नेफ्स्कूनले सरकार समक्ष छुट्टै साकोस ऐनको आवश्यकता महसुस गरी नमुना विनियम बुझाएको छ

-डी.बी. बस्नेत , अध्यक्ष , नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून)
देशभरका वित्तीय कारोवार गर्ने सहकारी संघ/ संस्थाहरुको केन्द्रीय संघको रुपमा रहेको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून)ले बचत तथा ऋण सहकारी संस्थाहरुको लागि छुट्टै ‘साकोस ऐन’ निर्माणका लागि दवावमूलक गतिविधि गरिरहेको बताएको छ । ३८ सय बचत तथा ऋण सहकारी संस्थाहरु सदस्य रहेको नेफ्स्कून यही साउन ३२ गते आफ्नो ३२ औँ स्थापना दिवस मनाउने तयारी गरिरहेको छ । नेफ्स्कूनको स्थापना दिवस लगायतका विषयमा नेफ्स्कूनका अध्यक्ष डी.बी. बस्नेतसँग सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीले छोटो कुराकानी गर्नु भएको छ । जो यस प्रकार छ ।
१. यतिबेला नेफ्स्कूनको गतिविधि के छ ?
~ नेफ्स्कून भनेको वित्तीय कारोवार गर्ने सहकारीहरुको केन्द्रीय संघ हो । नेफ्स्कून वित्तीय कारोवार गर्ने सहकारी संस्थाहरुको संस्थागत विकासको लागि नीति , विधि र प्रविधिको विकासमा योगदान पु-याउउछ , आफ्ना वित्तीय सहकारी संस्थाहरुका लागि सरकारसँग लविङ्ग तथा पैरवीको काम गर्दछ र वित्तीय कारोवार गर्ने अन्तर्राष्ट्रिय सफल टुल्सहरु नेपालमा ल्याएर आफ्ना सदस्यहरुलाई दिन्छ ।
२. नेफ्स्कूनले आफ्नो ३२औँ स्थापन दिवस कसरी मनाउदै छ नि ?
~ नेफ्स्कून आफ्नो ३२ औँ स्थापना दिवस मनाउदै छ । २०४५ साल साउन ३२ गते स्थापना भएको नेफ्स्कून आजको दिनसम्म आईपुग्दा एउटा परिपक्व संस्थाको रुपमा स्थापित भएको छ । यसलाई यहाँसम्म ल्याइपु-याउन हाम्रा पूर्वजहरुले गर्नु भएको योगदान महत्वपूर्ण छ । उहाँहरुले बनाई दिएको बाटोमा नेफ्स्कून अनवरत हिँडिरहेको हुनाले यो एउटा परिपक्व संस्थाको रुपमा स्थापित भएको छ।
नेफ्स्कूनले आफ्नो ३२औँ स्थापना दिवस देशभरीका सबै फिल्ड अफिस मार्फत २६ ठाउँमा एकै साथ मनाउदै छ । यो स्थापना दिवसमा नेफ्स्कूनको गतिविधिहरुको जानकारी गराउने र आगामी कार्यक्रमहरूको सन्दर्भमा सदस्यहरु बीच छलफल गराउने कार्य गरिने छ ।
३. नेफ्स्कूनले बचत तथा ऋण सहकारीको लागि छुट्टै ऐनको माग गरिरहेको भन्ने सुनिन्छ नि ?
~ नेफ्स्कूनले बचत तथा ऋण सहकारीहरुको लागि छुट्टै ‘साकोस ऐन’को आवश्यकता महसुस गरी सरकार समक्ष यसको नमुना विनियम बुझाएको छ । यो ‘साकोस ऐन’ जारी हुनेमा हामी आशावादी छौँ । भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्री पनि यसबारेमा सकारात्मक हुनुहुन्छ । सम्भवत: यो ‘साकोस ऐन’ जारी होला ।
४. ‘साकोस ऐन’मा केलाई प्राथमिकता दिनु भएको छ नि ?
~ यो ‘साकोस ऐन’मा वित्तीय सहकारी संस्थाहरु कसरी सञ्चालन हुने , सुशासनमा कसरी बस्ने , बढी भन्दा बढी सदस्यहरुलाई कसरी सेवा पु-याउने र उत्पादनको काममा कसरी जोड्ने ? भन्ने जस्ता विषयहरु यो ‘साकोस ऐन’को ड्राफ्टमा उल्लेख गरिएको छ ।
५. नेफ्स्कूनको यो स्थिरीकरण कोषको मस्यौदाबारे बताई दिनुहुन्छ कि ?
~ नेफ्स्कूनको स्थिरीकरण कोष सञ्चालक समितिको बैठक दुई चरण गरी स्थिरीकरण कोषको कार्यविधिको मस्यौदा बनाएर भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्रालयमा पेश गरिएको छ । यो स्वीकृत भएर आएपछि यसको कार्यान्वयन गरिने छ ।
६. स्थिरीकरण कोषको मुख्य उद्देश्य के हो ?
~ यो स्थिरीकरण कोषको मुख्य उद्देश्य भनेको वित्तीय सहकारीमा वित्तीय तरलता व्यवस्थापन गर्ने , वित्तीय रुपमा समस्यामा परेका बचत तथा ऋण सहकारीहरुलाई सहयोग पु-याउने र बचतकर्ता सदस्यहरुलाई बचत तथा ऋण सहकारी संस्थाहरुमा कारोवार गर्दा जोखिम छैन भन्ने ज्ञारेण्टी गर्ने हो ।
७. यही साउन २१ गतेदेखि लागू गरिएको सहकारी सन्दर्भ व्याजदरबारे तपाईको भनाई के हो ?
~ सहकारी सन्दर्भ व्याजदर बचत तथा ऋण कारोवार गर्ने सहकारी संस्थाहरुको ऋणमा लिने व्याजलाई बजारमा जुन एकरुपता दिइएन , त्यसलाई एकरुपता गर्ने गरी आएको हो । सहकारी संस्थाहरुमा लागु गरिएको यो कार्यक्रम सहकारी संस्थाहरुको सुझावको आधारमा बेला बेलामा थपघट र परिवर्तन हुने कानुनी व्यवस्था रहेको छ ।
८.यो सहकारी सन्दर्भ व्याजदरको सहकारी क्षेत्रमा विरोध भइरहेको पनि देखिन्छ नि ?
~ नेपालको सहकारी इतिहासमा पहिलो पटक लागू गरिएको सहकारी सन्दर्भ व्याजदर यतिबेला कार्यान्वयन हुदैछ । तीन महिनापछि यसको समीक्षा हुनेछ । यसको कार्यान्वयनको क्रममा समस्या देखिएमा समस्या निवारणको पहल गरिने छ । सहकारी विभागका रजिष्टार सहित सहकारी सन्दर्भ व्याजदर निर्धारण समितिका सदस्यहरु पनि सो विषयमा सकारात्मक देखिनु भएको छ । त्यसैले सबै सहकारीकर्मीहरु यसको कार्यान्वयनमा लाग्नु पर्दछ ।
९. सहकारी कर्जा सूचना केन्द्र स्थापना गर्ने विषयमा नेफ्स्कूनले कुनै पहल गर्दै छ कि ?
~ सहकारी कर्जा सूचना केन्द्र विशिष्टिकृत सहकारी बनाएर स्थापना गरिने छ ।
१०. कोपोमिस कार्यक्रमबारे तपाईको के भनाई छ ?
~ टेक्निकल्ली जुन खालको बजारमा यो कोपोमिसको माग छ , यो त्यो खाले भायोवल भएन । सरकारद्वारा ल्याइएको हुनाले सहकारीहरुले कोपोमिसलाई पूर्ण रुपमा लागू गर्दैछन् ।
११. अन्तमा केही भन्नु छ कि ?
~ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को ३२औँ स्थापना दिवसको अवसरमा देशभरका सम्पूर्ण सहकारी संघ/ संस्थाहरु तथा सहकारीकर्मीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।