नेपाल सरकारको बृक्षारोपण बर्ष सफल पार्ने विषयमा बन तथा वातावरण मन्त्रालय र सहकारी अभियान बीच छलफल सम्पन्न

राष्ट्रिय सहकारी महासंघ लि. , नेपालका अध्यक्ष केशबप्रसाद बडालको नेतृत्वमा यही साउन २२ गते गएको सहकारी अभियानको प्रतिनिधि मण्डलले नेपाल सरकारका बन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतसँग भेटी नेपाल सरकारको वृषारोपण वर्षलाई सफल पार्न फलफूलका विरूवा रोपन कार्यका साथै नर्सरी स्थापना गर्न सहकारी अभियानसँग सहकार्य गर्न आग्रह गरेको छ । सिहंदरवारस्थित बन तथा वातावरण मन्त्रालयमा भएको भेटमा राष्ट्रिय सहकारी महासंघ लि. , नेपालका अध्यक्ष बडालले फल दिने , पानीको स्रोत संरक्षण गर्ने , गाईवस्तुको लागि घाँसका रूपमा प्रयोग गर्न सकिने र काठका लागि समेत उपयोग हुने विरूवाहरू रोपन गर्नु पर्नेमा जोड दिनुभएको थियो । जवाफमा बन तथा वातावरण मन्त्री वस्नेतले राज्यको प्राथमिकता पनि सहकारी अभियान भएकोले बनको वहु-आयामिक सदुपयोगको लागि सहकारीको नेटवर्कसँग सहकार्य गर्ने बताउनुभयो । त्यस अवसरमा बन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओली , राष्ट्रिय सहकारी महासंघ लि. , नेपालका वरिष्ठ उपाध्यक्ष मीनराज कँडेल , उपाध्यक्ष तथा आईसिएका सञ्चालक सदस्य ओमदेवी मल्ल र महाप्रवन्धक चित्राकुमारी थाम्सुहाङ्ग सुब्बा तथा बन तथा वातावरण मन्त्रालयका विभिन्न विभागका निर्देशकहरूको उपस्थिति रहेको थियो । उक्त अवसरमा हरित उद्यम विकास तथा विस्तारका साथै राष्ट्रिय तथा स्थानीय स्तरमा सञ्चालन हुने जलवायु परिवर्तन न्यूनिकरणका कार्यक्रमहरूका विषयमा उक्त मन्त्रालय र सहकारी अभियान बीच आपसमा सहकार्य गरेर अगाडि बढ्ने विषयमा छलफल भएको राष्ट्रिय सहकारी महासंघ लि. , नेपालले जनाएको छ ।