ब्राइट साकोस , बागबजारको आगामी ४वर्ष भित्रमा एसियाली ब्राण्ड प्राप्त गर्ने उद्देश्य

काठमाडौंको बागबजारमा रहेको ब्राइट बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष रामइन्द्र न्यौपानेले आगामी ४ वर्ष भित्रमा एसियाली ब्राण्ड प्राप्त गर्ने उद्देश्य निर्धारण गरी सोही अनुसारको योजना तथा कार्यदिशा तय गर्ने बताउनु भएको छ । नीति , विधि , र प्रविधिले संस्थालाई सक्षम बनाई आगामी १८ महिनाभित्रमा सहकारी सञ्चालनको नेपाल ब्राण्ड प्राप्त गरी एसियाली स्तरको संस्था निर्माणको लागि प्रतिस्पर्धी बनाउने तथा समान उद्देश्य भएका अन्य संस्थासँग संस्थागत सहयोग आदान प्रदान गरी भविष्यमा गाभ्ने र गाभिने दिशामा अगाडि बढ्ने उहाँको भनाई थियो ।
२०७६ भदौ १४ गते होटल हार्दिक , बागबजार ,काठमाडौंमा आफ्नो स्थापना दिवसको दिन पारेर उक्त संस्थाको २०औँ वार्षिक साधारणसभा सम्पन्न भएको थियो । त्यस साधारणसभामा उक्त संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै उहाँले यस आर्थिक वर्षबाट यस संस्थाको आफ्नै भवनबाट यसले आफ्ना सदस्यहरुलाई आर्थिक सेवा प्रदान गर्ने बताउदै यसै बर्षबाट शुरु गरिएको संस्था स्थापना दिवसको दिन वार्षिक साधारणसभा गर्ने कार्यलाई निरन्तरता दिइने छ भन्नुभयो । आर्थिक वर्ष २०७५/०७६ मा यस संस्थामा शेयर सदस्य १,१७१ जना , शेयर पूँजी रु.६,२९,५६,१०० , जगेडा कोष लगायतका विभिन्न कोषहरु रु.६,६६,३६,५४६ , निक्षेप रु.३७,६९,८७,६९० , ऋण लगानी रु.४२,०५,३९,९८५ र खुद मुनाफा रु.२,०२,५९,१५५ रहेको उहाँको भनाई थियो । त्यस साधारणसभामा उक्त संस्थाको आर्थिक वर्ष २०७६/०७७ को कार्यक्रम तथा वार्षिक बजेट पेश गर्दै सोही संस्थाका सचिव तथा प्रवन्ध सञ्चालक लक्ष्मण न्यौपानेले भविष्यमा नेफ्स्कूनद्वारा लागू हुने एकीकृत साकोस प्रणालीमा आवद्ध जनाई अन्य सहकारी संस्थासँग अनुभव आदान प्रदान गरी असल शासनको गृहकार्यको प्रभावकारी रुपमा लागू गरिने बताउनुभयो । सामाजिक गतिविधिमा सक्रिय सहभागिता जनाइने बताउदै उहाँले आर्थिक वर्ष २०७६/०७७ मा यस संस्थामा शेयर पूँजी रु.७,००,००,००० , कूल निक्षेप रु.४३,२५,००,००० , कर्जा सापटी रु.४६,४५,००,००० पु-याउने लक्ष्य छ भन्नुभयो । त्यस अवसरमा सोही संस्थाका सञ्चालक मोतीलाल घिमिरेले स्वागत मन्तव्य व्यक्त गर्दै यस संस्थाले वित्तीय कारोवारसँगै सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु गरिरहेको बताउनुभयो ।
त्यस अवसरमा उक्त संस्थाका शेयर सदस्य , कर्मचारीहरु लगायतलाई विभिन्न विधामा सम्मान तथा पुरस्कृत गरिएको थियो ।