आयाम साकोसको ७औँ वार्षिक साधारणसभा सम्पन्न , संस्थाको शेयर पूँजी रु.३,६७,९७,८००

ललितपुर महानगरपालिका -१४ ,ताल्छिखेलमा आफ्नै भवनबाट सञ्चालन भइरहेको आयाम बचत तथा ऋण सहकारी संस्था लि. को ७ औँ वार्षिक साधारणसभा यही भदौ २१ गते राष्ट्रिय सहकारी बैंक लि. का अध्यक्ष के.बी. उप्रेतीको प्रमुख आतिथ्यता र सो संस्थाका अध्यक्ष केशवप्रसाद नेपालको अध्यक्षता डिलाइट पार्टी भेन्यु , महालक्ष्मीस्थानमा सम्पन्न भयो । प्रमुख अतिथि उप्रेतीले एक भव्य समारोहका बीच सो साधारणसभाको उद्घाटन गर्नु भएको थियो । त्यस अवसरमा उद्घाटन मन्तव्य व्यक्त गर्दै उहाँले यस आयाम साकोसले स्थापना भएको छोटो समय मै धेरै प्रगति गरिरहेको देख्ता आफूलाई खुशी लागेको बताउदै सदस्यहरुलाई निर्धक्क भएर यस संस्थामा कारोवार गर्न आग्रह गर्नुभयो । उहाँले राम्रोसँग सञ्चालन भएका सहकारी संघ/संस्थाहरुलाई राष्ट्रिय सहकारी बैंक लि. को सहयोग गर्ने नीति रहेको बताउनुभयो । गएको महिनाबाट कार्यान्वयनमा आएको सहकारी सन्दर्भ व्याजदर सान्दर्भिक नभएकोले यसको परिमार्जन गर्नु पर्नेमा उहाँले जोड दिनुभयो ।
त्यस अवसरमा जिल्ला सहकारी संघ लि. , ललितपुरका उपाध्यक्ष रामशरण बस्नेतले आयाम साकोसको तथ्यांक हेर्दा सबै कुराले राम्रो रहेको र यही ढंगबाट प्रगतिपथमा अगाडि बढेमा यो संस्था ललितपुर जिल्लाको नमुना सहकारी संस्थाको रुपमा स्थापित हुने सम्भावना देखिएको बताउनुभयो । त्यस अवसरमा ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का कोषाध्यक्ष दीपक घिमिरेले ललितपुर जिल्लाका राम्रोसँग सञ्चालनमा रहेकग साकोसहरुलाई ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संस्था लि. ले तालिम लगायतमा आवश्यक सहयोग गर्ने बताउनुभयो । त्यसैगरी ललितपुर महानगरपालिकाका सहकारी शाखाका अधिकृत चिरञ्जीवी पौडेलले ललितपुर महानगरपालिका अन्तर्गत रहेका सहकारी संस्थाहरु संविधान , ऐन कानुन र नियमावली अनुसार सञ्चालन हुनु पर्नेमा जोड दिनु हुँदै विधि सम्मत ढंगबाट आफ्ना सदस्यहरुप्रति उत्तरदायी भएर सञ्चालनमा रहेका सहकारी संस्थाहरुको विकास र प्रवर्द्धनमा ललितपुर महानगरपालिकाको साथ र सहयोग रहने बताउनुभयो । उक्त साधारणसभामा आयाम बचत तथा ऋण सहकारी संस्था लि. को वार्षिक प्रतिवेदन पेश गर्नु हुँदै सो साधारणसभाका अध्यक्ष नेपालले सहकारीको सिद्धान्त , मूल्य र मान्यतामा आधारित यस आयाम बचत तथा ङण सहकारी संस्था लि. आफ्नो स्थापनाकालदेखि आफ्नो कार्यक्षेत्रभित्र शेयर वितरण गरी शेयर सदस्यहरुको आर्थिक , सामाजिक र सांस्कृतिक विकासका लागि निरन्तर क्रियाशील रहेको र यस संस्थाले ‘तपाईको आजको बचत उज्ज्वल भविष्यको आधार सहकार्य , सहयोग र सद्भावको प्रतिक आयाम सहकारी , आयाम तपाई हाम्रो लागि’ भन्ने नाराका साथ इमान्दारीपूर्वक आर्थिक सुशासन कायम राख्दै संस्थामा भएको साधन र श्रोतलाई अधिकतम उपयोग गरी न्यायोचित रुपमा वितरण गरी अभावमुक्त समाजको परिकल्पना र सामाजिक असमानतालाई हटाउन सहकारी पद्धति नै एउटा विशिष्ट माध्यम हो भन्ने अभिप्रायका साथ हामी अगाडि बढिरहेका छौँ भन्नुभयो । सोही अवसरमा सो संस्थाको आर्थिक प्रतिवेदन पेश गर्दै उक्त संस्थाका कोषाध्यक्ष नवीन खकुरालले यस ‘आयाम बचत तथा ऋण सहकारी संस्था लि. को शेयर सदस्य २१५४ , शेयर पूँजी रु.३,६७,९२,८०० , निक्षेप संकलन रु.२०,१५,०८,७८१/७३ र ङण लगानी तर्फ रु.२०,८२,४८,०६१/५४ रहेको बताउनुभयो । राष्ट्रिय सहकारी बैंक लि. , शाखा कार्यालय , लगनखेल , ललितपुरकी प्रमुख रमा घिमिरे लगायतको पनि
उपस्थिति रहेको उक्त साधारणसभाले संस्थाको वार्षिक प्रतिवेदन र, आर्थिक प्रतिवेदन र सोही संस्थाका लेखा सुपरीवेक्षण समिति संयोजक परशुराम गौतमले पेश गर्नु भएको लेखा सुपरीवेक्षण समिति प्रतिवेदन छलफल गरी पारित गरेको थियो ।
सो संस्थाका सदस्य ध्रुवप्रसाद नेपालले सञ्चालन गर्नु भएको सो साधारणसभामा उक्त संस्थाका जेष्ठ सदस्य तथा हाल ललितपुर महानगरपालिका- १४ तिखेदेवलमा बसोबास गरिरहनु भएका ८३ वर्षीय कृष्णप्रसाद पौडेल , सोही संस्थाकी सदस्य तथा नेपालगञ्जमा आयोजित राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेश नं.३ बाट सहभागी भई १० मीटर एयर राइफलमा नयाँ कीर्तिमान बनाई स्वर्ण पदक प्राप्त गर्न सफल सुस्मिता नेपाललाई दोसल्ला ओडाई सम्मान गरियो । त्यसैगरी सोही संस्थामा बचत तथा ऋण कारोवारमा उत्कृष्ट हुने सत्तम कोइराला , मनिषा कार्की , राजेशकुमार उपाध्याय , मानबहादुर कटुवाल , ओमप्रकाश ढुंगेलर गजेन्द्र तोम्वाफोलाई खादा ओडाएर सम्मान गरियो । त्यस्तै सोही संस्थाका शेयर सदस्यहरुका छोराछोरीहरुमध्ये २०७५ सालको एस.ई.ई. परीक्षामा उत्कृष्ट नतीजा हासिल गर्नु भएकी अनुशा अमगाई र रमिला खपाङ्गीलाई नगद पुरस्कार तथा प्रमाण-पत्र प्रदान गरिएको थियो ।
सो संस्था ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संस्था लि.को २०७५ फागुन १८ गते सम्पन्न २४औँँ वार्षिक साधारणसभाबाट ललितपुर महानगरपालिकामा सञ्चालनमा रहेका साकोसहरुमध्ये उत्कृष्ट साकोसको रुपमा पुरस्कृत भएको थियो ।