नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विभागीय प्रमुख र जिल्ला इञ्चार्ज/ सह-ईञ्चार्जको आज टुङ्गो लगाउदै

सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज अपरान्ह बस्ने केन्द्रीय सचिवालयको बैठकले आफ्नो केन्द्रीय विभागका प्रमुख र जिल्ला ईञ्चार्ज/सह-ईञ्चार्जको टुङ्गो लगाउने तयारी गरिरहेको बताइएको छ । नेकपा (एमाले) र नेकपा (माके) बीच एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको १४ महिनापछि सो दलको केन्द्रीय विभागीय प्रमुख र जिल्ला ईञ्चार्ज/सह-ईञ्चार्जको टुङ्गो लाग्न लागेको हो । उक्त दलको महत्वपूर्ण मानिएका विदेश विभाग प्रमुख वरिष्ठ नेता माधवकुमार नेपाल , संगठन विभाग प्रमुख बामदेव गौतम , स्कूल विभाग प्रमुख ईश्वर पोखरेल , प्रचार विभाग प्रमुख नारायणकाजी श्रेष्ठ रहने तय भएको सो दल स्रोतले जनाएको छ तर आफूले भने जस्तो विभागीय जिम्मेवारी नपाउने संकेत बुझेपछि कतिपय नेताहरु असन्तुष्ट बनेको पनि पाइएको छ । उक्त दलका अध्यक्ष पुष्पकमल दाहाल र नेता इश्वर पोखरेल बीच आरोप प्रत्यारोप चल्दै आएको छ । उहाँहरु बीचको विवाद पार्टीको कार्यक्रमका विषयमा देखिएपनि सो दलको महासचिव पदका आकांक्षी नेता पोखरेलले अध्यक्ष दाहालका कारण महासचिव नपाएपछि रिस पोखेको बताउनेहरु पनि त्यत्तिकै छन् ।