लौह पुरष गणेशमान सिंहको आज २२औँ स्मृति दिवस

0 Shares

नेपाली काँग्रेसका सर्वमान्य नेता तथा लौह पुरुष गणेशमान सिहंको २२औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ । त्यागी र निष्ठावानको राजनीतिज्ञको छवि बनाउनु भएका सिंहको नेतृत्वमा नेपाली काँग्रेस र वाम दलहरुको संयुक्त रुपमा भएको २०४६ सालको ऐतिहासिक जनान्दोलनबाट पञ्चायती व्यवस्थाको अन्त भएको थियो । नेपाली काँग्रेसभित्रको वाम दलहरुसँग मिलेर जन आन्दोलन गरियो भने मात्र पञ्चायतको अन्त भई बहुदलीय व्यवस्था स्थापना हुन्छ भन्ने मान्यता राख्ने सिंहको पहलमा नेपाली काँग्रेस र वाम दलहरु बीच सहकार्य भएर २०४६ सालको जनान्दोलन अगाडि बढेको थियो ।

२०४६ सालको जन आन्दोलनपछि तत्कालीन राजा वीरेन्द्रले उहाँलाई प्रधानमन्त्री बन्न आग्रह गरे पनि नेपाली काँग्रेस तत्कालीन कार्यवहाक सभापति कृष्णप्रसाद भट्टराईलाई उहाँले प्रधानमन्त्री बनाउन सिफारिस गर्नु भएको थियो ।

प्रजापरिषदमा लागेर राणा शासनको विरोधका कारण काराबासको सजाय पाएका सिंह २००७ सालको परिवर्तनपछि राजा , राणा र काँग्रेस वीचको त्रिपक्षीय सम्झौतापछि बनेको मोहन शमशेरको नेतृत्वको सरकार र २०१५ सालको निर्वाचनपछि बनेको वी.पी. कोइरालाको सरकारमा मन्त्री बन्नु थियो । २०१७ सालको ‘कू’पछि सुन्दरीजल जेलमा ८ वर्ष उहाँ वी.पी. कोइराला सहितका नेपाली काँग्रेसका अरु ९ जना नेताहरुसँगै उहाँले ८ वर्ष जेल जीवन बिताउनुभयो । जेलबाट छुटेपछि वी.पी. कोइरालासँगै भारत प्रवासमा जानुभयो उहाँ । तत्कालीन भारतीय संस्थापनसँग अन्तर्विरोध बढेपछि नेपाली काँग्रेसका नेता वी.पी. कोइरालगसँगै राष्ट्रिय मेलमिलापको नारा सहित २०३३ सालमा स्वदेश फर्किनु भएको थियो उहाँ । स्वदेश फर्किना साथ उहाँहरुलाई प्रहरी पक्राउ गरेको थियो । जेलमा रहँदा होस् या जेल बाहिर उहाँ प्रजातन्त्रको लागि लडिरहनु भयो ।

जीवनको उत्तरार्धमा नेपाली काँग्रेससँग अन्तर्विरोध बढेपछि नेपाली काँग्रेस नै परित्याग गर्नु भएका लौह पुरुष सिहंको २०५४ असोज २ निधन भएको थियो । राजकीय सम्मानका साथ उहाँको पार्थिव शरीर अन्त्येष्टि गरिएको थियो । उहाँका छोरा प्रकाशमान सिंह नेपाली काँग्रेस नेता हुनुहुन्छ ।

 

Leave a Reply