महिला अभियान साकोसको १४औँ वार्षिक साधारणसभा सम्पन्न , कूल कारोवार रु. ९,८७,६८,१०१/४७
भक्तपुरको सूर्यविनायक नगरपालिका – २ , बालकोटमा महिलाहरुले सञ्चालन गरेको महिला अभियान बचत तथा ऋण सहकारी संस्था लि. को १४औँ वार्षिक साधारणसभा सोही संस्थाकी अध्यक्ष सृजना शर्मा चुडालको अध्यक्षता र सूर्यविनायक नगरपालिकाका मेयर बाशुदेव थापाको प्रमुख आतिथ्यतामा यही भदौ २१ गते बालकोटमा सम्पन्न भएको सो संस्थाले जनाएको छ । उक्त साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि थापाले यस महिला अभियान साकोसको कार्य प्रगति देख्ता आफूलाई खुशी लागेको बताउदै सहकारीको विकास र प्रवर्द्धनका लागि सूर्यविनायक नगरपालिकाले साथ र सहयोग गर्ने बताउनुभयो । सो साधारणसभामा उक्त संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै सोही संस्थाकी अध्यक्ष चुडालले भक्तपुरको जिल्लाका साविकका बालकोट , दधिकोट र सिरुटार गा.वि.स.(हाल सूर्यविनायक नगरपालिकाका १,२,३र ४नं. वडा ) कार्यक्षेत्र रहेको महिलाहरुले सञ्चालन गरिरहेको महिला अभियान बचत तथा ऋण सहकारी संस्था लि. ले महिलाहरुको जीवनमा आर्थिक तथा सामाजिक रुपान्तरण गर्ने उद्देश्यका साथ सहकारीको सिद्धान्त , मूल्य र मान्यतालाई आत्मसात गरी वित्तीय सेवा प्रदान गर्नुका साथै सामाजिक उत्तरदायित्वका कार्यहरु गरिरहेको बताउनुभयो । उहाँले २०६२ फागुन २३ गते डिभिजन सहकारी कार्यालयमा दर्ता भई ३७ जना शेयर सदस्यहरुको रु.७४ हजार शेयर पूँजीबाट कारोवार शुभारम्भ भएको यस संस्थामा आर्थिक वर्ष २०७५/०७६ मा शेयर सदस्य १,०५० जना , वाल बचतकर्ता ४९५ जना , शेयर पूँजी रु.८१ लाख २४ हजार ७ सय , बचत तथा निक्षेप रु. ७ करोड ९६ लाख ६४ हजार १ सय ९१/०३ , ऋण लगानी रु.७ करोड ६८ लाख २२ हजार ९ सय छयत्तर र कूल कारोवार रु. ९ करोड ८७ लाख ६८ हजार २ सय १/४७ रहेको बताउनुभयो । त्यस अवसरमा सोही संस्थाको आर्थिक प्रतिवेदन पेश गर्दै उक्त संस्थाकी कोषाध्यक्ष निर्मला खनालले महिला अभियान बचत तथा ऋण सहकारी संस्था लि.को आर्थिक वर्ष २०७३/०७४ मा शेयर पूँजी रु.६६,५७,७०० , बचत निक्षेप रु.५,२०,३२,८५६/५९ र ऋण लगानी रु.५,१३,७६,६३२ , आर्थिक वर्ष २०७४/०७५ मा शेयर पूँजी रु.७०,६४,२०० , बचत निक्षेप रु.६,३६,२८,१५०/४४ र ऋण लगानी रु. ६,१२,१३,९३६ र आर्थिक वर्ष २०७५/०७६ मा शेयर पूँजी रु.८१,२४,७०० , बचत निक्षेप रु. ७,९६,६४,१९१/०३ र ऋण लगानी रु.७,६८,२२,९७६ रहेको बताउनुभयो । सोही संस्थाकी उपाध्यक्ष मञ्जुकुमारी थापाले स्वागत र सचिव दुर्गा तिवारी सञ्जेलले सञ्चालन गर्नु भएको उक्त साधारणसभाले सो संस्थाको वार्षिक प्रतिवेदन , आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पारित गरेको थियो ।
