लघुवित्तमा जस्तै सहकारीमा पनि २ प्रतिशत सेवा शुल्क लिन पाउने व्यवस्था होस् : सहकारी महासंघका अध्यक्ष बडाल , कुनै पनि कानून भूत प्रभावी हुदैन : सहकारी विभागका रजिष्टार डा. पाण्डे

राष्ट्रिय सहकारी महासंघ लि. , नेपालका अध्यक्ष केशवप्रसाद बडालले लघुवित्तमा जस्तै सहकारीमा पनि २ प्रतिशत सेवा शुल्क लिन पाउने व्यवस्था हुनु पर्ने बताउनु भएको छ । हिजो ललितपुरको थसिखेलस्थित कोप फुड्ल्याण्डमा जिल्ला सहकारी संघ लि. , ललितपुर , ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. , ललितपुर बहुउद्देश्यीय सहकारी संघ लि. र ललितपुर जिल्ला कृषि सहकारी संघ लि. को संयुक्त आयोजनामा भएको सहकारी सन्दर्भ व्याजदर विषयक बृहत अन्तर्क्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो । उहाँले फाइनान्स कम्पनी तथा लघुवित्तमा भन्दा सहकारीमा व्याजदर सस्तो भएकोले अब सहकारीका लागि सुनौलो अवसर आएको बताउनुभयो । देशको अवस्था बुझेर आफूले राष्ट्रिय सहकारी महासंघ लि. , नेपालको अध्यक्षको हैसियतले १७.५ प्रतिशत सहकारी सन्दर्भ व्याजदर व्याजदर कायम होस् भनेर लेखेर पठाउदा केशव बडाल सहकारीको हित विपरीत उभियो भनेर मेरो विरुद्ध प्रचार भयो भन्दै उहाँले देशका २६ जिल्लाहरुबाट यही साउन १९ गतेबाट लागू भएको सन्दर्भ व्याजदरको समर्थन भएको र बाँकी अरुले पनि गर्ने बताउनुभयो । प्रवाह भइसकेको कर्जाका सन्दर्भमा यो सहकारी सन्दर्भ व्याजदरको कार्यान्वयन १ वर्षपछि हुनुपर्नेमा उहाँले जोड दिनुभयो । यही साउन २३ गते काठमाडौंका सहकारी संघहरुको आयोजनामा भएको कार्यक्रममा सहकारी सन्दर्भ व्याजदरको विरोधप्रति इंगित गर्दै उहाँले ‘केही व्यक्तिहरुले सहकारी अभियानलाई गलत ढंगबाट लान खोज्दै छन् तर त्यसले सहकारी अभियानलाई नै नोक्सान गर्छ । काठमाडौंमा हिजो सम्पन्न कार्यक्रममा सहकारीकर्मी कम र अन्य व्यक्तिहरु बढी भेला भएछन् ! त्यस घटनाले आफूलाई ओरेण्टल को-अपरेटिभका छाउरा जन्मे जस्तो लागेको छ’ भन्ननुभयो ।
सोही महासंघका वरिष्ठ उपाध्यक्ष मीनराज कँडेलले ‘क’ वर्गका बाणिज्य बैंक , ‘ख’ र ‘ग’ वर्गका विकास बैंक तथा फाइनान्स कम्पनी , लघुवित्त , राष्ट्रिय सहकारी बैंक , नेफ्स्कून र नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघको व्याजदरलाई आधार बनाएर सहकारी सन्दर्भ व्याजदर निर्धारण भएको बताउनुभयो । उहाँले सहकारीकर्मी आफै सहकारीका मालिक , सञ्चालक , उपभोक्ता तथा सदस्य भएकोले सहकारीलाई व्यवस्थित गर्न ल्याइएको सहकारी सन्दर्भ व्याजदर लागू गर्नु पर्नेमा जोड दिनुभयो । सहकारी स्वतन्त्र र स्वायत्त भएपनि स्वच्छन्द भने नभएको उहाँको भनाई थियो ।
सो अवसरमा सहकारी विभागका रजिष्टार डा. टोकराज पाण्डेले सहकारी क्षेत्रलाई व्यवस्थित गर्न सहकारी ऐन र नियमावली अनुसार निर्धारण गरिएको सहकारी सन्दर्भ व्याजदर सबै सहकारीले कार्यान्वयन गर्नुपर्छ भन्नुभयो ।उहाँले पहिलो पटक लागू गरिएको सहकारी सन्दर्भ व्याजदर कार्यान्वयन गर्दै जाँदा समस्या देखिएमा त्यसलाई ठूलो इस्यू बनाउनेतिर नभई सहकारी विभाग र सहकारी अभियान बीच हातेमालो गरेर समाधान गर्नेतिर लाग्नुपर्छ भन्नुभयो । साग काट्न बञ्चरो प्रयोग गरेर हुदैन , अनुहारमा धूलो लागो भने ऐना पुछेर हुदैन , अनुहारमा लागेको धूलो नै पुछ्नु पर्ने उहाँको भनाई थियो । कुनै पनि कानून भूत प्रभावी नहुने उहाँको कथन थियो । उहाँले मालपोतमा सहकारीको नाममा जग्गा दृष्टिबन्धक रोक्का लगायतका समस्या समाधान गर्न पहल गर्ने बताउनुभयो ।
सो अन्तर्क्रियाको अध्यक्षता गर्दै राष्ट्रिय सहकारी महासंघ लि. , नेपालका सञ्चालक तथा जिल्ला सहकारी संघ लि. , ललितपुरका अध्यक्ष माधव दुलालले
ललितपुरको सहकारी अभियान सन्दर्भ व्याजदरको विरोधी नभएपनि किन सहकारी सन्दर्भ व्याजदर ऋणमा १६ प्रतिशत नै लागू गर्नु प-यो र किन सुगम र दुगम क्षेत्रका सहकारीहरुमा एकै किसिमको सहकारी सन्दर्भ व्याजदर लागू गरियो भन्ने जिज्ञाशा र प्रश्न सहकारी क्षेत्रमा रहेको बताउनुभयो । उक्त अवसरमा स्वागत मन्तव्य व्यक्त गर्दै नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि. का केन्द्रीय सदस्य तथा ललितपुर बहुउद्देश्यीय सहकारी संघ लि. का अध्यक्ष शरदकुमार महर्जनले सहकारी सन्दर्भ व्याजदर ३ महिना परीक्षणको रुपमा लागू गरी त्यस अवधिमा आउने समस्यालाई निवारण गरी क्याप लगाउ पर्नेमा त्यसको उल्टो भएको बताउनुभयो । अन्तर्क्रियाको सञ्चालन गर्नु हुँदै राष्ट्रिय सहकारी बैंक लि. का सञ्चालक तथा ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष रामहरि बजगाईले सो अन्तर्क्रिया गर्नु पर्नाको आवश्यकताबारे प्रष्ट पार्नु भएको थियो । ललितपुरका सहकारी विद तथा सहकारीकर्मीहरुको उल्लेख्य सहभागिता रहेको
अन्तर्क्रिया कार्यक्रममा बोल्दै ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का नि:बर्तमान अध्यक्ष रामशरण घिमिरेले सहकारी सन्दर्भ व्याजदरको स्प्रेड दर ६ प्रतिशत रहने सहकारी ऐनमा व्यवस्था भए अनुसार भएपनि सरकारले सहकारीको व्याजदर तोक्ने नभई बजारले व्याजदर निर्धारण गर्ने व्यवस्था हुनुपर्ने बताउनुभयो । त्यसैगरी ललितपुरको त:ढोकास्थित मनासलु बहुउद्देश्यीय सहकारी संस्था लि. का अध्यक्ष राजेन्द्र पौडेलले ‘आफूले भारतदेखि संसारका धेरै देशहरुको सहकारीको अध्ययन गरेको बताउदै अहिले सहकारी सन्दर्भ व्याजदरले सहकारीको अस्तित्व संकटमा पर्छ । राष्ट्रिय सहकारी बैंक , नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि. , नेफ्स्कून लगायतले सहकारी संस्थाहरुमा ऋण लगानी गर्ने हुन् । तिनीहरुले प्रदान गरेको व्याजदरमा सहकारी संस्थाहरुले ऋण प्रवाह गर्न सक्तैन । सहकारी सन्दर्भ व्याजदर सहकारी संस्थालाई कर्जा प्रवाह गर्नेहरुका लागि मात्रै उपयुक्त छ भन्नुभयो । कुनै सहकारीले पद्दति अनुरुप काम गरेन भने उसलाई पद्दती अनुरुप काम गराउनु सहकारी संघहरुको दायित्व हो तर कुनै संस्थाले विधि र प्रक्रियागत ढंगबाट काम सकेन भनेर उसको फेसबुकमा स्ट्याटस राखेर व्यइजत गरेको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो । त्यस अवसरमा बोल्दै सुप्रिम बचत तथा ऋण सहकारी संस्था लि. महालक्ष्मीस्थानकी वरिष्ठ प्रवन्धक समिना खनालले सहकारीमा बचतको व्याजदर तोक्नु पर्ने बताउनुभयो । मालपोत कार्यालयले सहकारीको नाममा जग्गाको रोक्का या दृष्टिबन्धक नगरी दिनाले समस्या परेकोले त्यसको समाधान हुनुपर्ने उहाँको भनाई थियो ।
त्यस अवसरमा स्रर्बो त्म सहकारी संस्था लि. का प्रवन्धक सुमन राई , विनायक बचत तथा ऋण सहकारी संस्था लि. नख्खुका प्रवन्धक श्याम रिजाल , सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि. का सुशिल आचार्य , समुदाय बहुउद्देश्यीय सहकारी संस्था लि. का पुरुषोत्तम पोखरेल र अभिमन्यु को-अपरेटिभ लि. का प्रतिनिधिले सहकारी सन्दर्भ व्याजदर निर्धरण हुनुभन्दा अगाडि लगानी गरेको ऋणको अबस्थाप्रति चिन्ता जाहेर गर्दै सहकारी सन्दर्भ व्याजदर प्रति असन्तुष्टि व्यक्त गर्नुभयो ।
त्यस अवसरमा राष्ट्रिय सहकारी महासंघ लि. का संस्थापक अध्यक्ष दीपकप्रकाश बास्कोटा , सो महासंघकी उपाध्यक्ष ओमदेवी मल्ल , उक्त महासंघका वरिष्ठ सञ्चालक तथा नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि. का अध्यक्ष सुरेन्द्र भण्डारीको उपस्थित थियो ।