स्थानीय तहले सहकारीलाई कर उठाउने निकाय बनाउनु हुदैन
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. , भक्तपुरको संस्थागत विकास तालिम उप-समितिको आयोजनामा २०७६ भदौ १७ गते सहकारी ऐन/ नियमको कार्यान्वनको शिलशिलामा सहकारी नियमावली नियम २२ (ग) अनुसार सहकारी संघ /संस्थामा लेखा सुपरीवेक्षण समितिमा चयन हुनको लागि योग्यता प्रयोजन , लेखापालन र लेखापरीक्षणसँग सम्बन्धित तालिम सूर्यविनायक रिर्सोट , भक्तपुरमा सम्पन्न भयो । सो तालिमको समापन समारोहका नेफ्स्कूनका भूतपूर्व अध्यक्ष कैलाशभक्त प्रधानाङ्गले भक्तपुर जिल्लामा पाँच वटा सहकारी संघहरुमध्ये भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले सहकारी अभियानमा सक्रिय भूमिका निर्वाह गर्दै भन्दै खुशी व्यक्त गर्नुभयो । हाल सहकारीमा ऐन/ नियम जारी भएपनि व्यवहारमा नदेखिएको भन्दै उहाँले बचत तथा ऋण सहकारी संस्थालाई मात्र कर छुट दिई राज्यले सहकारीलाई विभेद गरेको बताउनुभयो । त्यस अवसरमा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष कृष्णगोविन्द लाखाजुले स्थानीय तहले सहकारीलाई कर उठाउने निकायको रुपमा व्यवहार गर्न नहुने भन्दै सहकारी संस्थाहरु एक जुट हुनुपर्नेेमा जोड दिनुभयो । सो संघका सचिव एवं संस्थागत विकास तालिम उप-समितिका संयोजक जगन्नाथ प्रजापतीले सहकारी नियमावली , २०७५ मा व्यवस्था भएनुसार यो तालिम आयोजना गरेको विचार व्यक्त गर्नुभयो । सो तालिममा उक्त संघका लेखा सुपरीवेक्षण समितिका संयोजक बालमुकुन्द उपाध्याय र व्यवस्थापक बालकृष्ण धोजुले सहजीकरण गर्नुभएको थियो । उक्त तालिममा सदस्य संस्थाहरुबाट ३३ जनाको सहभागिता रहेको थियो ।