पुष्पलालको ४१औँ स्मृति दिवसमा पुष्पलालको योगदानको सम्झना , जीवित हुँदा मात्रै नभई मृत्यु भएको ४१ वर्षसम्म पनि पुष्पलाल माथि प्रहार भइरहेको छ : नेकपा अध्यक्ष ऋषि कट्टेल

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४१औँ स्मृति दिवसका अवसरमा विभिन्न कार्यक्रमहरु भइरहेका छन् । हिजो पुष्पलाल स्मृति प्रतिष्ठानले काठमाडौंको कीर्तिपुरको चम्पादेवीमा कार्यक्रम ग-यो भने नेपाल कम्युनिष्ट पार्टीले काठमाडौंको अनामनगरमा अन्तर्क्रिया कार्यक्रम ग-यो ।
पुष्पलाल स्मृति प्रतिष्ठानले चम्पादेवीमा आयोजना गरेको कार्यक्रमका बक्ताहरुले पुष्पलालका विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउनु भएको थियो ।
यता पुष्पलालले स्थापना गरेको नेपाल कम्युनिष्ट पार्टीको निरन्तरता बताइरहेको नेपाल कम्युनिष्ट पार्टीले ४१औँ पुष्पलाल स्मृति दिवसको अवसरमा हिजो अनामनगरमा आयोजना गरेको अन्तर्कियामा बोल्दै सो पार्टीका अध्यक्ष ऋषि कट्टेलले ‘पुष्पलालको योगदानको चर्चा गर्नु हुँदै पुष्पलालले इमान्दारीपूर्वक सही ढंगबाट नेपाली कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाएका कारण उहाँमाथि गैरकम्युनिष्ट तथा कम्युनिष्ट हुँ भन्नेहरुबाटै प्रहार भइरह्यो र उहाँको देहान्त भएको ४१ वर्ष पूरा हुँदा पनि उहाँमाथि प्रहार भइहेको छ’ भन्नुभयो ।
बर्तमान ओली सरकारले पश्चिमा शक्तिहरुको डिजाइनमा देशलाई युद्धमा धकेल्न खोजिरहेको उहाँको भनाई थियो । त्यस अवसरमा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष लोकनारायण सुवेदीले पुष्पलाललाई वि.सं. २००८ सालमा नेपाल कम्युनिष्ट पार्टीको महासचिवबाट हटाउनु र त्यही साल नेपाल कम्युनिष्ट पार्टी माथि प्रतिबन्ध लाग्नु संयोग मात्र नभएको बताउनु भयो ।
२०४६ तथा २०६२/०६३ को ऐतिहासिक जन आन्दोलन पुष्पलालको विचार अनुरुप सफल भएको उहाँको कथन थियो । त्यस अवसरमा आफ्नो मन्तव्य व्यक्त गर्नु हुँदै नेपाल कम्युनिष्ट पार्टीका नेता आर.वी. भण्डारीले
पुष्पलालले आफ्नो निजी जीवनको बारेमा कहिल्यै वास्ता नगरी सधै आफूलाई पार्टीकरण गर्नु भएको बताउनुभयो । सो कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्नु हुँदै सो पार्टीका नेता रत्नप्रसाद जोशीले पुष्पलालले नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरी नेपाली कम्युनिष्ट आन्दोलनलाई उग्र वामपन्थी भढ्काव र दक्षिणपन्थी बाटोबाट जोगाएर ठिक ढंगबाट अगाडि बढाएकै कारण उहाँ देशी विदेशी यथास्थितिवादी तथा प्रतिक्रियावादीहरुको आँखाको कसिंगर बन्नुभएको बताउनुभयो ।
शहीदहरुप्रति एक मिनेट मौनधारण र पुष्पलालको फोटोमा माल्यार्णपण गरी शुरू भएको उक्त कार्यक्रममा सो पार्टीका नेता राजेश बान्तवाले पुष्पलालको बहुआयामिक व्यक्तित्वको चर्चा गर्नु हुँदै पुष्पलालले अघि सार्नु भएको विचार र सिद्धान्तबाट मात्रै वर्ग संघर्ष र राष्ट्रिय मुक्तिआन्दोलन ठिक ढंगबाट अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
उक्त दलका नेता कृष्णहरि भट्टले पुष्पलालले आफूलाई दरबारबाट पटक -पटक प्रधानमन्त्री बन्न आएको प्रस्ताव अस्वीकार गरेको जानकारी प्राप्त गरेको बताउनुभयो । उक्त कार्यक्रमको अध्यक्षता गर्नुहुँदै सो पार्टीका जेष्ठ सदस्य तथा सल्लाहकार शिव भट्टराईले
पुष्पलालसँग विताएका क्षणहरुको स्मरण गर्नु हुदै पुष्पलाल कहिल्यै पनि कुनै लोभ लालचमा नलागी सधै बहुसंख्यक श्रमजीवी जनताको हीत हुने राजनीतिक परिवर्तनका लागि जीवनभर लडिरहनु भयो भन्नुभयो ।
त्यस अवसरमा ईञ्जिनियर सन्तोष पोखरेल र कृष्णहरि भट्टले
पुष्पलालको सम्झनामा कविता बाचन गर्नभएको थियो ।
यसैगरी ४१ औँ पुष्पलाल स्मृति दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टीको विद्यार्थी संगठन अखिल नेपाल विद्यार्थी यूनियनले काठमाडौंको मध्यबानेश्वर स्थित रत्नराज्य मा.वि. मा २०७६ साउन १२ गते विद्यालय स्तरीय बक्तृत्वकला आयोजना गर्न लागेको सो संगठनका नेता सन्देश भट्टराईले सहकारी सञ्जाललाई बताउनुभयो ।
वि.सं. १९९७ सालमा राणा सरकारले मृत्युदण्ड दिएका ४ शहीदहरुमध्ये सबैभन्दा काञ्छा शहीद गंगालाल श्रेष्ठका माइला भाइ पुष्पलाल दाजु गंगालालको प्रेरणाले श्रमिक पक्षीय राजनीतिमा लाग्नु भएको बताइन्छ । सुरुमा राष्ट्रिय काँग्रेसको कार्यालय सचिव रहनु भएका पुष्पलालले राष्ट्रिय काँग्रेस परित्याग गरी विश्व कम्युनिष्ट घोषणा-पत्र नेपाली भाषामा अनुवाद गर्नुका साथै नेपाल कम्युनिष्ट पार्टी स्थापनाको अगुवाई त गर्नु भयो नै , त्यो सँगै नेपाली वाम आन्दोलनलाई ठीक दिशाबाट अगाडि बढाउन बाचुञ्जेल लागिरहनुभयो ।
बि.सं. १९८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मिनु भएका पुष्पलालको वि.सं. २०३५ साउन ७ गते भारतको दिल्ली स्थित गोविन्दबल्लभ पन्त अस्पतालमा निधन भएको थियो ।