गाम्चा साकोसको ११औँ वार्षिक साधारणसभा सम्पन्न , संस्थाको शेयर सदस्य २,५४४
भक्तपुरको सूर्यविनायक नगरपालिका – ४ , गाम्चा चोकमा रहेको गाम्चा बचत तथा ऋण सहकारी संस्था लि. को ११औँ वार्षिक साधारणसभा सोही संस्थाका अध्यक्ष विकाश खड्काको अध्यक्षतामाश्री अरनिको उ.मा.वि. गाम्चाको प्राङ्गडमा आज सम्पन्न भयो । सो साधारणसभाको उद्घाटन गर्दै भूतपूर्व उद्योग मन्त्री तथा बर्तमान सांसद महेश बस्नेतले

गाम्चा साकोसले छोटो समयमा गरिरहेको प्रगतिको प्रसंशा गर्दै यस सहकारी संस्थाका सदस्यहरुले सञ्चालक समितिलाई ९९ प्रतिशत विश्वास र १ प्रतिशत वाच गर्नु पर्ने बताउनुभयो । उहाँले भक्तपुरमा भइरहेको विकास निर्माणमा आफूले गरिरहेको योगदानको चर्चा गर्दै भक्तपुरमा विकासको लहर ल्याएर अबको ३ वर्षमा ‘न्याय नपाए गोरखा जानु , विकासको मोडल हेर्न भक्तपुर जानु’ भन्ने नीति व्यवहारमा स्थापित गरी अन्तका मानिसहरुलाई भक्तपुर विकासको मोडल हेर्न आउने बनाइने छ भन्नुभयो । त्यस अवसरमा सूर्यविनायक नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष उत्तम थापा , अमरज्योति बचत तथा ऋण सहकारी संस्था लि. , गाम्चाका अध्यक्ष दामोदर न्यौपाने लगायतले सो संस्थाको प्रगतिको कामना गर्नुभयो ।
उक्त सभाका अध्यक्ष खड्काले सोही संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै अहिले सबैको ध्यान सहकारी मूल्य , मान्यता र सिद्धान्तलाई आत्मसात गर्नु भन्दा पनि कसरी बढी भन्दा बढी मुनाफा दिन सकिन्छ र शेयर सदस्यहरुको विश्वास जित्न सकिन्छ भन्ने तर्फ केन्द्रित भएको यस क्षणमा यस संस्थाले सहकारी मापदण्ड , सहकारीको मूल्य , मान्यता र सिद्धान्त अनुरुप कार्य गर्दा अत्यन्तै चुनौतीको सामना गर्नु पर्ने भएको बताउदै हाम्रो सोच संस्था एकै चोटी माथि जाने मात्र नभई प्रक्रियागत ढंगबाट सदस्यहरुको उन्नति प्रगति गर्दै विस्तारै माथि उठ्नु पर्दछ भन्ने भएकोले संस्थाबाट उपलब्ध सम्पूर्ण सेवा तथा सुविधाहरु दिगो र संस्थागत गर्ने दिशातर्फ हाम्रा कार्यक्रमहरु काद्रित र निर्देशित छन् भन्नुभयो । उहाँले गाम्चा बचत तथा ऋण सहकारी संस्था लि.को अभियानबाट हुनेखानेहरुको पैसा हुँदाखाने कृषकहरुमा पु-याई सहकारी गाउँ र सहकारी व्यवसायको माध्यमबाट आत्मनिर्भर समाज निर्माण गर्नु र त्यसमा पनि विशेषत: महिलाहरुलाई सम्लग्न गराई स्वदेश मै रोजगारी सृजना गर्नु रहेकोले हाम्रो यात्रामा युवा उद्यमी , कृषक , महिला र पछाडि पारिएका वर्गहरुलाई विशेष ध्यान दिइएको र कार्यक्रम कृषक र उद्यमी केन्द्रित गरिएको बताउनुभयो । यस संस्थाको गाम्चा चोकमा निर्माण भएको ४ तले अत्याधुनिक बहुउद्देश्यीय भवनबाट केही महिनाभित्रै यस संस्थाका सदस्य केन्द्रित सेवा प्रदान गर्न लागि परेको उहाँको भनाई थियो । त्यस साधारणसभा सोही संस्थाको आर्थिक प्रतिवेदन पेश गर्दै सो संस्थाका कोषाध्यक्ष सुशिल खड्काले यस संस्थामा आर्थिक वर्ष २०७५/०७६ मा महिला १,५१५ , पुरुष १,२०९ र महिला समूह ४१ गरी २,५४४ शेयर सदस्य , रु.१,४०,७६,००० शेयर पूँजी , रु.१०,५६,२३,७५०/११ बचत र रु.९,८२,४९,५१८/०२ रहेको बताउनुभयो ।
उक्त संस्थाका उपाध्यक्ष देवीलाल राजथलाले स्वागत मन्तव्य र सचिव विदुर खड्काले सञ्चालन गर्नु भएको सो सभामा सांसद बस्नेत र अध्यक्ष खड्काले सोही संस्थाका जेष्ठ शेयर सदस्यहरु : विष्णुकुमारी प्रधान र चन्द्रबहादुर श्रेष्ठ , उत्कृष्ठ शेयरकर्ता : कृष्णलक्ष्मी मानन्धर , उत्कृष्ठ महिला समूह : डोकाथली महिला समूह , उत्कृष्ट दैनिक बचतकर्ताहरु : गंगादेवी ढुंगेल र दीपेश राजथला , उत्कृष्ट खुत्रुके बचतकर्ता : सौगात माकाजु , उत्कृष्ठ ऋणी सदस्यहरु : शारदा रिमाल र खड्गबहादुर क्षेत्री तथा त्य संस्थाका शेयर सदस्यहरुका छोराछोरीहरु मध्ये २०७५ सालको एस.ई.ई. परीक्षामा उत्कृष्ठ जी.पी.ए. लाई उत्तीर्ण हुने सुजन घिमिरे र रेखा बैजुलाई सम्मान गरी नगद पुरस्कार प्रदान गर्नुका साथै सदस्य दीनेश थापालाई गाम्चा विशेष सम्मान गर्नुभयो भने अष्ट्रेलियामा रहेका सोही संस्थाका अध्यक्ष विकाश खड्काका भाइ विनोद खड्काले श्री अमर उ.मा.वि,गाम्चाका विद्यार्थीहरुका लागि हरेक वर्ष रु.२०,००० छात्रबृत्ति पठाउने गरेकोमा यस वर्ष पठाएको सो छात्रबृत्ति रकम युवराज तामाङ , रमन बकुञ्जे र सृजन चौलागाईलाई प्रदान गर्नुभयो ।
त्यस अवसरमा सोही सभाका अध्यक्ष खड्काले सांसद बस्नेतलाई मायाको चिनो प्रदान गर्नु भएको थियो
