काठमाडौं महानगरपालिकाले बचत तथा ऋण र बहुउद्देश्यीय सहकारी संस्था दर्ता नगर्ने , श्रमिक , उत्पादन र कृषि सहकारीको दर्ता शुरु

काठमाडौं महानगरपालिकाले श्रमिक , उत्पादन र कृषि सहकारीको दर्ता २०७६ असार ३० गतेबाट शुरु गरेपनि बचत तथा ऋण र बहुउद्देश्यीय सहकारी संस्थाको दर्ता भने नखोल्ने जनाएको छ । काठमाडौं महानगरपालिका भित्र धेरै बचत तथा ऋण र बहुउद्देश्यीय सहकारी संस्थाहरु सञ्चालन भइरहेकाले यी खाले सहकारीको दर्ता खुल्ला नगर्ने तर श्रमिक , उत्पादन र कृषि सहकारीको भने दर्ता खुलेको काठमाडौं महानगरपालिका सहकारी विभागका प्रमुख नमराज ढकालले सहकारी सञ्जाल लाई बताउनुभयो । डिभिजन सहकारी कार्यालय काठमाडौंले काठमाडौं महानगरपालिकाभित्र कार्यक्षेत्र भएका सहकारी संस्थाहरु हस्तान्तरण गरेपछि पहिलो पटक दर्ता नं. १ रही २०७६ आसार ३० गते स्वाबलम्बन श्रमिक सहकारी संस्था लि. दर्ता भएको काठमाडौं महानगरपालिका सहकारी विभागले जनाएको छ । यता सो विभागले साउनदेखि पुष मसान्तसम्ममा साधारणसभा गरी तोकिएको समयमा रिपोर्ट पेश नगर्ने सहकारी संस्थालाई रु.३,००० जरिवाना गरेको बताइएको छ ।