चन्द्रपुर नगर क्षेत्रमा सञ्चालनमा रहेका सहकारी संस्थाहरुलाई प्रविधिमैत्री बनाउन प्रयत्न गरिरहेको छु

0 Shares

-विभुकुमार पोखरेल , उपाध्यक्ष , रौतहट जिल्ला बचत तथा ऋण सहकारी संघ लि. तथा अध्यक्ष , संकल्प बचत तथा ऋण सहकारी संस्था लि. , चन्द्रनिगाहपुर , रौतहट

 

समाजमा छरिएर रहेको स–सानो पुँजीलाई संकलन गरी सदस्यहरुको सामाजिक , आर्थिक तथा सांस्कृतिक आवश्यकता पूरा गर्ने उद्देश्यले २०६५/०९/२१देखि १११ जना शेयर सदस्यहरुबाट रु.३१ लाखबाट कारोबार सञ्चालन शुरु गरेको रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकाको चन्द्रनिगाहापुरमा बजारमा अवस्थित रहेको संकल्प बचत तथा ऋण सहकारी संस्था लि.ले हालसम्म आईपुग्दा उल्लेख्य मात्रामा शेयर पूँजी, कारोबार र सदस्य संख्या बृद्धि गर्नुका साथै आफ्नो भवनबाट सदस्यहरुलाई सेवा प्रदान  गरिरहेको छ । यसै विषयमा नेफ्स्कून हरिवन फिल्ड कार्यालय व्यवस्थापन उप-समितिका सदस्य तथा रौतहट जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का उपाध्यक्ष एवम् संकल्प बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष विभुकुमार पोखरेलसँग सहकारी सञ्जालका प्रकाशक /कार्यकारी सम्पादक कृष्णप्रसाद ढुंगेलल कुराकानी गर्नु भएको थियोो । जो यस प्रकार छ ।

१.  सहकारी क्षेत्रमा प्रवेश गर्नु भएको कति भयो ?

~ म सहकारी क्षेत्रमा प्रवेश गरेको एक दशक भयो । मैले  सहकारीको बारेमा सोधखोज र चर्चा  परिचर्चा २०५५/०५६ सालदेखि गर्ने गरेको भएता पनि म औपचारिक रुपमा भने यस क्षेत्रमा २०६५ सालदेखि सक्रिय छु ।

२.  यो क्षेत्रमा तपाईको प्रवेश किन र कसरी भयो र तपाईले यस क्षेत्रलाई किन रोज्नु भयो ?

~खास गरिकन अध्ययन सकेर घर फर्केपछि म गाउँ मै शिक्षण कार्यमा संलग्न भएँँ । यहाँ रहदा साथीहरु वीचमा अनेकन विषयमा छलफल हुने गर्दथ्यो । म लगायत धेरै साथीहरु वीच समाजमा केही देखिने गरी योगदान गर्नुपर्छ भन्ने मान्यतामा छलफल हुन्थ्यो । त्यस्तै अनेकन क्षेत्रहरुमध्ये सहकारी उपयुक्त क्षेत्र हो भन्ने कुरामा कसैको विमती रहेन र प्रत्यक्ष रुपमा समाजसँग जोडिएर कार्य गर्न पाइने हुनाले पनि यस क्षेत्रमा संलग्न हुन उत्साहित भएर नै संकल्प बचत तथा ऋण सहकारी संस्था लि. दर्ता गरेर सहकारी क्षेत्रतर्फको यात्रा तय गरियो ।

यो क्षेत्रलाई नै रोज्नुको कारण यो क्षेत्र विवाद र विभेध रहित निकाय भएकोले नै हो । यो क्षेत्रमा राजनैतिक चलखेल , जात , धर्म,  पेशा,  लिङ्ग , भूगोल आदिको आधारमा विवेध नहुने र साझा छातामुनि गोलबद्ध हुने हुनाले पनि यस क्षेत्रलाई मैले रोजेको हुँ ।

३. अन्य कुन – कुन क्षेत्रमा तपाईको अनुभव छ ?

~अनुभवकै कुरा गर्दा मसँग त्यस्तो उल्लेख नै गर्नु पर्ने अनुभव र योगदान त छैन तर पनि एक दशक शिक्षण क्षेत्रमा संलग्नता जनाएको र हालसम्म पनि प्रत्यक्ष अप्रत्यक्ष यस क्षेत्रसँग जोडिएकोले शिक्षा क्षेत्रसँगको केही अनुभव छ भने पछिल्लो २/३ वर्षदेखि मानव अधिकार तथा शान्ति समाज , नेपालसँग जोडिएर मानव अधिकारको क्षेत्रमा आफूलाई उभ्याउने प्रयत्न गरेको छु । खास गरिकन राजनैतिक जोड घटाउ भन्दा बाहिरका सामाजिक क्षेत्रहरुमा नै म रमाउन चाहान्छु ।

४. अन्य क्षेत्रसँग सहकारीलाई तपाई कसरी तुलना गर्नु हुन्छ नि ?
~ सहकारीको अन्य क्षेत्रसँग तुलना हुनै सक्दैन । नेपाल मात्र होइन , विश्वमा नै सहकारीको छुट्टै इतिहास र स्थान छ । विवाद र विभेधरहित ढंगबाट सहकारीले कार्य गर्छ । यो सदस्यहरुको आर्थिक , सामाजिक तथा सांस्कृतिक आवश्यकताहरु पूरा गर्न हरपल प्रयत्नशील रहन्छ । समाजका अन्य धेरै इकाईहरु छन् , जुन विभेध रहित ढंगबाट सञ्चालन हुन सकेका छैनन् तर सहकारीको छाता सबैको लागि समान र न्यायोचित छ । समाजका सदस्यहरुलाई खण्डीकरणको साटो एकतातर्फ लैजाने , सहयोग र सहकार्यलाई आफनो आदर्श मान्ने हुनाले पनि विश्वमा नै सहकारीलाई समाजका अन्य क्षेत्रभन्दा फरक दृष्टिकोणले हेर्ने गरिन्छ ।

५. सहकारी क्षेत्रमा के कस्तो सम्भावना तथा भविष्य देख्नु हुन्छ ?

~ नेपालमा सहकारी विकासको प्रारम्भिक दिनहरुमा यसलाई सानो आँखाबाट सिमित स्रोत साधनको प्रयोग गर्न र न्युन आवश्यकता पूरा गर्ने साधनको रुपमा व्याख्या गरिएको हामी यदाकदा पाउछौँ तर समय क्रमसँगै यसका दायरा तथा हाम्रो बुझाईमा निकै फरकपना आई सकेको छ । आज सहकारीले साना तथा मझौला खालका उत्पादनमा मात्र सिमित नरही ठूला- ठूला कार्यहरु गर्न सक्छन,  ठूला- ठूला उद्योग धन्दा, कलकारखाना र व्यापार व्यवसाय गर्न सक्छन् भन्ने उदाहरण विश्वका धेरै देशहरुका सहकारीले प्रमाणीत गरी सकेका छन् । विश्वमा यस्ता देश पनि छन् , जहाँ सहकारीबाट राज्यले आन्तरिक ऋण लिन्छ  । जस्तो हाम्रो देशमा राज्यले संञ्चय कोष तथा नागरिक लागानी कोषबाट आन्तरिक ऋण लिन्छ । उत्पादनका धेरै क्षेत्रहरुमा सहकारीले आफनो पहुँच वढाउन सक्छ । यो दिशातर्फ अघि बढ्न हाम्रो सहकारी ऐन , २०७४ तथा सहकारी नियमावली ,२०७५ ले पनि अलि सहज बनाएको छ । सहकारी ऐन , २०७४ को परिच्छेद २ को दफा ९ मा विशिष्टिकृत सहकारी संघको गठनको व्यवस्था गरेको छ । यो व्यवस्थाबाट जलविद्युत आयोजना , रासायनिक मल कारखाना , आवसीय परियोजना , यातायात , भारी कृषि उपकरण , फलफुल प्रशोधन , जडिबुटी प्रशोधन , चिनी उद्योग , शीत भण्डार , अस्पताल , शिक्षालय आदिमा लगानी गरेर बस्तु तथा सेवाको परिपूर्ति गर्न सक्नेछ र यो पूर्ण रुपले व्यवसायिक संस्था हुनेछ भनेर व्यवस्था गरिनुले पनि सहकारीमा काम गर्ने प्रचुर सम्भावना तथा सुदूर भविष्य रहेको कुरालाई कसैले टार्न सक्दैन ।

६. तपाईले अनुभव गर्नु भएका सहकारीका मुख्य समस्याहरु के हुन  ?

~मेरो विचारमा सहकारीका समस्याहरुलाई आन्तरिक र बाह्य ढंगबाट विश्लेषण गरिनुपर्छ जस्तो लाग्छ । आन्तरिक रुपमा सहकारीको मूल्य , मान्यता र मर्म अनुसार सदस्यलाई शिक्षित र सुदृढ गर्न नसक्नु ,  सहकारी र बैंक वीचको भिन्नताको विषयमा सदस्यलाई तालिम नदिइनु । त्यस्तै अस्वस्थ प्रतिस्पर्धा , एकरुपता प्रणाली , साख सूचना आदान प्रदान प्रणालीलाई कार्यन्वयनमा ल्याउन नसक्नु आन्तरिक रुपमा रहेका समस्या हुन भने बाह्य रुपमा स्थानीय ऐनको तर्जुमा नभएर सहकारीको अनुगमन तथा नियमनको अभावमा सृजित भएका समस्याहरु हुन् ।  तिनै आज सहकारीका मूलभूत समस्याहरु हुन् ।

७   सरकारी निकायको सहयोग सहकारी क्षेत्रलाई कस्तो रहेको छ ?

~ सहकारी स्व–नियमनकारी निकाय भएता पनि लाखौ जनताको भविष्यसँग जोडिएको कारणले राज्यले आफनो दायित्व निर्वाह गर्नु पर्दछ । सहकारीका सरकारी निकायको रुपमा स्थानीय सरकार , प्रदेश सरकार तथा सहकारी विभागबाट आवश्यक सहयोग र मार्गनिर्देश गर्नु पर्ने हो तर अझै पनि हामी संक्रमण कालमा नै भएको आभास हुन्छ । सीप र दक्षता हासिल गर्नको लागि विभिन्न तालिम , गोष्ठि , अन्तर्क्रिया , भ्रमण , अनुगमन , ऐन तथा, नियमको पालना गराउने जस्ता कार्यमा सरकारी निकायहरु बेखबर जस्तै भएका छन् । राज्यको उपस्थिति बेला- बेलामा हुने र आवश्यक श्रोत साधन परिचालन गर्न र राज्यले परिकल्पना गरेको ‘सुखी नेपाली , संमृद्ध नेपाल’को परिकल्पना जो छ , सो प्राप्तीको लागि सहज हुन्छ ।

८. सरकार र सहकारीका निकायबाट तपाई कस्तो सहयोगको अपेक्षा  गर्नु हुन्छ ?

~ निश्चय नै सहकारीको एक विद्यार्थीै भएको कारणले राज्यबाट सहकारीलाई प्राविधिक सहयोग गर्नुपर्छ जस्तो लाग्छ । त्यस्तै अनुगमन र नियमन गरी आवश्यक सुझाव र मार्गनिर्देश गर्नुपर्छ । त्यसैगरी विभिन्न तालिमहरु – सीपमूलक तथा प्रशासनिक र लेखा व्यवस्थापन वा स्वरोजगार निर्माण तर्फ उन्मुख गराउने किन नहोस , सो तर्फ ध्यान दिनु पर्छ । नेपालमा करिब ३४ हजार सहकारी छन् । ती के कसरी सञ्चालन भएका छन्  ? तीमध्ये कति सक्रिय छन्  ? कतिले वार्षिक साधारण सभा तथा लेखा परिक्षण गराएका छन् ? सोको जानकारी तथा लेखाजोखा राज्यद्वारा गरिनुपर्छ । गलत ढंगबाट सञ्चालित सहकारीलाई कानुनी कार्बाही गरिनुपर्छ र राज्यको उपस्थिति सहकारीमा हुनुपर्छ जस्तो लाग्छ । संवैधानिक रुपमा नै तीन खम्बे अर्थ-नीतिलाई स्वीकारेपछि सहकारीलाई पनि सोही मूताविक कार्य गर्ने वातावरण बनाई दिनुपर्छ । शहरका केही विग्रेका सहकारीलाई हेरेर सहकारीप्रति धारणा बनाउनु गलत भएको र सहकारीले ग्रामिण भेगमा राम्रो कार्य गरेको यथार्थतालाई स्वीकार्नु पर्दछ । सोलाई उत्प्रेरणा दिनको लागि सरकार र सहकारी निकायबाट सकारात्मक सदासयता देखाउनुपर्छ ।

९. सहकारीको विकासमा सदस्यहरुको भूमिका कस्तो पाउनु भा’छ र सदस्यहरुको भूमिका कस्तो भई दिए हुन्छ जस्तो लाग्छ तपाईलाई ?

~ सहकारी क्षेत्रप्रतिको चासो र जागरणमा तीव्रता ५० को दशकपछि मात्र आएको हुनाले समग्र रुपमा सहकारीका अभियन्ताहरुले सदस्यहरुलाई अझै पनि सहकारीका मूल्य , मान्यता , आदर्श र सिद्धान्त अनुकूलन.गराउन सकिरहेका छैनौ । यो तीतो यथार्थ हो र पनि सदस्यहरु आँशिक रुपमा नै किन नहोस् – सहकारीबाट मात्र हाम्रो सर्वाङ्गिण विकास हुन्छ भन्ने कुरामा सहमत हुनुहुन्छ । सदस्यहरुले पूर्ण रुपमा आफनो संस्थामा नै कारोवार गर्ने वातावरण बनाउनुपर्छ । आजका दिनमा सदस्यहरु निकै नै सुझबुझका साथ सहकारी प्रति सक्रिय हुनुहुन्छ । बचत गर्ने र आवश्यकता अनुसार ऋण लैजाने कार्य गर्ने गर्नुहुन्छ । त्यस्तै संस्थाले आयोजना गर्ने विविध क्रियाकलापमा सहभागिता जनाउने अन्यत्र ठाउँमा भएका असल अभ्यासहरुलाई अनुसरण गर्ने /गराउने कुरामा सदस्यहरु क्रियाशील भएको पाउछु म । सदस्यबाट यिनै सकारात्मक कुरालाई अनुसरण गर्दा खुशी लाग्छ ।

१०. यो सहकारी संस्थाको विकास र प्रवर्द्धनमा संस्थाका सञ्चालक र व्यवस्थापन टिमको सहयोग कस्तो रहेको छ ?

~सहकारी संस्थाको विकास र प्रवद्धन गर्न सञ्चालक तथा व्यवस्थापन वीचको सम्बन्ध अति नै प्रगाढ रहन आवश्यक छ । सञ्चालक समितिले आवश्यक नीति , नियम र कार्य विधि निर्माणको साथै कार्य गर्न सहज वातावरण निर्माण गर्नुपर्छ भने व्यवस्थापनले कार्यन्वयन तथा कार्य सम्पादनमा बढी ध्यान दिनुपर्छ । यो अवस्था मैले नेतृत्व गरेको संस्थामा मात्र हैन , यो भेगमा रहेका धेरै संस्थाहरुमा सकारात्मक सम्बन्ध रहेको हामी पाउँछौ । कुनै पनि संस्था व्यक्ति एक्लैले चलाउने होइन , टिमले चलाउने हो । टिम जहिले पनि मजबुद तथा अग्रगामी छलाङ्ग मार्ने खालको हुनुपर्छ । सहकारीको मूल आदर्श नै सहकार्यता हो भने सञ्चालक समिति तथा व्यवस्थापन वीच सुमधुर सम्बन्ध कायम गर्दै अगाडि बढेमा कुनै पनि संस्थाको गतिविधिमा समस्या हुने छैन भन्ने कुरालाई हामीले आत्मसाथ गरेका छौ ।

११. सहकारी क्षेत्रमा तपाईको भावी योजना के रहेको छ ?

~ हाम्रो यस क्षेत्रमा सञ्चालनमा रहेका सहकारीहरुलाई पूर्ण व्यवसायी तथा प्रविधिमैत्री बनाउन अबका दिनमा मेरो ध्यान केन्द्रित हुनेछ । सहकारीमा सुशासन कायम गर्ने , स्वस्थ्य संस्था निर्माण गर्ने तथा सहकारी वीच मर्जरको अभियान सञ्चालन गर्ने दिशातर्फ आफूलाई केन्द्रित गराउने छु । हाम्रो यस क्षेत्रमा रहेका सबै सहकारीको उचाई निर्माण गर्नको लागि नीति , विधि तथा प्रविधि मैत्री बनाउन आफूले सकेसम्म भूमिका खेल्ने नै छु । सहकारीका छाता संगठन तथा नियमनकारी निकायमा प्रारम्भिक संस्थाको तर्फबाट समन्वयकारी भूमिका निर्वाह गर्दै विविध कार्य गर्ने लक्ष्य लिएको छ ।

१२. तपाईको सहकारी संस्थाको हालको वित्तीय अवस्था कस्तो छ ?

~ मैले नेतृन्व गरेको संकल्प बचत तथा ऋण सहकारी संस्थ लि. २०६५/०९/२१ गतेदेखि सञ्चालनमा आएको हो । यो संस्थाको कुल सम्पति ३५ करोड ७१ लाख ३८ हजार ५५ रुपैया (३५,७१,३८,०५५) रहेका छ । करिब ११ वर्षको अवधिमा हाम्रो बजारलाई हेर्दा सन्तोषजनक रुपले विकास भएको पाउछौं । हिजोको दिनमा १११ जना शेयर सदस्यहरुको रु. ३१ लाखबाट सुरुवात गरिएकोले पनि यो अवस्थालाई मैले राम्रो मानेको छु ।

१३.  संस्थामा शेयर धनीको संख्या र शेयर पुजी कति रहेको छ ? यो संख्या वृद्धि गर्ने सम्बन्धमा संस्थाको के कस्तो सोचाई रहेको छ ?

~ हामीले यो संस्था स्थापना गर्दा १११ जना शेयर सदस्यबाट सुरु गरेका हौँँ भने आज ३,२२८ शेयर सदस्यको रु.२,६२,१७,३०० शेयर पूँजी सहित कारोबार गरेका छौँ । आफ्नो कारोवार वृद्धि गर्नको लागि संस्थाले विभिन्न कार्यक्रमहरुको तर्जुमा गरेको छ । नगरपालिका कार्यक्षेत्र भित्र रहेका विभिन्न टोलहरुमा सहकारी अभिमुखीकरण कार्यक्रम , सहकारी शिक्षा कार्यक्रम र घरदैलो कार्यक्रम सञ्चालन गरेर शेयर सदस्य र शेयर पूँजी वृद्धि गर्ने कार्यलाई अगाडि बढाउन शेयर तथा सदस्य विस्तार उप–समितीले कार्य गरिरहेको छ । त्यस्तै यस संस्थाले समाजमा खेलेको भूमिका र सदस्यहरुलाई प्रदान गरेको सेवाको कारणले पनि संकल्पमा आवद्धताको लागि आकर्षण बढ्दो छ ।

१४. तपाई नेतृत्वको यो सहकारी संस्थामा निक्षेप संकलन र कर्जा लगानीको अवस्था कस्तो छ ?

~ यस संस्थाप्रति विश्वास र आकर्षण बढ्दो मात्रामा रहेकोले हाम्रो संस्थामा निक्षेपको अवस्था राम्रो भएको मान्न सकिन्छ । गएको असार मसान्तको रिपोर्ट अनुसार यसको बचत रु.  २५,२१,१२,२४३ रुपैया रहेको छ । त्यस्तै ऋण लगानीतर्फ रु.२४,१०,६४,०३७ रहेको छ ।

१५. यो सहकारी संस्थाले कर्जा लगानीको लागि कस्तो क्षेत्रलाई प्राथमिकता दिएको छ र असुलीको अवस्था कस्तो रहेको छ ?

~ यो संस्था स्थापनाको मूल लक्ष्य नै ग्रमिण क्षेत्रका सदस्यहरुलाई स्वरोजगार निर्माण गर्ने , व्यवसायी बनाउने र आत्मनिर्भर बनाउने भएको कारणले हाम्रो संस्थाले खासगरिकन कृषि क्षेत्र , लघु व्यापारतर्फ तथा व्यवसायिकतर्फ हामी बढी केन्द्रित छौँ । राम्रो लगानीको केही भाग घरायसी तथा घर जग्गा तर्फ सदस्यहरुले प्रयोग गर्नु भएको भएता पनि धेरै जसो कृषि र लघु व्यापार तर्फ ऋणको उपयोग भएको छ । यसले सदस्यको जीवनस्तरमा प्रत्यक्ष प्रभाव परेको र सुधार भएको देख्न सक्छौँ । ऋण लगानी पछि असुलीको प्रकृया पनि महत्वपूर्ण पाटो हो । हामीले प्रत्येक महिना व्याजको र ३–३ महिनमा किस्ता तोकेका छौँ । केही समय व्याज तथा किस्ता रोकिएमा तत्कालै व्यवस्थापनको टिमले सजकता अपनाउछ । पल्र्सको नियम अनुसार हाम्रो संस्थामा भाखा नाघेको ऋण ४ प्रतिशत भन्दा कम नै रहेको छ । भाखा नाघेको ऋणको जोखिम व्यवस्थापन गर्न सम्भावित कर्जा नोक्सानी व्यवस्था खर्च लेखघ ऋण सुरक्षण कोष तथा डुवन्त कोषको व्यवस्था गरेर संस्थालाई स्वस्थ्य बनाउने प्रयत्न गरेका छौँ ।

१६. संस्थाले कस्ता वर्गलाई सेवा लक्षित गरेको छ र हाल भएका सदस्यहरु कस्ता वर्गका रहेका छन् ?
~ मैले माथि नै भने – हाम्रो संस्थामा किसान , व्यापारी , शिक्षक , कर्मचारी तथा विभिन्न लक्षित.वर्गहरु रहेका छन् । हामीले महिला , भूमिहीन र दलित जस्ता समूहलाई लक्षित गरेर सेवा प्रदान गरेका छौँ । जुन व्यक्ति वित्तीय संस्थाको पहुँचमा पुग्न सकेका छैन , त्यस्ता व्यक्तिहरुलाई लक्षित गरेका छौँ । महिलाहरुको समूह बनाई समूहको ग्यारेण्टटीमा ऋण लगानी गरेका छौँ । विभिन्न लक्षित वर्गहरुलाई सदस्य बन्दा प्रवेश शुल्क मिनाहा गरेका छौँ । हाम्रो सेवाको केन्द्र निम्न वर्ग तर्फ नै केन्द्रित छ । हाल विद्यमान सदस्यहरुलाई केलाउँदा पनि ५१ प्रतिशत महिलाहरु हुनुहुन्छ । त्यस्तै मधेसी , मुश्लिम तथा विभिन्न आरक्षित जातिहरुको प्रभाव पनि संस्थामा उल्लेख्य रहेको छ ।

१७. यो संस्था स्थापनाको उद्देश्य कतिको पूरा भए जस्तो लाग्छ तपाईलाई ?

~ यो संस्था स्थापना मूलत: छरिएर रहेको स–साना पूँजीलाई संकलन गरी सदस्यहरुको सामाजिक , आर्थिक तथा सांस्कृतिक आवश्यकता पूरा गर्नु नै हो । साथै व्यक्तिमा बचत गर्ने संस्कारको विकास गराई हुँदा र नहुँदाको बेलामा पनि सहकारीलाई साथी बनाउने र आफना सम्पूर्ण वित्तीय व्यवस्थापन सहकारी मार्फत गराउनु नै हो । हामीले संस्था स्थापना गर्दा एउटा सपना देखेका थियौ – संस्थामा आवद्ध हुने सबै सदस्यले नियमित आम्दानीको स्रोतको व्यवस्थापन गर्न सकून । यो उद्देश्य त पूर्ण रुपमा पूरा भएको मान्न सकिदैन तर सदस्यहरुमा बचत गर्ने र व्यवसायी बन्नुपर्छ भनेर सचेतना प्रचुर मात्रामा विकास भएको पाइन्छ । आजसम्म भएका कार्यबाट सन्तोषपल नै छौँ ।

१८. सदस्यहरुलाई आकर्षित गर्ने संस्थाका सेवा तथा विशेषताहरु के कस्ता रहेका छन् ?

~ यो संस्था स्थापनादेखि नै संस्था सदस्य केन्द्रित हुनुपर्छ र समुदायप्रति बफादार हुनुपर्छ भन्ने मान्यताले हामीलाई डो-याइरहयो । आज पनि हामी यो मान्यताबाट विचलित भएका छैनौ । संस्थामा नयाँ प्रयोग र असल अभ्यासहरुलाई हामीले अनुशरण गरेका छौँ । संस्थाले ११ किसिमका बचत निर्माण गरी आकर्षक व्याज प्रदान गरेका छौ । हाम्रा केही बचतहरु – जस्तो योजना बचत छ , यसमा आवद्ध हुनेले १० वर्ष पछि पनि घर बनाउन , छोरा छोरी पढाउन , गाडी किन्न तथा अन्य तोकिएका कुनै कार्य गर्न केही कठिनाई हुदैन । त्यस्तै आफूप्रति विश्वास कायम गर्न संस्थाले आफ्नै भवन किनेको छ , मोबाईल बैङिक , ए.टी.एम. सेवा कार्यालयका सूचनाहरुलाई विश्वसनीय , गोपिनीयता र स्थायी रुपमा राख्नको लागि .कलाउड आवद्धता , विभिन्न विधामा सम्मान , जेष्ठ सदस्यलाई वार्षिक रुपमा नियमित सम्मान , सुत्केरी भेटघाट , एकल महिलाका छोरा छोरीलाई पढाउन सहयोग , मृत्यु पर्यन्त सहयोग , नव दुलही भेटघाट तथा कार्यालयबाट अतिरिक्त समयमा पनि चुस्त सेवा प्रदान गरेबाट सदस्यहरु लाभान्वित हुनु भएको छ । यस संस्था नेपाल सरकार , भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्रालय अन्तर्गतको  सहकारी विभाग तथा नेपाल बचत तथा ऋण केन्दीय सहकारी संघ लि.ले संयुक्त रुपमा विकास गरेका पूर्ण तथा व्यवसायिक साकोस निर्माण कार्यक्रम (प्रोवेसन) मा सहभागी भएर अघि बढ्नुले पनि सदस्यहरुको वीचमा संस्था लोकप्रिय रहेको छ ।

१९.  यो क्षेत्रमा सहकारी-सहकारी बीच प्रतिस्पर्धाको अनुभव कतिको गर्नु परेको छ ?

~ हाम्रो यस क्षेत्र विस्तारै शहरीकरणतर्फ उन्मुख हुदैछ । सम्पूर्ण अवस्थाहरु ग्रामिण परिवेशशबाट गुज्रदै अघि बढ्दो छ । चन्द्रपुर नगरपालिका २०६८ को जनगणना अनुसार ७१ हजार जनसङख्या रहेको नगर हो । यो सानो ठाउँमा ३४ वटा बचत तगा ऋण सहकारी संस्था सहित १०८ वटा सहकारी संस्था रहेका छन् । त्यस्तै ८/१० वटा लघुवित्त संस्था र १९ वटा बिभिन्न बैंकका शाखाहरु रहेका छन् । तपाई आफै भन्नुस्- यति सानो ठाउँमा यति धेरै वित्तीय संस्थाहरु भएपछि कस्तो खालको प्रतिस्पर्धा भएको होला  ! हामीहरुको सहकारीमा विभागको अनुगमन , विगतमा डिभिजन सहकारी कार्यालयको अनुगमन र छाता संगठनको अनुगमनले केही सहज बनाएको छ तर धेरै सहकारीका नीति , विधि र मापदण्ड ओझेलमा परेका छन् जस्तो आभास हुन्छ । लेखा परीक्षण नगरेका , साधारणसभा नगरेका सहकारीसँग प्रतिस्पर्धा गर्नु पर्दा हाम्रो नियती कस्तो भएको होला आफै अनुमान लगाउन सक्नु हुन्छ । यी सबै कुराका बावजुद पनि हामी सहकारी वीच एकरुपता ल्याउने , व्याजदरमा समानता ल्याउने र एकीकरणको प्रकृयालाई गति दिने कार्यमा लागी नै रहेका छौँ ।

२०.  संकल्प साकोसको भावी योजना तथा कार्यक्रम के कस्ता छन्  ?
~ अबका दिनमा अझ कुशलताका साथ  यस सहकारी संस्थालाई अगाडि बढाउने , सदस्य सेवालाई उच्च प्राथमिकता दिने , सदस्यहरुलाई आत्मनिर्भर बन्नतर्फ विभिन्न तालिम तथा स्रोतको व्यवस्थापन गर्ने , कार्यालयको सेवालाई चुस्त बनाउने , नगरपालिकाका प्रत्येक घरधुरीबाट कम्तीमा एक जना संस्थामा आवद्धता गराउने , विभिन्न अत्याधुनिक प्रविधिको प्रयोग गर्ने , स्वास्थ्य संस्था निर्माण गर्ने , प्रोवेशन ब्राण्ड प्राप्त गर्ने , ‘संकल्पमा आवद्धता भविष्यको सुनिश्चितता‘‘ भन्ने नारालाई व्यवहारिक रुपमा नै कार्यन्वयन गर्ने दिशामा म र मेरो टिमको ध्यान हुनेछ र समग्र सहकारी अभियानमा संकल्पको एक विशेष स्थान बनाउन केन्द्रित  हुनु नै मेरा भावी योजनाहरु हुन् ।

Leave a Reply