मनिप्लान्ट साकोसको १०औँ वार्षिक साधारथसभा सम्पन्न , संस्थाका सदस्यहरुलाई ७ वटा घातक रोगको उपचार खर्च बापत रु.१५,००० प्रदान गरिने

काठमाडौं महानगरपालिका -३१ , मीनभवनमा रहेको मनिप्लान्ट बचत तथा ऋण सहकारी संस्था लि. को १०औँ वार्षिक साधारणसभा सहकारी विभागका रजिष्टार डा.टोकराज पाण्डेको प्रमुख आतिथ्यता र सो संस्थाका अध्यक्ष सुदर्शनप्रसाद पराजुलीको अध्यक्षतामा २०७६ असोज ४ गते , कार्की व्याङ्क्वेट , बबरमहलमा सम्पन्न भयो ।
सो साधारणसभाको उद्घाटन मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि डा. पाण्डेले सहकारी संस्थाहरुले सदस्यहरुप्रति उत्तरदायी भई सहकारीको सिद्धान्त , मूल्य र मान्यता अनुरुप मर्यादित ढंगबाट सञ्चालन हुनुपर्छ भन्नुभयो । २०७६ साउन १९ गतेबाट लागू गरिएको सहकारी सन्दर्भ व्याजदरको मापदण्ड अनुरुप सहकारी संस्थाहरुले व्याजदर निर्धारण गरी लागू गर्न र सहकारी विभागले सञ्चालन गरिरहेको कोपोमिसमा सहभागी हुनु पर्ने विचार व्यक्त गर्नुभयो । सहकारी सन्दर्भ व्याजदर कार्यान्वयनका क्रममा समस्या आएमा समस्याको समाधान गर्दै अगाडि बढ्ने उहाँको भनाई थियो । त्यस अवसरमा राष्ट्रिय सहकारी महासंघ लि. , नेपालकी महाप्रवन्धक चित्राकुमारी थाम्सुहाङ्ग सुब्बा , नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटा लगायते सो संस्थाले गरिरहेको प्रगतिप्रति खुशी व्यक्त गर्दै उक्त संस्थाको थप प्रगतिको कामना व्यक्त गर्नुभयो ।
त्यस साधारणसभामा सो संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै उक्त साधारणसभाका अध्यक्ष पराजुलीले यस संस्थाका शेयर सदस्यहरु , अन्य सहभागी संस्था र व्यक्तिहरुको लगानीमा ईर्ष्टन हाइड्रो पावर कम्पनी लि. बाट भोजपुर जिल्लाको पिखुवा खोलामा ५ मेगावाटको जलविद्युत आयोजना सम्पन्न भैसकेकोमा हर्षित हुदै छोटो अवधिमा नै यी ठूलठूला कार्यमा सम्लग्न हुनु , गराउनु तथा सफल पार्न पाउनु ठूलो खुशीको कुरा हो भन्नुभयो । उहाँले यस संस्थाले वेष्टर्न यूनियन मार्फत विश्वभरबाट रकम प्रापत गर्न सकिने र हिमाल रेमिट मार्फत नेपालभर रकम पठाउन र पाउन सकिने व्यवस्था गर्नुका साथै संस्थाको आफ्नै मोवाइल एप्स र ई-सेवा मार्फत टेलिफोन , विद्युत , मोवाइल , खानेपानी र टी.भी. च्यानलहरुको विल भुक्तानी र आन्तरिक हवाई टिकट (युटिलिटी पेमेन्ट) सम्बन्धी कार्य हुँदै आएको बताउनुभयो । मृगौला , मुटु , क्यान्सर , अल्जाइमर , मस्तिस्क पक्षघात , शारीरिक पक्षघात , मेरुदण्ड पक्षघात रोगलाई रु.१५,००० उपचार खर्च बापत सुविधा रकम प्रदान गरिने साथै स्वास्थ्य उपचार कर्जा बढीमा ६ महिनासम्मको लागि रु. ५०,००० निर्व्याजी उपलव्ध गराउदे आएको उहाँको भनाई थियो । उत्कृष्ट शैक्षिक पुरस्कारको राशी रु.२,००० बाट बढाएर रु.३००० पु-याएको बताउदै उहाँले शेयर सदस्यहरुले समूह बनाई लगानीका क्षेत्र पहिचान गरी(जस्तै कृषि , पशुपालन , जडीबुटी , जलविद्युत , चिस्यान केन्द्र , होटल एण्ड टुरिजम व्यवसाय , सुपथ मूल्यको ग्रोसरी स्टोर्स , क्याफे तथा पार्टी प्यालेस) सञ्चालन गर्न इच्छुक भई कर्जा माग भएमा उक्त परियोजनाको कर्जामा व्याजदर र प्रक्रियागत शुल्कमा सहुलियत प्रदान गरिने छ भन्नुभयो । अध्यक्ष पराजुलीले आपसी सहयोग , सद्भावना र सामुहिक हितका लागि सहकारी भन्ने सहकारीको मूल नारा र समृद्धिको प्रतिक मनिप्लान्ट भन्ने संस्थाको मूल उद्देश्यलाई अंगिकार गर्दै छरिएर रहेको स-सानो पूँजीलाई संकलन गरी स्थापना वर्षको शेयर सदस्य २५२ जना , शेयर पूँजी रु.६२,७०,००० र वासालात २,९५,७०,७६२ रहेकोमि चालु आ.व. सम्ममा यो संस्थाको शेयर सदस्य ८६२ जना , शेयर पूँजी रु. ६,०४,४०,००० , निक्षेप रु.४३,३२,९७,८०२ , कोषहरु रु.२,७५,४४,४४० , लगानी रु.३५,३२,४०० , कर्जा लगानी रु.४७,३०,९७,१२६ नाफा रु १,३४, ३५,२८५ र वासालात ५८,०३,७८,०७७ रहेको बताउनुभयो ।
त्यस अवसरमा सो संस्थामा आबद्ध सदस्य तथा कर्मचारीहरुमध्ये विभिन्न विधामा उत्कृष्ट सदस्य तथा कर्मचारीलाई सम्मान गरिएको थियो भने शेयर सदस्यका छोरीहरुमध्ये उत्कृष्ट अंक / जी.पी.ए.ल्याएर उत्तीर्ण विभिन्न तहका विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।