भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को आयोजनामा सहकारी सन्दर्भ व्याजदर , कोपोमिस र कर सम्बन्धी अन्तर्क्रिया सम्पन्न

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को आयोजनामा सहकारी सन्दर्भ व्याजदर , कोपोमिस र कर सम्बन्धी अन्तर्क्रिया कार्यक्रम आज भक्तपुरको थिमि स्थित शंखधर पार्टी प्यालेसमा सम्पन्न भयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष कृष्णगोविन्द लाखाजूको अध्यक्षतामा सम्पन्न उक्त अन्तर्क्रिया कार्यक्रमको सहकारी विभागका रजिष्टार डा. टोकराज पाण्डेले उद्घाटन गर्नुभयो । त्यस अवसरमा रजिष्टार डा. पाण्डेले सहकारी ऐन , २०७४ अनुरुप जारी भएको सहकारी नियमावली , २०७५ मा व्यवस्था भए अनुसार रु.५ करोडभन्दा माथि कारोवार गर्ने सहकारी संस्थाहरुले यस आर्थिक वर्षभित्र कोपोमिस कार्यक्रम लागू नगरे तिनलाई सरकारी सेवा र सुविधाबाट बञ्चित गर्ने बताउनुभयो ।
अघिल्लो महिना कार्यान्वयनमा आएको सहकारी सन्दर्भ व्याजदरलाई भक्तपुरको सहकारी अभियानले समर्थन गरेको भनी खुशी व्यक्त गर्दै उहाँले सहकारी सन्दर्भ व्याजदर कार्यान्वयका क्रममा समस्या उत्पन्न भएमा सहकारी अभियानसँग छलफल गरी समस्याको गाँठो फुकाइने छ भन्नुभयो । सो अन्तर्क्रिया कार्यक्रमको अध्यक्ष लाखाजूले भक्तपुरका सहकारी संघ/ संस्थाहरुले १६ प्रतिशतभन्दा कम व्याजदरमा ऋण लगानी गरेकोले गएको साउन १९ गतेबाट कार्यान्वयनमा आएको सहकारी सन्दर्भ व्याजदरप्रति भक्तपुरको सहकारी अभियानको विरोध नरहेको बताउनुभयो ।
सहकारी सामूहिक व्यवसाय भएकोले निजी व्यापार/ व्यवसायमा जस्तो यसमा धेरै नाफा नहुने उहाँको भनाई थियो । त्यस अवसरमा आन्तरिक राजश्व कार्यालय , भक्तपुरका प्रमुख सूर्यप्रसाद पोखरेलले अभिमुखीकरण गर्नु हुदै सबै पेशा/ व्यवसायमा सम्लग्न नागरिकहरुलाई करको दायरामा आउनु पर्ने आवश्यकताबारे प्रष्ट पार्नुभयो । दम्पतीको एउटै या छुट्टा छुट्टै प्यान नम्बर लिन सकिने बताउदै उहाँले व्यक्तिले जति वटा पेशा / व्यवसाय गरेको पनि उसको एउटै प्यान नम्बर हुन्छ भन्नुभयो । प्रदेश सरकार या स्थानीय तहले तोके अनुसारको कर लिएपनि आयकर , अन्त शुल्क जस्ता कर भने सहकारी सहितका व्यापार /व्यवसायको कर भने आन्तरिक राजश्व कार्यालयमा बुझाउनु पर्ने कानुनी व्यवस्था रहेको उहाँको भनाई थियो ।
त्यसैगरी सहकारी विभागका शाखा अधिकृत हरि पौडेलले सहकारी सन्दर्भ व्याजदर र कोपोमिसबारे अभिमुखीकरण गर्दै कानुनले सहकारी विभागका रजिष्टारले तोके बमोजिम सहकारीमा सेवा शुल्क निर्धारण गर्न सकिने उल्लेख भए पनि सहकारी विभागका रजिष्टारले सहकारीको सेवा शुल्क नतोक्तासम्म सहकारी संघ/संस्थाहरुले आफ्नो वार्षिक साधारणसभाबाट पारित गरेर कर्जा प्रवाह गर्दा ०.५ देखि १ प्रतिशतसम्म सेवा शुल्क लिन सक्ने बताउनुभयो । यतिबेलासम्म देशभर कति सहकारी संघ/संस्था छन् भन्ने यकिन तथ्यांक कसैसँग नरहेको बताउदै उहाँले सबै सहकारी संघ/संस्थाहरुलाई कोपोमिस कार्यक्रम लागु गर्नु पर्नेमा जोड दिनुभयो ।
कोपोमिस अनिवार्य हो कि भन्ने कार्यक्रमका सहभागीको जिज्ञासाको जवाफ दिदै उहाँले सहकारी संघ/संस्थाहरुका लागि सहकारी ऐन/नियमावली अनिवार्य भए झैं कोपोमिस पनि अनिवार्य छ , कोपोमिसमा सहभागी हुने सहकारी संघ/संस्थाहरुको विवरण गोप्य रहने भएकोले आफ्नो विवरण बाहिन्छ कि भनेर डराउनु पर्दैन र कोपोमिसमा लागू गर्न सहकारी संघ/संस्थाहरुलाई केही निश्चित समय दिएर तिनीहरुलाई आवश्यक सहयोग गर्ने तर तोकिएको समयभित्र कोपोमिस कार्यक्रम लागू नगर्ने सहकारी संघ/संस्थालाई भने दण्डित गर्ने बताउनुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का व्यवस्थापक बालकृष्ण धोजू र कार्यक्रम संयोजक काजीबहादुर पङ्चले सञ्चालन र सो संघका कोषाध्यक्ष काञ्छा भक्त घ:जुले स्वागत गर्नु भएको सो कार्यक्रममा सूर्वनियायक नगरपालिकाका प्रतिनिधि उद्धवप्रसाद चौलागाईले सूर्यविनायक नगरपालिकाले फेरि सहकारी ऐन संशोधन गरेको जानकारी दिदै सो ऐनको संशोधन गरिएको विषयबारे प्रष्ट पार्नु भएको थियो । उक्त संघले भक्तपुर जिल्लाको सूर्यविनायक र मध्यपुर थिमि नगरपालिकाभित्रका बचत तथा ऋण सहकारी संस्थाहरुको लागि आयोजना गरेको सो कार्यक्रममा सहकारीकर्मीहरु उल्लेख्य रहेको थियो ।
सो संघले भक्तपुर र चाँगुनारायण नगरपालिका भित्रका बचत तथा ऋण सहकारी संघ/संस्थाहरुको लागि भने सो संघले यस खाले कार्यक्रम यस अघि नै आयोजना गरेको थियो ।