सहकारीको महत्व र सैद्धान्तिक पक्षहरु

0 Shares

– सुदर्शन अर्याल , लेखक तथा सहकारीकर्मी

 

आपसमा मिलेर गरिने कार्यलाई सहकार्य वा सहकारी भनिन्छ । ‘एकजनाका लागि सबैजना र सबै जनाका लागि एकजना’ भन्ने नै सहकारीको मूल सिद्धान्त हो । समग्रमा भन्नुपर्दा आर्थिक रुपमा सवल र सक्षम हुनका लागि गरिने एकताबद्ध प्रयास नै सहकारी हो । सामाजिक मुक्ति र आर्थिक असमानताको अन्त्य गर्नु तथा आत्मनिर्भरता तर्फ अग्रसर हुनु नै सहकारीको मूल उद्देश्य हो । सहकारी यस्तो संगठन हो , जुन पूर्ण प्रजातान्त्रिक नियन्त्रण र व्यवसायिक लाभ हानीको जिम्मेवार स्वयंम बनी सञ्चालित निम्न आय भएका व्यक्तिहरुको सामूहिक भेला हो । यसर्थ: साझा इच्छा र उद्देश्य भएका व्यक्तिहरुको आपसी समझदारी र नियन्त्रण विधिबाट सञ्चालित आर्थिक उत्थानका लागि एकताबद्ध हुने प्रयास नै सहकारी हो ।

समाजका हरेक सांस्कृतिक तथा धार्मिक क्रियाकलापहरु समाजका सबै व्यक्तिहरुको सहकार्यमा सम्पन्न गर्ने परम्परा अहिले पनि हाम्रो समाजमा विद्यामान छ । जस्तै, विवाह , ब्रतबन्ध, काजक्रिया, मेला, जात्रा आदि जस्ता सामाजिक क्रियाकलापहरु सम्पन्न गर्नका लागि समाजका सबै व्यक्तिहरुको सामूहिक सहभागीता र सहकार्य अहिले पनि हामी देख्न सक्छौं । सामाजिक शोषण, आर्थिक विभेद र असमानतालाई निस्तेज गर्न विश्वभर सहकारीका पिता भनेर चिनीने ‘रोवर्ट ओवेन’का पदचाप र पदमार्गहरु सहकारी मार्फत सार्थक सिद्ध भएका छन ।

वि.सं. २०१६ सालमा ऐन नियम तर्जुमा भई नेपालमा सहकारीको विधिवत स्थापना भएता पनि यसलाई प्रचलनमा ल्याउने प्रयास कृषि मन्त्रालयले वि.सं. २०१० सालबाटै गरेको पाइन्छ । पछि विभिन्न समयमा ऐन नियम खारेज हुँदै , परिमार्जन हुँदै र समयानुकूल परिवर्तन हुँदै वि.सं. २०४९ साल जेष्ठ २ गते सहकारी ऐन २०४८ जारी भएपछि यसले सामाजिक र आर्थिक परिवर्तनको सम्वाहकको रुपमा स्थापित हुने मौका पायो ।  थोपा थोपा मिली समुद्र बन्छ भने झैं समान उद्देश्य भएका व्यक्तिहरुको सामूहिक सहभागीतामा थोरै बचत संकलनबाट बृहत कोष बनाई उनीहरुलाई नै उद्यमी बनाउन तथा आर्थिक समस्या टार्न सहकारी उपयुक्त माध्यम भएको पुष्टि भयो । तसर्थ: सहकारीले व्यक्ति, समाज र राष्ट्रलाई उत्पादनमुखी, आत्मनिर्भर र उद्यामी बनाउन महत्वपूर्ण भूमिका खेलेको छ । राष्टले सहकारीलाई अर्थतन्त्रका तीन खम्बे नीति अन्तर्गत प्रमुख एक खम्बाका रुपमा लिएकोले पनि यसको महत्व रहेको पाइन्छ ।

सहकारीका सैद्धान्तिक पक्षहरु :

सहकारीलाई वास्तवमा ‘धनीहरुको तरवार होइन, निर्धाहरुको छेकवार’ हो भन्ने सिद्ध गर्नका लागि यसका केही आफ्नै सैद्धान्तिक पक्षहरु छन् । नैतिक मूल्य , सामाजिक उत्तरदायित्व र आर्थिक इमान्दारीताका लागि सहकारीका तल उल्लेखित सैद्धान्तिक पक्षहरुले मार्गदर्शनका रुपमा काम गरिरहेका छन् ।

(क) सदस्यता : सहकारी एक स्वतन्त्र र ऐच्छिक संस्था हो । यसको सदस्य हुनका लागि कुनै जात, धर्म , पेशा वा बर्णले रोक्दैन । विना भेदभाव सदस्यता लिन र आफूखुशी त्याग्न पनि सक्दछन । त्यसैले सहकारी खुला सदस्यतामा आधारित संस्था हो ।

(ख) आर्थिक गतिविधि  : सहकारी संस्थमा साहु नै ऋणी र ऋणी नै साहु हुने हुँदा आर्थिक अनियमितता शुन्य नै हुन्छ । सदस्यहरुले गर्ने आर्थिक बचतले सहकारीमा उनीहरुको आर्थिक गतिविधिमा सहभागीता हुनपुग्दछ । संस्थाको सम्पत्ती सबैको साझा हुने हुँदा सदस्यहरुमा सामूहिक हितको भावना विकास हुनपुग्दछ । संस्थाले नाफा आर्जन गरेमा केही अंश सदस्यहरुले फिर्ता पाउने छन । भिन्न संरक्षीत कोष खडा गरी संस्थाको विकास गर्न तथा सदस्यहरुलाई राहत दिन संस्थालाई आर्थिक बजबुती बनाउन सबैको सहकार्य हुनेछ ।

(ग) सामूहिक नियन्त्रण :  संस्थाको आर्थिक गतिविधि संस्थाकै सदस्यहरुबाट संस्थाकै सदस्यहरुका लागि हुने हुँदा यसको नियन्त्रण, सञ्चालन र निर्माण प्रजातान्त्रिक प्रक्रिया वा सामूहिक नियन्त्रणमा आधारित हुन्छ । सञ्चालक समिति तथा विभिन्न उप-समितिहरुको गठन प्रक्रिया एक व्यक्ति एक मतका आधारमा गरिने हुँदा सहकारीमा सबैको समान अधिकार र नियन्त्रण रहन्छ ।

(घ) स्वनियमनकारी संस्था : सहकारी ऐन, नियम र कानूनसँग नबाझीने गरी हरेक सहकारीले आन्तरिक रुपमा आफ्ना कार्य सञ्चालन विधि तर्जुमा गर्न सक्दछ । संस्थाले आर्थिक बचत, लगानी प्रवर्द्धन तथा ऋण परिचालनको अवस्था र स्थिति सम्बन्धी कार्यविधि आफै निर्माण गर्न र लागू गर्न सक्दछ ।

(ङ) क्षमता अभिबृद्धि : सहकारीलाई सबल र सक्षम रुपमा सञ्चालनका लागि विभिन्न किसिमका तालिम, प्रविधि तथा शिक्षाको समेत आवश्यक्ता हुने हुँदा सदस्यहरुले आफ्नो क्षमता अभिबृद्ध गर्ने मौका पाउँदछन् । विभिन्न किसिमका तालिम र अन्तर्क्रियाबाट सदस्यहरुमा क्षमताको विकास हुन पुग्दछ । साथै सामाजिक उत्तरदायित्वको विकास, नेतृत्व क्षमतामा बृद्धि तथा चेतनामा सबलीकरण हुन पुग्दछ ।

अन्त्यमा, सहकारी भनेको प्रगति र परिवर्तनका लागि आर्थिक, सामाजिक र सांस्कृतिक ज्ञान र सीप सिक्ने थलो हो । सामूहिक लगानी, सहकार्य र एकता कायम गर्दै आपसी हित र सुविधाका लागि समर्पित हुने संस्था नै वास्तविक सहकारी हो । तसर्थ: पनि सहकारीले सदस्यहरुको आर्थिक गतिविधिलाई मात्र ध्यान नदिई उनीहरुको निर्णय क्षमतामा बृद्धि, सामाजिक घुलनशीलता, व्यत्तित्व र उत्तरदायित्वको भावना समेत  विकास गराउँदछ ।  आफ्ना सदस्यहरुलाई मात्र ऋण प्रभाव गराउनु र आफ्नो दायित्व र कार्यक्षेत्रबाट बाहिर नजानु सहकारीको लक्ष्मण रेखा हो । यो लक्ष्णम रेखा नाघेमा कानून बमोजिम अपराध ठहरीने, कारवाही हुने तथा खारेजीमा समेत पर्न सक्ने हुनाले सहकारी सामूहिक निर्णय र सामूहिक उत्तरदायित्वबाट प्रेरित भई सञ्चालन भएको पाईन्छ ।

Leave a Reply