सेवा विस्तार गर्ने बारे दमौलीमा सरोकारवालाहरुसँग नेफ्स्कूनको अन्तर्क्रिया सम्पन्न

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का वरिष्ठ उपाध्यक्ष परितोष पौडेलले बचत तथा ऋण सहकारी संघ/ संस्थाहरुको लागि छुट्टै ऐन बनाउन नेफ्स्कूनले पहल गरिरहेको बताउनु भएको छ । यही साउन १६ गते नेफ्स्कून फिल्ड कार्यालय , पोखराको आयोजनामा तनहुँ सदरमुकाम दमौली बजारमा नेफ्स्कूनको सेवा विस्तार सम्बन्धमा नेफ्स्कूनका सदस्य संघ तथा सदस्यहरु बीच भएको अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेफ्स्कूनको सेवा विस्तारको महत्वबारेमा आफ्नो धारणा व्यक्त गर्नु भएको थियो । तनहुँ बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष देवीबहादुर बस्नेत , जिल्ला सहकारी संघ लि. , तनहुँका मदनप्रसाद पण्डित र राष्ट्रिय सहकारी बैंक लि. का शाखा प्रमुख उपेन्द्र दाहाल लगायत विभिन्न संघ र साकोसहरुबाट ४१ जनाको सहभागिता रहेको उक्त कार्यक्रममा नेफ्स्कूनका गण्डकी प्रदेश संयोजक भीम गुरुङ र सञ्चालक शान्ति अधिकारीले साकोसको विकास र गुणात्मक बृद्धिका लागि नेफ्स्कूनले सरोकार पक्षहरुसँग छलफल अघि बढाउँदै महत्वपुर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँहरुले नेफ्स्कूनको सेवा केन्द्र मार्फत तनहुँका साकोसहरुको थप प्रबर्द्धनमा सहयोग पुग्ने धारणा व्यक्त गर्नु भएको थियो ।