तामाकोशी बचत तथा ऋण सहकारी संस्था लि. दिनदिनै प्रगतिपथ मै छ ।

– नवीनबहादुर खड्का , अध्यक्ष , तामाकोशी बचत तथा ऋण सहकारी संस्था लि. , चावहिल , काठमाडौं
– नवीनबहादुर खड्का विगत ८ वर्षदेखि सहकारी क्षेत्रमा क्रियाशील हुनुहुन्छ । दोलखा जिल्लाको विगु गाउँपालिका- ५ , चिलंखामा जन्मिनुभएका खड्का उमेरले ६५ वर्षबाट उकालो लाग्दा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । उहाँले हवाई क्षेत्रमा लामो समयसम्म प्राविधिक अधिकृत भएर काम गर्नु भएको थियो । कर्मले लगनशील र इमान्दार सहकारीकर्मीको परिचय बनाउनु भएका खड्कासँग सहकारी सञ्जालले सहकारी मर्जर लगायतका विषयमा छोटो कुराकानी गरेको थियो । जो यस प्रकार छ ।
१. आजकाल तपाई के गर्दै हुनुहुन्छ ?
~ यतिबेला म तामाकोशी बचत तथा ऋण सहकारी संस्था लि. को अध्यक्षको जिम्मेवारीमा रहेर क्ररियाशील छु ।
२. सहकारी क्षेत्रमा तपाई कसरी प्रवेश गर्नुभयो ?
~ जागीरमा छँदा बिदा लिएर मैले सहकारी सम्बन्धी तालिमहरु लिएको थिएँ । त्यही तालिमका कारण सहकारी क्षेत्रमा काम गर्ने ईच्छा प्रकट भएर नै म यस क्षेत्रमा आएँ ।
३. तपाईलाई सहकारी क्षेत्रमा लाग्न अरु के ले प्रेरित ग-यो नि ?
– सहकारी क्षेत्रमा तालिम तथा अध्ययन गरेर प्राप्त गरेको ज्ञानका कारण म यस क्षेत्रमा आएको हुँ र अहिले पनि क्रियाशील छु । यस क्षेत्रमा काम गर्ने क्रममा बिभिन्न क्षेत्रको ज्ञान भएका मानिसहरुसँग पनि संगत गर्ने र सम्बन्ध बनाउने मौका पाएँ । यस क्षेत्रमा काम गर्दा खुशी नै छु ।
४. तपाई सहकारी क्षेत्रमा क्रियाशील हुनुभन्दा अगाडि के गर्नु हुन्थ्यो ?
– म सहकारी क्षेत्रमा क्रियाशील हुनुभन्दा अगाडि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्राविधिक अधिकृत भएर लामो समयसम्म काम गरेँ । त्यसक्रममा पाकिस्तानमा युरोनोटिकल सम्बन्धी एड्भान्स ट्रेनिङ गरेँ । हवाई क्षेत्रमा हेलिकप्टर सम्बन्धी लामो समयसम्म अध्ययन गरेर ज्ञान प्राप्त गर्ने मौका पाएँ । त्यस क्षेत्रमा काम गर्ने क्रममा मलाई अमेरिका , भारत , पाकिस्तान , युनाईटेड अरव ईमिरेट्स , इजरायल , लेवनान आदि देशहरुको भ्रमण गर्ने अवसर प्राप्त भयो ।
५. सहकारी क्षेत्रमा काम गर्दा तपाईले प्राप्त गरेको अनुभव केही छ कि ?
~ सहकारीकर्मी भएर काम गर्ने क्रममा मलाई तीतामिठा निकै अनुभव प्राप्त भएको छ । वित्तीय कारोवार गर्दा जोखिम मोल्नु पर्ने रहेछ । सहकारीले पनि सदस्यहरुलाई ऋण लगानी गर्दा सकेसम्म धितो जमानीमा बुद्धि पु-याएर ग-यो भने संस्था डुब्ने सम्भावना धेरै कम हुने महसुस गरेको छु ।
६. सहकारी मर्जरबारे तपाईको धारणा के छ ।
~ सहकारी अरु वित्तीय क्षेत्रभन्दा फरक क्षेत्र हो । यो सदस्यहरु बीच सहकार्यमा आधारित भएर सञ्चालन हुन्छ । यसको आफ्नै मर्म र उद्देश्य हुन्छ । सरकारले सहकारीको सिद्धान्त तथा संविधान , ऐन /कानुन अनुसार सञ्चालन भइरहेका सहकारी संस्थाहरुलाई नियन्त्रण गर्नुको सट्टा सहयोग गर्नु पर्दछ ।
सहकारी मर्जरबारेमा राज्य पक्षबाट स्पष्ट धारणा आई नसकेकोले हुनाले यसबारेमा केही भन्न सक्ने अवस्था छैन ।
७. सहकारी ऐन/ नियमावलीबारे के भन्नु हुन्छ नि ?
– सहकारी ऐन तथा नियमावलीका सहकारीलाई बाधा व्यवधान गर्ने प्रावधान संशोधन गरी तिनलाई सहकारीमैत्री बनाएर कार्यान्वयन गर्नु पर्दछ ।
८. सहकारी सन्दर्भ व्याजदरबारे तपाई के भन्नुहुन्छ ?
~ जनतालाई सस्तो व्याजदरमा ऋण प्रवाह गर्ने कुरा त राम्रो हो तर सहकारी संस्थाहरुलाई जीवन्तता दिने सुनिश्चितता नभइकन गरिने यस्तो कुराले सहकारी संस्था सञ्चालनमा अफ्ठ्यारो बनाउने देखिन्छ । त्यसैले हाल लागू गरिएको सहकारी सन्दर्भ व्याजदरमा पुनरावलोकन गर्नु पर्ने आवश्यक छ ।
९. तपाई नेतृत्वको तामाकोशी साकोसको गतिविधि के छ ?
~ तामाकोशी बचत तथा ऋण सहकारी संस्था लि. राम्रोसँग सञ्चालन भइरहेको छ । यो दिनदिनै प्रगतिपथमा मै छ । यसका शेयर सदस्यहरुले यसलाई धेरै माया गरिरहेकोले यो संस्थाले राम्रोसँग प्रगति गर्न सकेको हो । त्यसको लागि उहाँहरुलाई धन्यवाद ।
हामी यो संस्थाको ९औँ वार्षिक साधारणसभा गर्ने तयारीमा छौँ । निकट भविष्यमा बस्ने यसको सञ्चालक समितिको बैठकले यसको ९औँ वार्षिक साधारणसभाको मिति र कार्यक्रम तय गर्ने छ ।
१०. अन्तमा केही भन्नु छ कि ?
~ सरकारले सहकारीमैत्री ऐन कानुन र नियमावली बनाएर कार्यान्वयन गरोस् । सहकारीकर्मीहरुले पनि सहकारीको सिद्धान्त , मूल्य र मान्यता अनुरुप ईमान्दारीपूर्वक काम गरुन् ।