भूतपूर्व सांसद हरि बैरागी दाहालको निधन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शंखुवासभाका नेता तथा भूतपूर्व सांसद एवम् निजी क्षेत्रबाट पहिलो हाइड्रोपावर निर्माण गरी सञ्चालन गर्ने पहिलो व्यक्तित्व हरि बैरागी दाहालको त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा हिजो विहान निधन भयो । शंखुवासभा जिल्लाको मादी नगरपालिकाको मादी च्याङ्ग्रिङ्का स्थानीयबासी दाहाल २०५१ सालको संसदीय मध्यावधि निर्वाचनमा नेकपा (एमाले) का उम्मेद्वार बनेर शंखुवासभा जिल्ला क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनु भएको थियो ।
२०४३ सालको राष्ट्रिय पञ्चायतको चुनावमा तत्कालीन नेकपा (माले) तर्फबाट जनपक्षीय उम्मेद्वार बनेर शंखुवासभा जिल्लाको राजनीतिमा उदाउनु भएका उहाँ २०४६ सालको जन आन्दोलनपछि शंखुवासभामा नेकपा एमालेको लोकप्रिय नेताको रुपमा स्थापित हुनु भएको थियो । मिलनसार र समाजसेवी चरित्रका नेता दाहाल केही दिन पहिले अस्वस्थ भएपछि उपचारको लागि उहाँलाई त्रि.वि.शिक्षण अस्पताल , महाराजगञ्जमा भर्ना गरिएको थियो ।
हिजो विहान निधन भएका बैरागीको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यालयमा श्रद्धाञ्जलिका लागि केही समय राखिएको थियो । हिजै अपरान्ह काठमाडौंको पशुपति आर्यघाटमा उहाँको पार्थिव शरीरको अन्त्येष्टि गरिएको थियो । उहाँको निधनप्रति विशेषत शंखुवासभा जिल्लाका सबैजसो राजनीतिक दलहरु तथा नागरिकहरुले शोक प्रकट गरेको देखिएको छ ।