गुरु घिमिरेको ‘मान्छेका कथाहरु’ सार्वजनिक

नेपाली काँग्रेसका केन्द्रीय कार्य समिति सदस्य गुरुराज घिमिरेको ‘मान्छेका कथाहरु’ कथाहरु हिजो सार्वजनिक भएको छ । १४ वटा कथाहरु रहेको सो कथा संग्रह नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा , वरिष्ठ नेता रामचन्द्र पौडेल तथा महामन्त्री शशांक कोइरालाले एकैसाथ लोकार्पण गर्नुभयो । त्यस अवसरमा नेपाली काँग्रेसका सभापति देउवाले सो कथा संग्रहको विषयमा चर्चा गर्नु हुँदै नेपालमा सबैभन्दा बढी भनसुन उद्योग फष्टाएको छ , कसैको भनसुन गरी दिने माथि मान्छे भएन भने उसको केही काम हुदैन भन्नुभयो । ‘नेपाली काँग्रेसभित्र गुरु घिमिरे माथि अन्याय भए पनि अब त्यसो नगरौला’ उहाँको भनाई थियो । सो अवसरमा सो पार्टीका वरिष्ठ नेता पौडेलले गुरु घिमिरेले राजनीतिसँगै साहित्यमा कलम चलाउनु भएकोमा खुशी व्यक्त गर्दे गुरु घिमिरे माथि पार्टीभित्र न्याय हुनुपर्ने बताउनुभयो । त्यस अवसरमा नेपाली काँग्रेसका महामन्त्री कोइरालाले गुरु घिमिरेलाई ९० प्रतिशत साहित्य सिर्जनामा र १० प्रतिशत अरु काममा समय दिन सुझाव दिनुभयो । ‘मान्छेका कथाहरु’ कथासंग्रहका लेखक गुरु घिमिरेले आफूले पार्टी संगठनबाट बचेको १० प्रतिशत समय साहित्य सिर्जनामा लगाएको बताउनुभयो ।
नेपाल विद्यार्थी संघको अध्यक्ष हुँदै नेपाली काँग्रेसका केन्द्रीय कार्य समिति सदस्य बनेका घिमिरे नेपाली काँग्रेसभित्रका अध्ययनशील , जुझारु र सिर्जनशील नेताहरुमध्येमा पर्नुहुन्छ ।