श्री भीमसेन मन्दिर पुनर्निर्माण सरोकार समितिको प्रथम साधारणसभा हिजो सम्पन्न

0 Shares

ललितपुरको पाटन मंगलबजारमा  रहेको श्री भीमसेन मन्दिर पुनर्निर्माण सरोकार समितिको प्रथम साधारणसभा हिजो ललितपुर उद्योग वाणिज्य संघको सभाहल , मंगलबजार , ललितपुरमा सम्पन्न भयो ।

श्री भीमसेन मन्दिर पुनर्निर्माण सरोकार समितिका साथै ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनले सबैलाई स्वागत गर्नु हुँँदै २०७२ साल वैशाख १२ गते गएको भूकम्पबाट क्षतिग्रस्त पाटन मंगलबजार स्थित श्री भीमसेन मन्दिर कुनै पनि बेला भत्किन सक्ने अवस्थामा पुगेको र भीमसेन मन्दिर भत्किन गएमा हुन सक्ने सम्भावित धन जनको क्षतिलाई मध्यनजर गरी मन्दिरलाई यथाशक्य चाँडो भत्काई पुनर्निर्माण गर्नुपर्ने भन्ने विज्ञहरुको राय बमोजिम ललितपुर उद्योग वाणिज्य संघको अगुवाईमा मंगलटोल सुधार संघ , ललितपुर महानगरपालिका ,  ललितपुर भरीका जातीय समाज, विभिन्न संघ /संस्था तथा बस्तुगत संघहरु समेतको सहयोगमा श्री भीमसेन मन्दिर पुनर्निर्माण सरोकार समिति गठन गरिएको र  समितिको गठन पश्चात समितिबाट मन्दिरको पुनर्निर्माण गर्न नेपाल सरकार , राष्ट्रिय पुनर्निर्माण प्राधिकरण तथा पुरातत्व विभाग एवं ललितपुर महानगरपालिका समेतको स्वीकृति प्राप्त गरी यस समिति जिल्ला प्रशासन कार्यालय तथा अन्य सम्बन्धित निकायहरुमा दर्ता गर्ने कार्य सम्पन्न गरी गत आषाढ १२ गतेका दिन विधिवत रुपमा क्षमा पूजा गरी मन्दिरको गजुर झिकी मन्दिरको पुनर्निर्माणको कार्य द्रुतगतिमा भइरहेको बताउनुभयो । उहाँले छानाको सुन लेपन बाहेक अनुमानित रु. ४,९३,००,०००।– (चार करोड त्रियानव्वे लाख) लागत पर्ने इष्टिमेटमा शुरु गरिएको श्री भीमसेन मन्दिरको पुनर्निर्माण कार्यमा नेपाल सरकारका सबै सम्बन्धित निकायहरुका साथै संघ /संस्था सबैको सहयोगले पुनर्निर्माण कार्य सुरु गरेको मितिले दुई वर्ष भित्र निर्माण कार्य सम्पन्न गरी हाम्रो सम्पदा हामी आफै बनाउन सक्छौं भन्ने अनुकरणीय उदाहरण प्रस्तुत गर्न हामी सफल हुनेछौं भन्ने विश्वास व्यक्त गर्दै सहयोगको अपेक्षा गर्नुभयो ।
सो मन्दिर पुनर्निर्माण सरोकार समितिका सदस्य सचिव मनोजबहादुर न्याछ्योंले समिति गठनदेखि आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन सो साधारणसभामा प्रस्तुत गर्नुभयो भने उक्त समितिका कोषाध्यक्ष  हरिनरसिंह अमात्यले प्रतिवेदन सहित आर्थिक वर्ष २०७५/०७६ को वासलात पेश गर्नु भएको थियो । त्यस अवसरमा उहाँले एभरेष्ट वैंक लि. का अध्यक्ष वी.के.श्रेष्ठबाट  रु. एक करोड  आर्थिक सहयोग प्राप्त भएको बताउनुभयो । उक्त साधारणसभामा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले पर्यटनको विकासमा संस्कृतिको ठूलो देन रहेको बताउदै श्री भीमसेन मन्दिरको पुनर्निर्माण कार्यमा    ललितपुर महानगरपालिकाको तर्फबाट रु. एक करोड आर्थिक सहयोग गर्ने वचनवद्धता व्यक्त गर्नुभयो । सो अवसरमा संघीय संसदको प्रतिनिधि सभाका सदस्य पम्फा भुषाल र ३नं. प्रदेशसभाका सदस्य ज्ञानेन्द्र शाक्यले पुनर्निर्माण कार्यमा प्रदेश नम्वर ३ सरकारको तर्फबाट रु. ५० लाख आर्थिक सहयोग गर्ने बताउनु हुँँदै सकारात्मक सोचले कार्य गर्दा सफल हुने र परिणाम पनि राम्रै निस्कने छ भन्नुभयो । उक्त अवसरमा वरिष्ठ संस्कृतिविद् एवं बाङ्गमय शताव्दी पुरुष सत्यमोहन जोशीले कला , संस्कृतिको महत्व प्रष्ट्याउदे भीमसेनको महिमा बारे प्रकाश पार्नु भयो ।  उहाँले भीमसेन व्यवसायीहरुको आराध्यदेवता भएकोले व्यवसायीहरुले भीमसेनलाई विशेष पुजिन्छ भन्नुभयो । दिलेन्द्रराज श्रेष्ठले सञ्चालन गर्नु भएको सो कार्यक्रममा उक्त समितिका उपाध्यक्ष किरणमान प्रधानले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।साधारणसभाबाट तदर्थ समितिका अध्यक्ष कृष्णलाल महर्जनको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति निर्वाचित गरेको थियो । सो समितिको
उपाध्यक्षमा किरणमान प्रधान , सदस्य सचिवमा मनोजबहादुर न्याछ्यों , कोषाध्यक्षमा हरिनरसिंह अमात्य तथा का.स. सदस्यहरु  क्रमश: डा. रोहित रञ्जितकार , दिलेन्द्रराज श्रेष्ठ , जितेन्द्रबहादुर राजभण्डारी ,  प्रतिमा पाण्डे र श्रीमती शान्ति शाक्य रहनु भएको उक्त समितिका सदस्य सचिव मनोजबहादुर न्याछ्योद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

 

Leave a Reply