्रदेशमा आदिकवि भानुभक्तको सम्झनामा विभिन्न साहित्यिक कार्यक्रम गर्ने तयारी गरिरहेको जानकारी प्राप्त भएको छ । सरकारले  उहाँको जन्मथलो चुँदी रम्घाको विकासका लागि काम गरिरहेको बताउदै आएको छ । साहित्य क्षेत्रमा भने त्यस स्थललाई साहित्यिक पर्यटन स्थलको रुपमा राज्यले विकास गर्नु पर्ने आवाज उठिरहेको छ ।

Leave a Reply