क. पुष्पलालको अस्तु नेपाल ल्याउने जिम्मा क. रामचन्द्र चापागाई र मलाई दिइयो

– आर.वी. भण्डरी , नेता , नेपाल कम्युनिष्ट पार्टी
यतिबेला नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४१औँ स्मृति दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु भइहेका छन् । पुष्पलालको स्मृति लगायतका विषयमा सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीले नेपाल कम्युनिष्ट पार्टीका नेता आर.वी. भण्डारीसँग गर्नु भएको कुराकानीको सम्पादित अंश यस प्रकार छ ।
१. तपाई नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाललाई कसरी सम्झनुहुन्छ ?
~यतिबेला क.पी.एल. को ४१ औं स्मृति दिवस परेकोले उहाँलाई हार्दिकश्रद्धाञ्जलि अर्पण गर्दछु ।उहाँद्धारा नेपाल कम्युनिष्ट पार्टीको स्थापना हुनुका साथै त्यसलाई अग्रगति दिन र विचारले परिपूर्ण गराउने काममा उहाँ आफ्नो जीवनभर निरन्तर लाग्नु भो । जस्तो सुकै कठिन परिस्थिति र गलत , षड्यन्त्रपूर्ण र वेइमानीतपूर्ण हर्कतसँग लडेको एउटा सच्चा मार्क्सवादी – लेलिनवादी आदर्श कम्युनिष्ट नेताको रुपमा म यसबेला क. पुष्पलाललाई सम्झन्छु ।
२. तपाई पुष्पलालसँग भारत प्रवासमा लामै समय सँगै रहनु भयो भन्ने सुनिन्छ। उहाँको दैनिकी र स्वभाव कस्तो थियो ?
~ म उहाँसँँग ५/७ वर्ष मात्र सँगै बसेको हुँ । उहाँको व्यक्तिगत स्वभाव भन्ने हो भने अत्यान्त सरल , समयको कडाइका साथ पालना गर्ने र पार्टीका साथीहरुलाई पनि सोही अनुरुप आफ्ना क्रियाकलाप गर्न प्रेरित गर्ने , अध्ययनमा लागिरहने , साथीहरुलाई पनि अत्यन्त गहन ढंगबाट प्रत्येक वस्तुमा वैज्ञानिक तथ्यका आधारमा अध्यायन गर्न भन्ने र आफै समेत संलग्न भई अध्यायनको गहिराईसम्म पुग्ने गर्नुहुन्थ्यो । मैले जानेसम्म उहाँमा हतासा वा कुण्ठा कहिलै पनि देखिन । उहाँ सधै देश र जनताको मुक्तिको पक्षमा लडिरहेको साहसिक योद्धा रहेको पाएँँ ।
३. क.पी.एल लाई समकालीन धेरै कमरेडहरुले साथ छाड्दा पनि तपाई सधै उहाँसंगै रहनु भयो नि ?
~ तपाईको प्रश्नको ठिक उत्तर दिन म अलि अगाडिको गतिविधिलाई स्मरण गराउन चाहन्छु । क.पी.एल. द्धारा वि.सं. २००६ सालमानेपाल कम्युनिष्ट पार्टी स्थापना भारतको कोलकत्तामा गर्दाका पाँच जना मध्ये अन्य चारजना तत्पश्चात उहाँसँग रहेर संगठन र वैचारिक योगदान गरेको पाउनु हुन्छ ? अहँ , त्यसको अभाव भो र उहाँले आफ्नै बलबुतामा नयाँ साथीहरु निर्माण गरी नेपाल कम्युनिष्ट पार्टी अगाडि बढाउनु भयो तर देशीय प्रतिक्रियावादी शक्ति र अन्तर्राष्ट्रिय धूर्तहरुको षडयन्त्रले गर्दा उहाँलाई साथ छोडेर नेपाल कम्युनिष्ट पार्टीलाई कमजोर पार्ने काममा वि. सं. २००८ ,२०१० , २०१९ हुँदै पछिल्लो कालखण्डमा त झन ने.क.पा.लाई पूर्ण विलिनिकरण गर्ने सम्मको काम भएको कुरा विर्सन हुदैन तर ती सबै असहजतालाई चिर्दै २०२५ सालमा गोरखपुर सम्मेलन गरी पार्टीलाई पूर्नजीवन दिएर नयाँ जनवादी कार्यक्रम सहित अगाडि बढ्दा यस कालखण्डमा कतिपय कमरेडहरु छुट्दै गए भने हामी जस्ता धेरै साथीहरु उहाँको विचारमा गाँसिदै गएर अन्तिमसम्म उहाँसँग र उहाँको विचारसँग हालसम्म पनि क्रियाशील नै छौं ।
४. पी.एल. को निधन पश्चात उहाँको शव नेपाल ल्याउन तत्कालीन सरकारले नदिँदा तपाईहरुले उहाँको अस्तु नेपाल ल्याउनु भो भन्ने सुनिन्छ। त्यस बेलाको अवस्थाको बारेमा केही भनिदिनुहुुन्छ कि ?
~ वि.सं.२०३५ श्रावण ७ गते उहाँको निधन भारतको दिल्लीस्थित गोविन्दबल्लभ पन्त अस्पतालमा भयो । उहाँको शव नेपाल ल्याउन तीन दिनसम्म दुतावास र तत्कालील सरकारसँग निकै प्रयास भए तर त्यो प्रयास सम्भव नभएपछि उहाँको पार्थिक शरीरलाई दिल्लीको निगमवोध घाटमा अन्त्यष्टि गरियो र बनारस आई उपलब्ध साथीहरुको वीच छलफल हुँदा उहाँको अस्तु नेपाल लैजाने भन्ने निर्णय भयो । त्यस कामको निम्ति क. रामचन्द्र चापागाँई र मलाई जिम्मा दिइयो । तत्कालीन समयको कठोर राजतन्त्रात्मक पञ्चायती शासनले उहाँको अस्तु ल्याउने खबर पाएपछि देशभर कडा नाकाबन्दी लगाएको थियो तर त्यसको बाबजुद हामीले छद्मभेषमा नेपाल ल्यउन सफल भयौँ । त्यो समय राजनीति व्यक्तित्व र जनसमूहको अथाहा उपस्थिति इतिहासमै स्मरण योग्य बन्न पुग्यो भने शासक सामू जनताको चाहना कतातिर रहेछ भन्ने कुराको सन्देश समेत त्यसले प्रदान गरेको थियो । अस्तु विसर्जन क्रममा हामी दुई पकडाउ खाने र जनताको भीड देखेर साँझ छोडे जस्तो उपक्रम चलिरहँदा हामी उम्कन सफल भई लुक्न जाँदाका बखत समेत साथ दिने क. प्रभुनारायण चौधरी, क. सिद्धीलाल सिंहलाई बिर्सन मिल्दैन ।
५. क.पी.एल. लाई बहुआयामिक व्यक्तित्वको रुपमा चर्चा गरेको पाइन्छ नि ?
~यसबारेमा यस बसाईमा सबै कुरा भन्न सम्भव छैन किन भने नेपालको सन्दर्भ र नेपाल कम्युनिष्ट पार्टीको स्थापनादेखि त्यसको वैचारिक पूर्णताका साथ देशमा जातजाती , क्षेत्र , परम्परा , इतिहस , अर्थतन्त्र , सांस्कृतिक प्रचलन र त्यसमा रहेको राम्रा र नराम्रा पक्ष , चरण र स्वरुप तथा देशमा र विश्व भरका मित्र र शत्रुको पहिचान र मार्क्सवाद, लेलिनवाद तथा माओत्सेतुङ विचारधारालाई आफ्नो दार्शनिक आधार बनाई जुन नेपाली वर्तमान तानाशाही राजतन्त्रको विरुद्ध गरिने संयुक्त जनअन्दोलनको अकाट्य कार्यक्रम समेत उहाँले दिनुभो । त्यसैबाट प्रष्ट हुन्छ कि उहाँको व्यक्तित्व साच्चै बहुआयामिक थियो र त्यसलाई अझै गहिरो ढंगबाट प्रत्येक पक्षको अध्ययन गरिन जरुरी छ भन्ने ठान्दछु ।
६. क.पी.एल. ले निर्दीष्ट गरेको बाटोमा हाल कम्युनिष्ट पार्टीहरु हिडेको देख्नुहुन्छ ?
~ तपाईको यो प्रश्न अत्यान्त समसामायिक छ तर यसको बारेमा लामो भन्नुभन्दा पनि वर्तमानमा सत्तामा रहेका र कतिपय बाहिरै रहेका कम्युनिष्ट पार्टीहरु पूरै उहाँको विचारको बर्खिलाफमा हिँडिरहेका छन । उदाहरणका निम्ति सत्तासीन कम्युनिष्ट पार्टी आधारभूत मान्यतालाई नै छाडेर संसदीय खेलमा लिप्त छ भने कतिपय बाहिर बस्नेले पनि घुर्की वा नजानिदो सामिप्यता राख्दै उनैको ताँबेदारी गरेको अवस्था भएकोले यो गलत र पी.एल.को विचारको समाप्तितिर जाने ठहर गरेर नै हामीहरुले नेपाल कम्युनिष्ट पार्टीलाई पुन: संगठन गर्दै आम क्रान्तिकारीहरुलाई गोलबन्द गर्दै नयाँ जनवादी बाटोमा अगाडि बढ्न अनवरत प्रयास गरिरहेको छौं, जसले मात्र पी.एल.को साँचो निर्दिष्ट बाटो पहिल्याउन मद्धत गर्नेछ ।
७. नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जनवादी क्रान्ती पुरा भई सक्यो भनिरहेको छ तर तपाईहरु त फेरि पनि जनवादी क्रान्ती पूरा गर्न भनेर नेपाल कम्युनिष्ट पार्टी बनाएर लागिरहनु भएको छ नि ?
~तपाईका यस प्रश्नको कतिपय आसयको मेरा माथिका कुराहरुले पनि जवाफ दिईसकेको छ भने यहाँ केही कुरा मात्र भन्दछु । त्यो के भने जनवादी
क्रान्तिको कार्यभार पूरा भैसक्यो भन्ने कुरा , यसमा मेरो धेरै भनिरहनु पर्ने केही छैन ।भन्नुहोस् , हाम्रो जस्तो देशमा राष्ट्रिय पूँजीको विकास र सामन्ती शोषणको अन्त्य विना कसरी यसको कार्यभार पूरा हुन्छ र ? उनीहरुकको वैचारिक कमजोरीकै कारण आज प्रष्ट देखिएको छ कि सत्ता राष्ट्रिय प्रतिक्रियावादी र अन्र्तराष्ट्रिय दलाल पूँजीवादीहरुको इसारामा नाँच्न बाध्य छ र अफ्ना चुनावी मुद्धाबाट समेत पछि हटेर भ्रष्ट र अनैतिक क्रियाकलापमा फस्दै गइरहेको छ , जसको गन्तव्य पतोन्मुख भएकाले हामीले यसको गलत दृष्टिकोणका विरुद्ध नयाँ जनवादी कार्यभार पूरा गर्ने काममा भरथेग गर्न प्रयासरत छौं र आजका दिनमा यो काम गाह्रो भएता पनि नेपाली आम जनताको मुक्तिको निम्ति अनिवार्य हुन गएको छ ।
८. कतिपय मानिस पी.एल.को विचारको सान्दर्भिकता सकियो भन्दछन् तर त्यसो होइन भने नयाँ जनवादी क्रान्ति कसरी पूरा होला ?
~ क. पी.एल.को विचारको सान्दर्भिकता सकियो भन्नेहरुलाई म धेरै भनिरहन चाहन्न , म यतिमात्र भन्दछु कि -उहाँको सान्दर्भिकता जसरी २०१९ पछि २०२५ सम्म सकिएको देख्दथे त्यही आँखाले हेर्नेहरुको लागि मात्र हो । होइन भने क.पी.एल.द्धारा गोरखपुर सम्मेलनद्धारा नयाँ जनवादी कार्यक्रमका साथमा जुन संगठन र कार्य थालनी गरी २०३५ सम्म देश र विदेशका समेत सबै पक्ष र तत्वसँग एकाकार भई नेपाल कम्युनिष्ट पार्टीको समग्रता प्रदान गर्नु भो । त्यसलाई अस्वीकार गर्नु सरह नै हो । तसर्थ: म के भन्न चाहान्छु भने – आजको नयाँ जनवादी अन्दोलनको पक्षपातीहरुका निम्ति तिनै दिन सरह कठिन भएको छ , जुन २०१८ देखि २०२४ र समग्रमा देशी विदेशी प्रतिक्रियावादीको अफवाह र घेराबन्दीमा २०३५ सम्म पी.एल.लाई पारी अन्दोलन समाप्त पार्ने प्रयत्न भएको थियो , सोही अवस्थामा झैं नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा गर्नु पर्ने क्षण आज आई परेको छ तर देश र विदेशको अवस्थामा पर्ने फरक अवस्था भएकोले सोही अनुरुप पी.एल.को वैचारिक आवश्यकताको पुष्टि गर्ने कठिन कार्यभारलाई अत्मसाथ गरी नेपाल कम्युनिष्ट पार्टी अगाडि बढ्ने प्रयासमा छ र सबै क्षेत्रका क्रान्तिकारीहरुलाई यसैमा गोलबन्द हुन समेत हार्दिक अपिल गर्दछु । अस्तुः