टेवा बहुउद्देश्यीय सहकारी संस्था लि.को १२औँ वार्षिक साधारणसभा सम्पन्न , संस्थाको कूल सम्पति/ दायित्व रु.८९,०७,५१,३१२/२०

राष्ट्रिय सहकारी महासंघ लि. का संस्थापक अध्यक्ष दीपकप्रकाश बास्कोटाले बहुउद्देश्यीय सहकारी संघ/ संस्थाको विकास र प्रवर्द्धनमा बाधा व्यवधान गर्ने ऐन/ नियम संशोधन गर्नु पर्ने बताउनु भएको छ । ललितपुरको हात्तीबनस्थित टेवा चोकमा आफ्नै भवनबाट सञ्चालन भइरहेको टेवा बहुउद्देश्यीय सहकारी संस्था लि. को १२औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । टेवा बहुउद्देश्यीय सहकारी संस्था व्यवस्थित र मर्यादित ढंगबाट सञ्चालन भइरहेको यसको सबै सूचांकबाट देखिएकोले सदस्यहरुले सकेसम्म सबै वित्तीय कारोवार यही संस्थामा गर्ने आग्रह गर्नुभयो । २०७६ असोज ४ गते ललितपुरको खरिबोटस्थित हात्तीवन बैङ्क्वेट प्रा.लि. मा टेवा बहुउद्देश्यीय सहकारी संस्था लि. का अध्यक्ष कुमार गिरीको अध्यक्षतामा सम्पन्न सो साधारणसभामा शुभकामना मन्तव्य व्यक्त गर्दै राष्ट्रिय सहकारी बैंक लि, , शाखा कार्यालय , लगनखेल , ललितपुरकी प्रमुख रमा घिमिरेले स्थापना भएको छोटो समयमा टेवा बहुउद्देश्यीय सहकारी संस्था लि. ले गरेको प्रगति देख्ता आफूलाई खुशी लागेको बताउदै सहकारीको सिद्धान्त , मूल्य र मान्यतालाई आत्मसाथ गरी व्यवस्थित र मर्यादित ढंगबाट सञ्चालन भएका सहकारी संस्थाहरुलाई राष्ट्रिय सहकारी बैंक लि. को साथ र सहयोग रहने बताउनुभयो । सो साधारणसभामा उक्त संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै सोही संस्थाका अध्यक्ष कुमार गिरीले प्रतिस्पर्धी वित्तीय संस्थाहरुको होडमा सहयोग र सहकार्यमा अगाडि बढ्ने तथा नयाँ अवसर सृजना गरी प्रतिस्पर्धी क्षमताबाट प्राविधिक , दक्ष र सीपमूलक कार्यमा स्वरोजगारीमूलक कार्य सञ्चालन गर्न सकिन्छ र हामी रोजगारी सृजना गर्ने संस्था बन्न सक्छौँ भन्ने आत्मबल र विश्वासका साथ कार्य गर्ने हाम्रो संस्थाका सबै जागरुक शेयर सदस्य महानुभावहरु निरन्तर लागि पर्ने बचनबद्धताका साथ स्थापना भएको यो संस्था सदस्यहरुप्रति उत्तरदायी भई सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु र बचत तथा ऋण कारोवारका साथै सहकारी उपभोक्ता पसल सञ्चालन गर्दै प्रगतिपथमा अगाडि बढिरहेको बताउनुभयो । त्यसैगरी सो संस्थाको आर्थिक प्रतिवेदन पेश गर्दै उक्त संस्थाका कोषाध्यक्ष विष्णुबहादुर रोक्काले आर्थिक वर्ष २०७५/०७६ मा यस संस्थामा शेयर पूँजी रु.११,९२,९९,५०० , कूल सम्पति / दायित्व रु.८९,७०,५१,३१२/२० , कूल निक्षेप रु.६२,९५,२१,३३६/७२ , ऋण लगानी रु. ६१,६६,२८,६६१/०६ , आम्दानीतर्फ रु.१२,२६,०२,७५८/८९ र खर्च तर्फ रु.७,६०,७२,१२३/८४ रहेको बताउनुभयो ।
सो संस्थाका उपाध्यक्ष रामेश्वर रोक्काले स्वागत मन्तव्य र सचिव रामशरण दुलालले सञ्चालन गर्नु भएको त्यस साधारणसभामा उक्त संस्थाका उत्कृष्ट खुत्रुके बचतकर्ता विभिल रावल , उत्कृष्ट क्रमिक बचतकर्ता सुन्दर महर्जन , उत्कृष्ट कारोवारकर्ता तिलकप्रसाद दुलाल , सुष्मा गौतम पौडेल , खिमकुमारी शर्मा र नविन महर्जन तथा उत्कृष्ट कर्मचारी प्रमिला खवासलाई सम्मान गरिएको थियो ।