अमृतबृक्ष साकोसको ८औँ वार्षिक साधारणसभा सम्पन्न , संस्थाको अध्यक्षमा किसोर देसार निर्वाचित

0 Shares

ललितपुरको लगनखेलमा सञ्चालनमा रहेको अमृतबृक्ष बचत तथा ऋण सहकारी संस्था लि. को ८औँ वार्षिक साधारणसभा सो संस्थाका उपाध्यक्ष किशोर देसारको अध्यक्षता र ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष रामहरि बजगाईको प्रमुख आतिथ्यमा हिजो लगनखेलमा सम्पन्न भयो । उक्त साधारणसभाको  उद्घाटन प्रमुख अतिथि बजगाईले गर्नुभयो । त्यस अवसरमा उद्घाटन मन्तव्य व्यक्त गर्नु हुँदै प्रमुख अतिथि बजगाईले यस अमृतबृक्ष बचत तथा ऋण सहकारी संस्था लि.ले छोटो समयमा गरिरहेको प्रगतिप्रति खुशी व्यक्त गर्दै संस्थाका सबै सदस्यहरु बचत गर्ने बानी बसाउदै एक आपसमा सहकार्य गरी मिलेर अगाडि बढौँ , यस संस्थामा गरिरहेको कारोवारमा दोब्बर बृद्धि गरी यो संस्थालाई मजबुत बनाऔँ  भन्नुभयो । उहाँले ललितपुर बचत तथा ऋण सहकारी संघ लि. ललितपुरमा सञ्चालन भइरहेका बचत तथा ऋण सहकारी संस्थाहरुको समस्या निवारण गर्दै तिनीहरुको विकास र समृद्धिका लागि सकेको  सहयोग गरिरहेको बताउनुभयो । त्यस अवसरमा सो संस्थाका उपाध्यक्ष किशोर देसारले उक्त संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै  “आपसमा सहकार्य गरौँ , मिलेर बसौँ , मिलेर काम गरौँ  र मिलेर पूँजी निर्माण समेत गर्दै  आफ्नो व्यवसायको विकास र लक्ष्यका साथ राष्ट्रिय अर्थतन्त्रमा सकेको सहयोग  गरौँ” भन्ने उद्देश्य साथ २०६८ आसार १९ गते डिभिजन सहकारी कार्यालय ललितपुरमा विधिवत दर्ता भई सञ्चालन भइरहेको यस अमृतबृक्ष बचत तथा ऋण सहकारी संस्था लि.निरन्तर शेयरधनीहरुको माया , ममता र छत्रछायामा हुर्कदै आएको र यसले आफ्नो कार्यक्षेत्र भित्र बसोबास र व्यवसाय गर्ने शेयर सदस्यहरुको आर्थिक समेतका सानातिना समस्याहरु समाधान गर्ने तर्फ सदा सक्रिय भई क्रियाशील रहेको बताउनुभयो ।

संस्थाको सञ्चालन खर्चलाई मितव्ययी र पारदर्शी बनाई यस संस्थालाई ललितपुर जिल्लाभरीको उत्कृष्ट सहकारीको रुपमा विकास गर्न  हर सम्भव सबै प्रयत्न जारी रहेको उहाँको भनाई थियो । त्यसैगरी सो संस्थाका कोषाध्यक्ष निलबहादुर शाहीले उक्त संस्थाको २०७४/०७५ को वार्षिक कार्यक्रम र आ.व. २०७५/०७६ को अनुमानित आय तथा व्यसहितको आर्थिक प्रतिवेदन पेश गर्नु हुँदै सो संस्था संस्थाको आर्थिक प्रगति अघिल्लो वर्षको तुलनामा राम्रो रहेको तथ्यांक प्रस्तुत गर्नुभयो ।  उक्त संस्थाको २०७५ असार मसान्तसम्मको शेयर पूँजी रु. ७८,५९,८०० , आम्दानी रु.३०,१०,००२.८६ , खर्च रु. २७,०५,८०३.९१ रहेको सो आर्थिक प्रतिवेदनमा उल्लेख छ । सो कार्यक्रममा संस्थाकी सचिव सुशीला खड्काले स्वागत मन्तव्य र सञ्चालक समिति सदस्य राजन अधिकारीले धन्यवाद ज्ञापन गर्नु भएको थियो । सो संस्थाकी कर्मचारी सुष्मा खतिवडाको सञ्चालनमा भएको सो कार्यक्रममा समाजसेवी तथा मणिपाल बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष अशोक श्रेष्ठ , गतिशील बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष बलराम पाठक , वडा सदस्य पुनम निरौला लगायतका व्यक्तित्वहरु अतिथिको रुपमा उपस्थित हुनुभएको थियो ।

उक्त अवसरमा प्रमुख अतिथि बजगाई र कार्यक्रमका अध्यक्ष देसारले सो संस्थाका जेष्ठ सदस्य रामबहादुर खत्री ,  उत्कृष्ट बचतकर्ता कृष्ण महर्जन र उत्कृष्ट नारी बचतकर्ता पूर्णमाया मालीलाई कदर स्वरुप खादा ओडाई मायाको चिनो प्रदान गर्नुभयो भने कार्यक्रमका अध्यक्ष किशोर देसारले प्रमुख अतिथि बजगाईलाई मायाको चिनो प्रदान गर्नु भयो ।

सो साधारणसभाले सो संस्थाका उपाध्यक्ष किशोर देसारलाई उक्त संस्थाको अध्यक्ष पदमा  सर्वसम्मत निर्वाचित गरेको थियो ।

Leave a Reply