बहुउद्देश्यीय सहकारी संस्थाहरुलाई आत्तिएर बचत तथा ऋण सहकारी संस्थामा परिवर्तन नहुन सहकारी अभियानका नेताहरूको आग्रह

सहकारी ऐन , २०७४ मा बहुउद्देश्यीय सहकारी संघ /संस्थाले ७० प्रतिशत मुख्य उद्देश्यमा कार्य गर्नु पर्ने र ३० प्रतिशत बचत तथा ऋण कारोवार गर्न समय सीमा तोकिदिएपछि काठमाडौंको पुरानो बानेश्वर -बत्तीसपुतलीमा रहेको नवकान्तिपुर बहुउद्देश्यीय सहकारी संस्था लि. सहितका कतिपय बहुउद्देश्यीय सहकारी संस्थाहरु आफ्नो विनियम परिवर्तन गरी बचत तथा ऋण सहकारीमा परिवर्तन भइरहेको सन्दर्भमा हिजो बहुउद्देश्यीय सहकारी संघ लि. , काठमाडौंको आयोजनामा “बहुउद्देश्यीय सहकारी संघ र संस्थाहरुका साझा समस्या र चुनौतिहरुमा अभियानको साथ” विषयक एक दिवसीय अन्तर्क्रिया कार्यक्रम राष्ट्रिय सहकारी महासंघ लि. , नेपालका वरिष्ठ उपाध्यक्ष मीनराज कँडेलको प्रमुख आतिथ्यता र सो संघका अध्यक्ष मनोज थापाको अध्यक्षतामा सम्पन्न भयो । । सो कार्यक्रमको प्रमुख अतिथि कँडेलले उद्घाटन गर्नुभयो । सो अवसरमा उद्घाटन मन्तव्य व्यक्त गर्दै उहाँले बहुउद्देेश्ययीय सहकारी संस्थाहरुले मुख्य उद्देश्यमा ७० प्रतिशत र बचत तथा ऋणमा ३० प्रतिशत कारोवारको व्यवस्था संशोधनका लागि राष्ट्रिय सहकारी महासंघ लि. ले पहल गरिरहेकोले बहुउद्देश्यीय सहकारी सस्थाहरुले निर्धक्क भएर आफ्नो काम गर्नुस् तर आत्तिएर बहुउद्देश्यीय सहकारी संस्थाहरु बचत तथा ऋण सहकारीमा परिवर्तन गरिहाल्नु पर्ने अवस्था छैन भन्नुभयो । सो कार्यक्रममा मन्तव्य व्यक्त गर्दै राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष के बी उप्रेतीले धेरैजसो बहुउद्देश्यीय सहकारी संस्थाहरुले बचत र ऋणको कारोवार मात्रै गरेर बसेकोले समस्या आएको भन्दै बहुउद्देश्यीय सहकारीले बचत र ऋणसँगै उत्पादनमूलक काम गर्नु पर्नेमा जोड दिनुभयो । त्यसैगरी राष्ट्रिय सहकारी महासंघ लि.का लेखा सुपरीवेक्षण समितिका संयोजक धर्मदत्त देवकोटाले सहकारी अभियानमा एक आपसमा झगडा गरी छिन्नभिन्न हुनुको साटो एकजुट भएर यस अभियानलाई दरिलो बनाउनु पर्नेमा जोड दिदै सहकारी अभियान एकरुपताका साथ अघि बढ्न सकेेेे मात्रै ऐन र नियम सहकारी अभियान अनुकूल हुने बताउभयो । त्यस्तै नेफ्स्कुनका बरिष्ठ उपाध्यक्ष परितोष पौडेलले नेफ्स्कून बचत तथा ऋण सहकारी संघ/ संस्थाहरुको केन्द्रीय संघ मात्रै नभई यो सिंगो अभियानको अभिन्न अंग भएकोले यसले अस्तित्वमा रहेका सहकारी संघहरु बीच सहकारीको सिद्धान्तभित्र रहेर मात्रै प्रतिष्पर्धा गर्ने बताउदै सहकारी ऐन , २०७४ र सहकारी नियमावली , २०७५ मा भएका कतिपय व्यवस्थाले बचत तथा ऋण बाहेकका सहकारी संघ/संस्थाहरुलाई फरक व्यवहार गरेको छ र त्यसो हुनु पक्कै पनि राम्रो होइन भन्दै त्यस्तो हुनुमा नेफ्स्कून वा नेफ्स्कूनका कसैको कुनै पनि भूमिका नरहेको प्रष्ट पार्नुभयो । उक्त अवसरमा जिल्ला सहकारी संघ लि. , काठमाडौंका अध्यक्ष टेकप्रसाद चौलागाईंले आफूहरुले सहकारी सन्दर्भ व्याजदर जस्ता विषयमा अगाडि बढाएको आन्दोलन उचित भएको र सत्य कुरा उजागर भएरै छाड्छ भन्नुभयो । उक्त कार्यक्रममा काठमाडौं महानगरपालिकाका सहकारी विभागका प्रमुख नमराज ढकालले काठमाडौं महानगरपालिका सहकारी अभियानसँग मिलेर अगाडि बढ्न सधै तयार रहेको बताउदै सरकारको ‘समृद्ध नेपाल र सुखी नेपाली’ नारालाई सार्थक बनाउन सहकारीहरुले उत्पादनमा जानु पनेमा जोड दिनुभयो । सोही कार्यक्रममा नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि. का सञ्चालक सदस्य तथा बहुउद्देश्यीय सहकारी संघ लि. , ललितपुरका अध्यक्ष शरदकुमार महर्जनले
बहुउद्देश्यीय सहकारी संघ/ संस्थाले दर्ता हुँदाको उद्देश्य अनुरुप कार्य ७० प्रतिशत र बचत र ऋण कारोवार ३० प्रतिशत गर्नु पर्ने भन्ने सहकारी ऐन , २०७४ को व्यवस्था व्यवहारिक नभएकोले त्यसलाई संशोधन गरिनु पर्ने र सरकारले बहुउद्देश्यीय लगायतका सहकारीलाई उत्पादनमूलक क्षेत्रमा काम गर्ने वातावरण बनाउनु पर्ने आवश्यकता औल्याउनुभयो । त्यस्तैगरी नेफ्स्कूनका सञ्चालक सदस्य तथा काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ लि, (कास्कून)का अध्यक्ष दीपक पनेरुले सहकारीलाई बाधा गर्ने ऐन / नियम संशोधन गरी तिनलाई सहकारीमैत्री बनाउनु पर्ने खाँचो औल्याउनुभयो ।उक्त कार्यक्रममा जिल्ला संघ लि. , काठमाडौंका महासचिव खेमराज सुवेदीले बहुउद्देश्यीय सहकारी संस्थाका समस्या बारेमा कार्यपत्र पेश गर्नु भएको थियो । सो कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै बहुउद्देश्यीय सहकारी संघ लि. काठमाडौंका अध्यक्ष मनोज थापाले उक्त कार्यक्रम गर्नुको
उद्देश्यबारे प्रष्ट् पार्दै बहुउद्देश्यीय सहकारीको समस्या बहुउद्देश्यीयको मात्र नभई सिङ्गो सहकारी अभियानको समस्या भएकोले सो समस्या समाधान गर्न सहकारी अभियानले पूर्ण रुपमा साथ र सहयोग गर्नुपर्छ भन्नुभयो ।