जिल्ला सहकारी संघ लि. , भक्तपुरले गरिवी विवरण कोष स्थापना गरी कार्यान्वयन गरिरहेको छ

0 Shares

– केदार खड्का , उपाध्यक्ष , जिल्ला सहकारी संघ लि. , भक्तपुर तथा अध्यक्ष , लोहकिल्थली सहकारी संस्था लि. , लोहकिल्थली , भक्तपुर

 

१. यतिबेला लोहकिल्थली सहकारी संस्था लि.  को गतिविधिहरु के छन् ?

~ आर्थिक वर्ष २०७६/०७७ को शुरुवात भएकोले लोहकिल्थली सहकारी संस्था लि. ले आफ्नो नीति तथा कार्यक्रम बनाइरहेको छ । गत आर्थिक वर्ष यस संस्थाले सामाजिक क्षेत्रमा विशेष गरी जेष्ठ नागरिक स्वास्थ्य सम्बन्धी गोष्ठी सञ्चालन ग-यो भने  जेष्ठ नागरिकहरुको खानपान तथा आध्यात्मिक जीवन सम्बन्धी जन-चेतनामूलक कार्यक्रम ग-यो । साथै यसले स्थानीय विस्केट जात्रामा पानी वितरण  र सरसफाई कार्यक्रम गरेको थियो ।

सदस्यहरुको सुविधाको लागि यसले आफ्नो अफिसको भौतिक सुधार गरी अफिसलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने काम गर्दै छ ।  यसका साथै यसले सदस्यहरुको हीतको लागि वीमा सुविधा लगायत अन्य वित्तीय गतिविधिहरु गर्दै आएको छ ।

२. लोककिल्थली सहकारी संस्था लि. को कहाँ  कति शेयर छ नि ?

~ यस संस्थाको जिल्ला सहकारी संघ लि. , भक्तपुरमा रु. १० हजार , नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि. मा रु. ७५ हजार , भक्तपुर बहुउद्देश्यीय संघ लि. मा रु. ३ हजार र राष्ट्रिय सहकारी बैंक लि. मा रु. २ लाख ५० हजार शेयर रहेको छ ।

३. मानिसहरुले लोहकिल्थली सहकारी संस्था लि. मा सदस्य किन बन्ने ?

~ यो संस्था नेपाल सरकारले बनाएको सहकारी ऐन , नियम , निर्देशन र  आफ्नो विनियम अनुसार चलेको छ । यस संस्थामा सबैजना स्थानीय क्षेत्रमा समाज सेवा गरेका इमान्दार एवम् सक्षम सदस्यहरु हुनुहुन्छ । यो संस्था पूर्ण रुपमा समुदायमा आधारित संस्था हो । यो संस्थाले सदस्यहरुको हीत हुने विभिध कार्यक्रमहरु तथा वीमा सुविधा लगायतका विभिन्न सुविधाहरु प्रदान गर्दै आएको छ र सदस्यहरुलाई लगानीको राम्रो प्रतिफल दिन सफल भएको छ । यस संस्थाले विभिन्न किसिमका रेमिट सेवा प्रदान गर्नुका साथै सिष्टम अनुसार आफ्ना सदस्यहरुको विजुली , टेलिफोन , खानेपानी आदिको विल भुक्तानी गरिदिने व्यवस्था पनि गरेको छ ।

४. लोहकिल्थली सहकारी संस्था लि. को आगामी कार्यक्रम के छ ?

~ पहिले यस संस्थाको विनियम संशोधन को साथमा वार्षिक साधारणसभा गर्ने र त्यसपछि सहकारी एन , नियम र सम्पति शुद्धिकरण सम्बन्धी गोष्ठि आयोजना गर्ने , कर्मचारीहरुको स्तर उन्नतिको लागि तालिमको व्यवस्था गर्ने , सफल सहकारीहरुको अवलोकन भ्रमण गर्ने ,  विभिन्न सामाजिक कार्यक्रम गर्ने लगायतका विभिन्न वार्षिक कार्यक्रमहरु बनाएर तिनको सञ्चालन गर्ने छौँ ।

५. जिल्ला सहकारी संघ लि. , भक्तपुरको गतिविधि र आगामी कार्यक्रम के छ ?

~ जिल्ला सहकारी संघ लि. , भक्तपुरले अहिले रासायनिक मलखादको विक्री वितरण कार्य गर्दै आएको छ । यसले सुफथ मुल्यमा स्नटेशरी सामाग्री विक्री पनि गर्ने गरेको छ । नेपालमा पहिलो पटक जिल्ला सहकारी संघ लि. , भक्तपुरमा गरिवी निवारण कोषको स्थापना गरी कार्यान्वयन गरिरहेको छ । आर्थिक अवस्था कमजोर भएका तर केही गर्ने इच्छा भएका व्यक्तिलाई त्यो कोषबाट २ प्रतिशत व्याजमा ऋण लगानी गर्दै आएका छौँ । आर्थिक वर्ष २०७६/०७७ को कार्यक्रम बनाएर यस संघको वार्षिक साधारणसभाबाट पास गराई अन्य किसिमका कार्यहरु गर्ने हाम्रो योजना छ ।

६. सरकारले बहुउद्देश्यीय तथा विषयगत सहकारी संस्थाहरुले २०७७ असोजसम्ममा दर्ता हुँदाको अवस्था अनुरुप ७० प्रतिशत कार्य र बचत तथा ऋण कारोवार ३० प्रतिशत गर्नुपर्छ भनेको छ । यसबारे तपाई के भन्नुहुन्छ ? बहुउद्देश्यीय र विषयगत सहकारी संस्थाहरुका लागि सरकारले के गर्दा राम्रो हुने देख्नुहुन्छ ?

~ सरकारले ल्याएको नीति अत्यन्त राम्रो छ तर अरुको हेरेर हाम्रो देशमा त्यस्तै नीति ल्याउदा अरु देशका सरकारले सहकारीलाई कस्तो सहयोग र सुविधा दिएका छन् भन्ने विषयमा ध्यान दिनु  जरुरी छ । यतिबेला सरकारले भने अनुरुप बहुउद्देश्यीय  र विषयगत सहकारी संस्थाहरुले आफ्नो उद्देश्य अनुसार काम गर्न सक्छन  त ? त्यो अवस्था छैन । त्यो काम गर्ने वातावरण मिलाई सहकारीको उत्पादनलाई बजारीकरण गर्ने व्यवस्था पनि त गर्नु प-यो नि ! एउटा व्यापारीले ठूलो रकम लगानी गरेर काम गर्ने स्थानमा एउटा सहकारीले त्यो व्यापारीसँग कसरी प्रतिस्पर्धा गर्न सक्दछ ? जनताको रकम सुरक्षित हुने गरी सरकारले उचित वातावरण बनाएमा सहकारीहरुले उत्पादन र विक्री वितरण गर्न सक्नेछन् ।

७. राष्ट्रिय सहकारी बैंक लि. कसरी अगाडि बढ्दा सहकारी संस्था मैत्री हुन्छ जस्तो लाग्छ तपाईलाई ?

~ राष्ट्रिय सहकारी बैंक लि. ले सहकारी संस्थाले राखेको बचतमा अरु बैंकहरुको भन्दा बढी व्याज दिनु पर्दछ । यसले धेरै रकम बचत गर्ने सहकारी संस्थासम्म सो बचत रकम लिन जाने व्यवस्था गर्ने , बेलुका  ढिलासम्म बचत रकम बुझ्ने व्यवस्था गर्ने  , विभिन्न किसिमको वीमाको व्यवस्था गर्ने र ऋण लगानीमा अलि सरलीकरण गर्नु पर्दछ । समय समयमा तालिम तथा गोष्ठि गरेमा राष्ट्रिय सहकारी बैंक लि. सहकारीमैत्री हुन्छ जस्तो लाग्छ मलाई ।

८. सहकारी ऐन /नियमावली के भन्नुहुन्छ नि ?

~ केही सानतिना कमी कमजोरी बाहेक अरु सबै राम्रो नै छ । सहकारी ऐन तथा नियमावलीका कमीकमजोरी सच्याएर सरकारले सहकारी ऐन /नियमावली प्रभावकारी ढंगबाट लागु गर्नु पर्दछ । ऐन/नियमावली जति राम्रो भए पनि तिनको कार्यान्वयन कमजोर भएमा केही हुदैन ।

९. सहकारी आन्दोलनबारे तपाईको दृष्टिकोण के छ ?

~ सहकारी क्षेत्र अहिले केही अन्यौलको अवस्थामा छ। अहिले सहकारी संघ/संस्थालाई कार्यक्षेत्रको आधारमा राज्यको संघीय ढाँचा अनुरुप संघ , प्रदेश र स्थानीय तह अन्तर्गत राखेको छ । स्थानीय तहले सहकारीलाई आफ्नो प्राथमितामा राखेको छैन । जसले गर्दा सहकारीमा अन्यौलको वातावरण छ ।

१०. कोपोमिस कार्यक्रमबारे तपाईको भनाई के छ ?

~ कोपोमिस कार्यक्रमबारे मलाई खासै जानकारी छैन ।

११. अन्तमा केही भन्नु छ कि ?

~ सरकारले सहकारी संघ/संस्थाहरुलाई हेर्ने दृष्टिकोण सच्याउनु पर्दछ । ऐन नियम अनुसार राम्रो काम गर्नेलाई पुरस्कार र नराम्रो गर्नेलाई दण्डको व्यवस्था हुनुपर्दछ । स्थानीय तहबाट सहकारीलाई सकारात्मक सहयोग हुनु जरुरी छ ।

 

 

 

Leave a Reply