सहकारी समन्वय सञ्जालको ४३औँ बैठक सम्पन्

सहकारी समन्वय सञ्जालको ४३औँ बैठक हिजो राष्ट्रिय सहकारी बैंक लि. मा सम्पन्न भयो । सो बैठकलाई सम्बोधन गर्दै राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालले आगामी १० बर्षमा सहकारी संघ/संस्थाहरुको संख्या घटाएर ५ हजारमा झार्ने बताउदै अब सहकारीकर्मीहरुले उत्साही भई सहकारीको एकिकरणमा जोड दिनुपर्छ भन्नुभयो ।
। उहाँले सहकारी एकीकरणलाई अभियानको रुपमा अगाडि बढाउन आग्रह गर्दै गैर-सरकारी संस्थाले प्रवर्द्धन गरेका सहकारी संस्थाहरुको पनि एकीकरण गर्नुपर्छ’ भन्नुभयो । ऐन /नियमले तोके अनुसार कोषहरु निर्माण गरी सहकारीलाई सवल र बलियो बनाउनु पर्ने र सहकारीको विषय बुझाएर मात्र सदस्यता दिनुपर्ने उहाँको भनाई थियो ।
समान प्रकृतिका सहकारी संघहरु बीच एकीकरण गरी सहकारीको संख्या घटाउनु पर्नेमा जोड दिदै केन्द्रीय तथा जिल्ला स्तरीय सहकारी संघहरुले व्यवसायिक ढंगबाट कार्य गरी दिगो विकास गर्न र उत्पादकत्व वृद्धि गर्दै लगेर ५ बर्षमा दोब्बर बनाउनुपर्ने उहाँको कथन थियो । ।
बढी ब्याज दिन्छु भनेर निक्षेप संकलन गर्ने सहकारीलाई ट्रयाकमा ल्याउनुपर्छ भन्दै उहाँले सन्दर्भ ब्याजदरलाई लिएर सहकारीकर्मीहरु विभाजित हुने अबस्था बन्न नहुने बताउनुभयो । राज्यले सन्दर्भ व्याजदर निर्धारण गर्नुभन्दा अगाडि लगानी गरिएको ऋणको व्याजदर एक वर्ष भित्र अहिलेको सन्दर्भ व्याजदर अनूरुप गर्न सकिने गरी विकल्प खुला राख्नु पर्ने उहाँको धारणा थियो । दुग्ध उत्पादक किसानलाई प्रोत्साहन हुने र उपभोक्तालाई मर्का नपर्ने गरी दुधको मूल्य वृद्धि गर्न राष्ट्रिय सहकारी महासंघ लि.को तर्फवाट आफूले सक्दो प्रयास गरेको बताउनुभयो । ‘राज्य र सहकारी हातेमालो गरेर अगाडि बढ्नु पर्नेमा जोड दिदै उहाँले सहकारी संघ/संस्थाहरुको तथ्यांक तथा सूचनाको मूख्य स्रोतको रुपमा रहेको सहकारी तथा गरिबी निवारण व्यवस्था सूचना प्रणालीमा आवद्ध हुन सबै सहकारी संघ/संस्थाहरुलाई आग्रह गर्नुभयो ।
राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष के.वी. उप्रेतीले राष्ट्रिय सहकारी बैंक लि.ले देशभर आफ्ना ४४ शाखाहरुमार्फत सहकारी संघ/संस्थालाई वित्तीय सेवा प्रदान गरिरहेको बताउनुभयो । सरकारले कम ब्याजदरमा लगानी गर्ने ऋण राष्ट्रिय सहकारी बैंक लि.मार्फत सहकारीलाई उपलब्ध गराउन सकेको खण्डमा सहकारी संस्थाहरुले सदस्यलाई सस्तो व्याजदरमा उत्पादनमूलक क्षेत्रमा ऋण उपलव्ध गराउदा उत्पादन बृद्धि हुने उहाँको भनाई थियो । ।
अन्तर्राष्ट्रिय श्रम संगठन (ILO)का राष्ट्रिय कार्यक्रम व्यवस्थापक नवीन कर्णले आई.एलओ.ले सहकारीमार्फत विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको बताउदै सहकारीले तल्लो समुदाय तथा शहरी गरीबहरुलाई समेत सेवा पु -याउनु पर्ने तथा सहकारी मूल्य श्रृखलामा जानुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय सहकारी महासंघ लि.का वरिष्ठ उपाध्यक्ष मीनराज कँडेंल , नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष डी.बी. बस्नेत , राष्ट्रिय सहकारी विकास बोर्डका सदस्य- सचिव चक्रवहादुर पराजुली , सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डे , भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्रालयका उप-सचिव दीपक खड्का , पशुसेवा विभागका म. वि. का. डा. ज्ञानवहादुर जिरेल , केन्द्रीय उपभोक्ता सहकारी संघ लि.का अध्यक्ष दीपकप्रसाद पौडेल , केन्द्रीय सूचना सञ्चार सहकारी संघ लि.का अध्यक्ष विष्णुहरि ढकाल, केन्द्रीय पशुपालन सहकारी संघ लि.का अध्यक्ष बाबुराम अधिकारी , सेसीका कन्ट्री डाइरेक्टर सीताराम भट्ट , जी आइजेडका डेपुटी चिफ टेक्नीकल एड्भाइजर रोसन श्रेष्ठ , सी. एम. एफ.का डेपुटी सी.ई.ओ. नरेश नेपाल र गुड नाइवरस इन्टरनेशनलका प्रवन्धक गणेश ढकाल उपस्थित हुनुभएको सो बैठकमा नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष परितोष पौड्याल, राष्ट्रिय सहकारी बैंक लि.का सञ्चालक सरिता भट्टराई तथा प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाई , साना किसान लघुवित्त वित्तीय संस्था लि.का कार्यकारी निर्देशक डा. शिवराम कोइराला , केन्द्रीय चिया सहकारी संघ लि.का अध्यक्ष गोबिन्द दाहाल , केन्द्रीय उखु उत्पादक सहकारी संघ लि.का अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघ लि.का सञ्चालक रामचन्द्रसिंह कुशवाहले आ-आफ्ना निकायका गतिविधिबारे जानकारी दिनु भएको थियो ।
त्यसैगरी गैरसरकारी संस्था महासंघ , नेपालका महासचिव रामप्रसाद सुवेदीले सहकारी ब्राण्ड निर्माण गरी सहकारी क्षेत्रमा सुशासन कायम गरी ‘एक सहकारी- एक उत्पादन’ का कार्यक्रमहरु अघि बढाउन सुझाव दिनुभयो ।
राष्ट्रिय सहकारी महासंघ लि.का नायव महाप्रबन्धक बाबुल खनाल बैठकको सहजीकरण गर्दै सहकारीका उत्पादन निर्यात गर्न एक्जीम कोड चाहिने तर भन्सार विभागवाट निकाशी पैठारी संकेत नम्बर (एक्जीम कोड) नदिदा समस्या उत्पन्न भएकोले यसको तत्काल समाधान गर्न अनुरोध गर्दै सहकारी व्राण्डको लोगो समेत समय सापेक्ष डिजाइन गर्नु पर्ने र नेपाल भ्रमण वर्ष , २०२० सफल पार्न सहकारीको तर्फवाट कार्यक्रम अगाडि बढाउन माग गर्नुभयो ।
सहकारी समन्वय सञ्जालमा सरकारी तथा गैर सरकारी संघ/संस्था , केन्द्रीय सहकारी संघहरु, नेपाल राष्ट्र बैंक लगायतका संघ संस्था तथा निकायका ४५ सदस्य रहेको बताइएको छ ।