अन्तर सहकारी सुरक्षण कोषको ९औँ वार्षिक साधारणसभा सम्पन्न

0 Shares

ललितपुर जिल्लाका समुदायमा आधारित १५ वटा सहकारी संस्थाहरुको साझा संगठन ‘अन्तर सहकारी सुरक्षण कोष’ को ९औँ वार्षिक साधारणसभा नेफ्स्कूनका अध्यक्ष डी.बी. बस्नेतको प्रमुख आतिथ्यता र सो कोषका अध्यक्ष नेमबीर शाक्यको अध्यक्षतामा २०७६ भदौ ४ गते ललितपुरको सुनाकोठीस्थित बालकुमारी भीमसेन थानमा सम्पन्न भयो । सो साधारणसभामा उद्घाटन मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि बस्नेतले २५ वटाभन्दा बढी सहकारीहरु मिलेर विशिष्टीकरणको सहकारी सञ्चालन गर्न सकिने बताउदै यो अन्तर सहकारी सुरक्षण कोषका सबै सदस्यहरु त्यसतर्फ जान सक्ने बताउनुभयो । सहकारी क्षेत्रमा मनोमानी ढंगले व्याजदरमा कर्जा प्रवाह गर्ने सहकारीलाई कानुनी दायरामा ल्याउन सहकारी सन्दर्भ व्याजदर लागू गरिएको उहाँको भनाई थियो । त्यस अवसरमा राष्ट्रिय सहकारी महासंघ लि. , नेपालका सञ्चालक तथा जिल्ला सहकारी संघ लि. , ललितपुरका अध्यक्ष माधव दुलालले सहकारी एकीकरण आवश्यक भएपनि अहिले कै अवस्थामा सहकारी एकीकरण गाह्रो हुने भएकोले सरकारले यसमा सेवा सुविधा प्रदान गरी सहकारी एकीकरणलाई सहजता प्रदान गर्नु पर्ने बताउनुभयो । सोही अवसरमा राष्ट्रिय सहकारी बैंक लि. का सञ्चालक तथा ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष रामहरि बजगाईले अन्तर सहकारी सुरक्षण कोषले सहकारी संस्थाहरु बीच मित्रवत ढंगबाट आपसमा मिलेर काम गर्ने कार्यको शुरुवात गरी यसले उदाहरणीय  काम गरिरहेको बताउनुभयो । सो साधारणसभाको अध्यक्षता ग्रहण गर्दै अन्तर सहकारी सुरक्षण कोषका अध्यक्ष नेमबीर शाक्यले ११ वर्ष अगाडि सदस्य संस्थाहरुको तरलता व्यवस्थापन गर्न सहयोग गर्ने उद्देश्यले स्थापना भएको अन्तर सहकारी सुरक्षण कोष स्थापना हुँदाको उद्देश्य अनुरुप अगाडि बढिरहेको छ भन्नुभयो । ललितपुरको सौगलमा रहेको स्कोप बचत तथा ऋण सहकारी संस्था लि. को व्यवस्थापनमा सम्पन्न सो साधारणसभामा  सो कोषका सचिव तथा परम्परागत बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष अनुपवीर बज्राचार्यले अन्तर सहकारी सुरषण कोषको वार्षिक प्रतिवेदन पेश गर्नु भएको भएको थियो । स्कोप बचत तथा ऋण सहकारी संस्था लि. का प्रवन्धक बाबुराजा बज्राचार्यले सञ्चालन गर्नु भएको सो साधारणसभाले २ वर्षे कार्यकालका लागि परम्परागत बचत तथा ऋण सहकारी संस्था लि. वालिफलका अध्यक्ष अनुपवीर बज्राचार्यको अध्यक्षतामा अन्तर सहकारी सुरक्षण कोषको ७ सदस्यीय सञ्चालक समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा स्कोप बचत तथा ऋण सहकारी संस्था लि. अध्यक्ष यज्ञराज बज्राचार्य , सचिवमा दीपावती बचत तथा ऋण सहकारी संस्था लि. , दीपावतीनगरका अध्यक्ष राम शाक्य , कोषाध्यक्षमा बसुबर्ण बचत तथा ऋण सहकारी संस्था लि. , नागबहालका सचिव विभुशोन शाक्य र  सञ्चालक सदस्यहरु क्रमश : सम्येक बचत तथा ऋण सहकारी संस्था लि. इखाछेँका अध्यक्ष सुरेन्द्र शाक्य , मयुरवर्ण बचत तथा ऋण सहकारी संस्था लि. , भिञ्छेबहालका अध्यक्ष सूर्यमान बज्राचार्य र शाक्यपूच: बचत तथा ऋण सहकारी संस्था लि. कनि:बहालका अध्यक्ष जगतरत्न शाक्य रहनु भएको छ ।

२०६७ सालमा स्कोप बचत तथा ऋण सहकारी संस्था लि. , सौगाल , रत्नाकर बचत तथा ऋण सहकारी संस्था लि. , हकबहाल , शाक्यपूच: बचत तथा ऋण सहकारी संस्था लि. कनि:बहाल , झी: बहुउद्देश्यीय सहकारी संस्था लि. , श्रीबहाल र दीपावती बचत तथा ऋण सहकारी संस्था लि. , दीपावतीनगरले मिलेर त्यसबेला सहकारी संस्थाहरुमा देखिएको तरलतालाई व्यवस्थापन गर्न अन्तर सहकारी सुरक्षण कोष स्थापना गरेका थिए । हाल अन्तर सहकारी सुरक्षण कोषमा यी ५ वटा सहकारी संस्थाहरुका साथै सम्येक बचत तथा ऋण सहकारी संस्था लि. इखाछेँ , महाबुद्ध ओकुबहाल पेशागत मूर्तिकला कालीगढ सहकारी संस्था लि. , कनिबहाल , परम्परागत बचत तथा ऋण सहकारी संस्था लि. वालिफल , यशोधर बचत तथा ऋण सहकारी संस्था लि. , बुबाहाल , पद्मावती बचत तथा ऋण सहकारी संस्था लि , न: बहाल , बसुबर्ण बचत तथा ऋण सहकारी संस्था लि. , नागबहाल , मयुरवर्ण बचत तथा ऋण सहकारी संस्था लि. , भिन्छेबहाल , ठ्याका बचत तथा ऋण सहकारी संस्था लि. , नकबहिल , ज्वेल्स बचत तथा ऋण सहकारी संस्था लि. , पुल्चोक र युवा बचत तथा ऋण सहकारी संस्था लि. ह:खा मंगलबजार सदस्य रहेका छन् । अन्तर सहकारी सुरक्षण कोष स्थापना भएदेखि ७ वर्षसम्म १/१ वर्षको लागि क्रमानुसार अध्यक्ष भएपनि यस कोषको ७औँ वार्षिक साधारणसभाबाट  विधान संशोधन गरी २ वर्षे कार्यकाल रहने गरी ७ सदस्यीय सञ्चालक समिति चयन गर्न थालिएको उक्त कोषका अध्यक्ष अनुपवीर बज्राचार्यको भनाई छ । यसै कोषको आयोजनामा सन् २०१२ को अन्तर्राष्ट्रिय सहकारी वर्षको उपलक्ष्यमा ललितपुर सहकारी महोत्सव सम्पन्न भएको र उक्त महोत्सवमा ललितपुरका सहकारीमा आवद्ध सदस्यहरुलाई  हस्तकला सम्बन्धी जानकारी गराइएको उहाँको भनाई छ । उहाँले सो कोषको उद्देश्य निम्नानुसार रहेको सहकारी सञ्जाललाई बताउनुभयो ।

क. अन्तर सहकारी सुरक्षण कोषका सदस्यहरुको तरलता व्यवस्थापन गर्ने (ख) सहकारी समन्वय गर्ने (ग) सहकारी सम्बन्धी नीतिगत कुराहरुमा एकरुपता कायम गर्ने (घ) सबै सहकारीहरु मिलेर  सहकारी अभियानमा एकरुपता कायम गर्ने र (ङ)  विभिन्न तालिम तथा गोष्ठि सञ्चालन गर्ने

 

Leave a Reply