शुभप्रवा साकोसको १०औँ वार्षिक साधारणसभा सम्पन्न , एटीएम(ATM) सेवा शुभारम्भ , महावीर पुन सम्मानित

0 Shares

काठमाडौं महानगरपालिका -७ , चावहिल -चुच्चेपाटीमा सञ्चालनमा रहेको शुभप्रवा बचत तथा ऋण सहकारी संस्था लि.को दशौं वार्षिक साधारणसभा भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारणमन्त्री पद्याकुमारी अर्यालको प्रमुख आतिथ्यतामा यही भदौ २८ गते काठमाडौंमा सम्पन्न भएको छ । सो साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि अर्यालले सहकारीलाई कमाउने धन्दा मात्रै बनाउन नहुने भन्दै देशभरका ३४ हजार ५ सय१२ सहकारीहरुमध्ये आधाजसो बचत तथा ऋण सहकारी रहेकोले भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्रालयले सहकारी मर्जरलाई अभियानको रुपमा अगाडि बढाएको बताउनुभयो। माटोको विशेषता र बजारको आवश्यकता अनुरुप सहकारीकर्मीहरु अगाडि बढ्नु पर्ने भन्दै उहाँले बचत तथा ऋण सम्बन्धी कारोवार गर्ने सहकारी संस्थाहरूले अब काम गर्ने तौर तरिका बदल्नु पर्नेमा जोड दिन भयो ।

सहकारी ऐन ,२०७४  संशोधन गरेर अगाडि बढ्ने बताउदै उहाँले सहकारीमा  लगानीको सुरक्षाका निम्ति मन्त्रालयले कर्जा सूचना केन्द्र स्थापनाको प्रक्रिया अगाडि बढाएको र सहकारीमा ब्याजदरमा एकरूपता ल्याउने उद्देश्यले अधिकतम १६ प्रतिशतको सीमा निर्धारण गरी सहकारी सन्दर्भ ब्याजदर  लागू गरिएको छ भन्नुभयो  । सोही साधारणसभामा पेश गरिएको उक्त संस्थाको वार्षिक प्रतिवेदनमा सो संस्थामा आर्थिक वर्ष २०७५/०७६ मा  शेयर पूँजी रु. ५ करोड ३३ लाख ५३ हजार , बचत संकलन रु. ३६ करोड १७ लाख ८८ हजार , ऋण लगानी रु. ३७ करोड ४६ लाख ५० हजार , जगेडा तथा विभिन्न कोषहरु रु. ४ करोड ३१ लाख ७२ हजार रहेको  र संस्थाले रु. ७७ लाख २९ हजार मुनाफा आर्जन गरेको उल्लेख गरिएको छ ।

उक्त साधारणसभाबाट सो संस्थाको एटीएम सेवा समेत शुभारम्भ भएको छ । उक्त साधारणसभामा  राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई सम्मान गर्नुका साथै उहाँलाई राष्ट्रिय आविष्कार केन्द्रलाई सोही संस्थाको तर्फबाट रु. १ लाख १ हजार १ सय१ को चेक हस्तान्तरण गरियो भने उक्त संस्थाका उत्कृष्ट शेयर सदस्य , असल ऋणी , उत्कृष्ट बचतकर्ता , जेष्ठ नागरिक , उत्कृष्ट मुद्दती बचतकर्ता र उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो ।

Leave a Reply