सभ्य समाज बहुउद्देश्यीय सहकारी संस्था लि. को ९औँ वार्षिक साधारणसभा सम्पन्न , संस्थाको निक्षेप रु.२५,०६,२७,७४७/८३
काठमाडौंको तीनकुनेमा मुख्य कार्यालय र चावहिल – गोपीकृष्ण चलचित्र हलछेउमा सदस्य सेवाकेन्द्र मार्फत आफ्ना सदस्यहरुलाई सेवा प्रदान गरिरहेको सभ्य समाज बहुउद्देश्यीय सहकारी संस्था लि. को ९औँ वार्षिक साधारणसभा सो संस्थाका कार्यकारी अध्यक्ष कृष्णबहादुर बिष्टको अध्यक्षतामा हिजो रोयल बैंक्वेट तीनकुनेमा सम्पन्न भयो । जिल्ला सहकारी संघ लि. , काठमाडौंका अध्यक्ष टेकप्रसाद चौलागाईले सो साधारणसभाको उद्घाटन गर्नुभयो । त्यस अवसरमा उद्घाटन मन्तव्य व्यक्त गर्दै अध्यक्ष चौलागाईले यस सभ्य समाज बहुउद्देश्यीय सहकारी संस्था लि. नाम अनुसार नै व्यवस्थित ढंगबाट अगाडि बढिरहेको देख्ता खुशी लागेको बताउदै सहकारी संस्थाले १८ प्रतिशत लाभांश वितरण गर्ने भने पनि सहकारी ऐन , २०७४ ले गरेको व्यवस्था अनुरुप सहकारी संस्थाले जगेडा कोष लगायतमा रकम छुट्याउदै जाँदा ९ प्रतिशत मात्रै वितरण गर्ने अवस्था रहेको बताउनुभयो ।
उहाँले बहुउद्देश्यीय सहकारीलाई कर लगायतमा विभेद गर्नुका साथै बहुउद्देश्यीय सहकारी संस्थालाई दर्ता हुँदाको मुख्य उद्देश्य अनुरुपको ७० प्रतिशत र बचत तथा ऋण कारोवार ३० प्रतिशत गर्नुपर्छ भनेर पेलेको भन्दै बहुउद्देश्यीय सहकारीलाई विभेद गर्ने र पेल्ने ऐन/नियम संशोधन गरी बहुउद्देश्यीय सहकारीलाई लघु उद्योग लगायतका उत्पादनमूलक कार्य गर्ने वातावरण बनाउनु पर्नेमा जोड दिनुभयो । गएको साउन १९ गतेबाट सहकारीको सिद्धान्त विपरीत सहकारीको व्याजदरको सीमा तोकेर लागू गरिएको सहकारी सन्दर्भ व्याजदरको विरुद्धमा आफ्नो नेतृत्वमा उपत्यका संघर्ष समिति बनेको उहाँको भनाई थियो । उक्त अवसरमा सहकारी विभागका पूर्व प्रशिक्षक तथा निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन नेपाल निजामती कर्मचारी संगठनका उपाध्यक्ष भोला पोखरेलले यस सभ्य समाज बहुउद्देश्यीय सहकारी संस्था लि. को सबै सुचांक हेर्दा यो संस्था नाम अनुसार नै व्यवस्थित ढंगबाट अगाडि बढिरहेको र यस संस्थाको प्रतिवेदन लेखन पनि उत्कृष्ट रहेको बताउनुभयो । 
सहकारी ऐन , २०७४ र नियमावली , २०७५ का बहुउद्देशीय सहकारी संस्थाहरुलाई बाधा गर्ने दफा संशोधन हुने जानकारी आफूले पाएकोले बहुउद्देश्यीय सहकारी संस्थाहरु निर्धक्क भएर सञ्चालन हुन आग्रह गर्नुभयो ।
त्यस साधारणसभामा सो संस्थाका कार्यकारी अध्यक्ष कृष्णबहादुर बिष्टले उक्त संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै ८ वर्ष अगाडि स्थापना भएको यस सभ्य समाज बहुउद्देश्यीय सहकारी संस्था लि. को मुख्य उद्देश्य आफ्ना सदस्यहरुको बचत निक्षपलाई आकर्षक व्याजदरमा कर्जा प्रवाह गरी आत्मनिर्भर र सक्षम व्यवसायी बनाउने रहेको छ भन्नुभयो । 

उहाँले २४ जना कर्मचारीहरुले यस संस्थाबाट रेमिट्यान्स सेवा प्रदान गर्ने लगायतका कार्यहरु राम्रोसँग गरी सदस्यहरुलाई राम्रोसँग सेवा प्रदान गरिरहेको बताउदै यस संस्थाको सदस्य सेवाकेन्द्र थप भएमा कर्मचारी थपेर २९ जना पु-याउनुपर्छ भन्नुभयो । उहाँलेआर्थिक वर्ष २०७५/०७६ मा १२ सय शेयर सदस्यहरुले कारोवार गरिरहेको यस संस्थामा शेयर पूँजी रु. २,५९,८३,३०० , कूल निक्षेप रु.२५,०६,२७,७४७/८३ , कूल कर्जा तथा सापटी रु.२७,०३,६०,३३७/८३ , जगेडा तथा कोष रु.९९,४८,१३७/३० र सञ्चालन मुनाफा -कर अघि रु.७०,३२,६५२/१२ रहेको र आर्थिक वर्ष २०७६/०७७ मा यस संस्थाको शेयर पूँजी रु.३,१५,००,००० , बचत निक्षेप संकलन रु.३१,५०,००,००० , कर्जा लगानी रु.३५,५०,००,००० र कर तथा कोषकट्टी अघिको सञ्चालन मुनाफा रु.१,५०,००,००० पु-याउने लक्ष्य रहेको बताउनुभयो । उक्त साधारणसभाले अध्यक्ष बिष्टले पेश गर्नु भएको सो वार्षिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक माधवप्रसाद खरेलले पेश गर्नु भएको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पारित गरेको थियो । सो संस्थाकी सचिव सुनिता विष्टले स्वागत र पूर्व कर्मचारी प्रदीपराज भण्डारीले सञ्चालन गर्नु भएको सो साधारणसभामा संस्थाका जेष्ठ शेयर सदस्य मोहनप्रसाद बैदवार , वाल बचतकर्ता खुबी बस्नेत तथा शेयर सदस्यहरु गीता लम्साल , भेषकुमार कार्की , लक्ष्मीदेवी यादव , किरण श्रेष्ठ , कल्पना रञ्जितकार , नवराज खतिवडा , संगीता श्रेष्ठ , जनकलाल पराजुली , कृष्णप्रसाद भुषाल , सुधा लामा , उमारानी अग्रवाल , धर्मगोपाल श्रेष्ठ , दीपक श्रेष्ठ र खकुनेश्वरी राई तथा संस्थाका उत्कृष्ट कर्मचारीहरु धुर्मिला खत्री र असली लामालाई सम्मान गरियो भने २०७५ सालको एस.ई.ई. परीक्षामा उत्कृष्ट जी.पी.ए. प्राप्त गरी उत्तीर्ण हुने सोही संस्थाका सदस्यहरुका छोराछोरी आलोकविक्रम खड्का , आस्था प्रजापती , सृजना पराजुली र सजिना बस्नेतलाई नगद पुरस्कार तथा प्रमाण-पत्र प्रदान गरिएको थियो । त्यस अवसरमा सो साधारणसभामा प्रमुख अतिथि चौलागाई र विशिष्ट अतिथि पोखरेललाई उक्त संस्थाका कारीकारी अध्यक्ष विष्टले मायाको चिनो प्रदान गर्नु भयो । 



