साउन १९ गतेबाट लागू गरिएको सहकारी सन्दर्भ व्याजदरप्रति काठमाडौं र भक्तपुरका सहकारीकर्मीहरुको असन्तुष्टि

0 Shares

सहकारी विभागका रजिष्टार डा.टोकराज पाण्डे नेतृत्वको सहकारी सन्दर्भ व्याजदर निर्धारण समितिले यही श्रावण १९ गतेदेखि सहकारीमा  ऋण लगानीमा अधिकतम व्याजदर १६ प्रतिशत सीमा निर्धारण गरी लागू गरेको सहकारी सन्दर्भ व्याजदरप्रति काठमाडौं र भक्तपुरका सहकारीकर्मीहरुले असहमति व्यक्त गरेका छन् । सो विषयमा भक्तपुरमा हिजो आयोजित अन्तर्क्रिया कार्यक्रममा भक्तपुरका सहकारीकर्मीहरुले उक्त सहकारी सन्दर्भ व्याजदरले सहकारी संस्था सञ्चालन गर्न गाह्रो पर्ने र यो सहकारीको सिद्धान्तमाथि प्रहार गरिएकोले यसको पुनरावलोकन गर्नु पर्नेमा जोड दिएको भक्तपुरबाट प्राप्त खबरमा जनाइएको छ ।

उता यही साउन २३ गते जिल्ला सहकारी संघ लि. , काठमाडौं , काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ लि.(कास्कून) र काठमाडौं बहुउद्देश्यीय सहकारी संघ लि. को आयोजनामा बानेश्वर ब्याङ्क्वेट , थापागाउँ , काठमाडौंमा सम्पन्न ‘सहकारीको स्वायत्तता र स्वतन्त्रतामा सन्दर्भ व्याजदर’ विषयक अन्तर्क्रिया कार्यक्रममा सहभागी सहकारीकर्मीहरुले सहकारीलाई निरुत्साहित गर्ने गरी सहकारी सन्दर्भ व्याजदर  लागु गरेर राज्यले सहकारी क्षेत्रमाथि ठाडो हस्तक्षेप गरेको भन्दै त्यसको विरोध गरेका थिए । त्यहाँ उपस्थित अधिकांश सहभागीहरुले सहकारी कर्जाको ब्याजदरमाा १६ प्रतिशतको सीमाले सहकारी संस्था सञ्चालन गर्न कठिन हुने मात्रै नभई यसले सहकारीको स्वायत्तता र स्वतन्त्रता हनन् भएको  भन्दै सहकारी अभियानका तर्फबाट गएका ब्याजदर निर्धारण समितिका सदस्यहरुप्रति आक्रोश व्यक्त गरेका थिए । सहकारी विभागले सहकारी ऐन तथा नियमावलीमा व्यवस्था भएका कर्जा सूचना केन्द्र , कालो सूची , ऋण असुली न्यायाधिकरण जस्ता विषयलाई लागु गर्नुको सट्टा सहकारी सन्दर्भ व्याजदरलाई प्राथमिकता दिनुले आशंका जन्मिएको सहकारीकर्मी भनाई थियो ।

त्यस अवसरमा सहभागीहरुको प्रश्नको जवाफ दिनु हुदै राष्ट्रिय सहकारी महासंघ लि. , नेपालका वरिष्ठ उपाध्यक्ष मीनराज कँडेलले राष्ट्रिय सहकारी महासंघ लि.ले १७.५ प्रतिशतको कर्जा लगानीमा सहकारी ऐन तथा नियमावलीको व्यवस्था जस्ता विषयले कर्जा लगानीमा १६ प्रतिशतभन्दा माथि जान नसकेको बताउदै  ‘क’    श्रेणीका बाणिज्य बैंक , विकास बैंक , फाइनान्स , राष्ट्रिय सहकारी बैंक , लघुवित्त , नेफ्स्कून र नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ , राष्ट्रिय सहकारी बैंकको व्याजदरलाई आधार मानेर सहकारी संस्थाहरुलाई व्यवस्थित गर्न सहकारी सन्दर्भ व्याजदर तय गरिएको हो भन्नुभयो ।

सो अवसरमा बोल्दै राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष के.बी. उप्रेतीले सहकारी सन्दर्भ व्याजदरको कार्यान्वयन तत्काल नभई क्रमैसँग गर्दै जानुपर्छ भन्ने आफ्नो सुझाव बेवास्ता गरिएको बताउनुभयो ।

सो कार्यक्रममा बोल्दै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून)का अध्यक्ष डी.बी. बस्नेतले सहकारी ऐन , २०७४ र नियमावली , २०७५ मा रहेका कमी कमजोरीका सन्दर्भमा सहकारीकर्मीहरुको आवाजलाई लिएर सम्बन्धित निकायमा घच्घच्याउने प्रतिबद्धता ब्यक्त गर्नुभयो । उहाँले सहकारी सन्दर्भ व्याजदर निर्धारण समितिमा सहकारी अभियानको प्रतिनिधित्व अल्पमतमा रहेको बताउदै  सन्दर्भ ब्याजदर निर्धारण गर्दा बचत तथा ऋण र बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ ,राष्ट्रिय सहकारी बैंक र वाणिज्य बैंकहरुको समग्र औसत व्याजदर १४.७२ मात्रै निस्किएको र आधार व्याजदरका लागि सहकारी संस्थाहरुबाट रिफरेन्स लिइएका अधिकांश संस्थाले १४/१५ प्रतिशत व्याजदरमा ऋण लगानी गरेको देखिएकोले त्यसैलाई आधारमा  मानेर  सहकारी सन्दर्भ व्याजदरको सहकारी कर्जा लगानीमा १६ प्रतिशत ब्याजदरको अधिकतम सीमा निर्धारण गरिएको र सहकारी ऐन   नियमावलीमा भएको व्यवस्था अनुरुप स्प्रेड दर ६ प्रतिशत रहेको बताउनुभयो । यो व्याजदर लागू हुनुभन्दा पहिले सहकारीमा जम्मा भएको निक्षेप र  लगानी गरेको ऋणका चुक्ता नभएसम्म पुरानै दर कायम हुनुपर्नेमा आफू प्रतिबद्ध रहेको उहाँको भनाई थियो । त्यसैगरी नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी  संघ लि. का अध्यक्ष सुरेन्द्र भण्डारीले सबै सहकारी संघहरुको सुझावका लगायतका विषय ,  ऐन र नियमावलीलाई आधार मानेर सहकारीलाई व्यवस्थित गर्ने उद्देश्यले सहकारी सन्दर्भ व्याजदर  निर्धारण गरिएको र यसको कार्यान्यन्काव्यनका क्रममा समस्या आएछ भने त्यसलाई समाधान गर्नुपर्छ भन्ने पक्षमा आफू रहेको   बताउनुभयो । त्यस अवसरमा सहकारी विभागका भूतपूर्व रजिष्टार सुदर्शनप्रसाद ढकालले ‘सहकारीको स्वायत्तता र स्वतन्त्रतामा सन्दर्भ व्याजदर’ विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको  थियो ।

कार्यक्रमको अध्यक्षता गर्नु हुँदै  जिल्ला सहकारी संघ लि. , काठमाडौंका अध्यक्ष टेकप्रसाद चौलागाईंलेयो सन्दर्भ व्याजदरले सहकारीका ७ सिद्धान्त मध्येको चौथो सिद्धान्त स्वायत्तताको माथि हमला गरेकोले यसप्रति आफ्नो असहमती रहेको बताउनुभयो । उहाँले आफू सहकारी संस्थाले कर्जा लगानीमा २५/२६ प्रतिशत व्याजदर लिन पाउनुपर्छ भन्ने पक्षमा नरहेको बताउदै अहिले लागू गरिएको सहकारी सन्दर्भ व्याजदरको कर्जा लगानी १६ प्रतिशतको अधिकतम सीमाले सहकारी संस्था सञ्चालन हुन गाह्रो हुने बताउनुभयो । जिल्ला सहकारी संघ लि. , काठमाडौंका महासचिव खेम सुवेदीले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा  स्वागत मन्तब्य व्यक्त गर्दै काठमाडौं  बहुउद्देश्यीय सहकारी संघ लि. का अध्यक्ष मनोज थापाले सहकारीकर्मीलाई निरुत्साहित गर्ने गरी सन्दर्भ व्याजदर लागू गरिदा सहकारी संस्थाहरुका सामू समस्या आएकोले त्यसलाई सबै सहकारीकर्मीहरु एक ढिक्का भएर सामना गरे मात्रै समस्याको समाधान हुन्छ भन्नुभयो । कार्यक्रममा सहकारीकर्मीहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष बस्नेतले सहकारी अभियान अल्पमतमा परेको भन्ने भनाईको सहभागीहरुले प्रतिवाद गर्दै सहकारी अभियानका प्रतिनिधिहरुले सहकारी सन्दर्भ व्याजदर निर्धारण गर्ने निर्णयमा हस्ताक्षर नगरेको भए हुन्थ्यो भने । सहकारी व्याजदर निर्धारण गरेको भोलिपल्टैबाट त्यसलाई लागू गरिएकोप्रति पनि उनीहरुले तीव्र असन्तुष्टि व्यक्त गरे । ‘सहकारी अभियानका प्रतिनिधिहरुले कतै अन्य वित्तीय संस्थाहरुबाट पैसा खाएर त्यसमा हस्ताक्षर  गरेका त होइनन् ? यसमा शंका जन्मिएको भन्दै’ सहभागीहरुले आक्रोस पोखेका थिए ।

 

Leave a Reply