नव युवा साकोसको १२औँ वार्षिक साधारणसभा सम्पन्न , महिला शसक्तिकरणमा जोड दिनु पर्दछ : उप-मेयर सत्याल
ललितपुर महानगरपालिकाका उप-मेयर गीता सत्यालले ललितपुर महानगरपालिककाले महिला शसक्तिकरणका कार्यक्रम अगाडि बढाएको बताउनु भएको छ । हिजो ललितपुरको पुल्चोकस्थित याक पार्टी प्यालेसमा सम्पन्न नव युवा बचत तथा ऋण सहकारी संस्था लि. मिखाबहाल , ललितपुरको १२औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभयो । उप-मेयर सत्यालले यस नव युवा साकोसले गरिरहेको प्रगति र यस संस्थामा महिलाहरुको राम्रो सहभागिता देख्ता आफूलाई खुशी लागेको बताउदै यस संस्थाले महिला शसक्तिकरणमा जोड दिनुपर्छ भन्नुभयो । त्यस अवसरमा जिल्ला सहकारी संघ लि. , ललितपुरका उपाध्यक्ष रामशरण बस्नेतले यस नव युवा साकोसको प्रतिवेदनमा उल्लेखित विवरण हेर्दा यो संस्था राम्रो गतिमा अगाडि बढिरहेकोले सदस्यहरुले ढुक्क भएर यस संस्थामा सबै कारोवार गर्न आग्रह गर्दै सहकारी सन्दर्भ व्याजदर सहकारीको सिद्धान्त विपरीत भएकोले यो संशोधन गरिनु पर्नेमा जोड दिनुभयो । त्यसैगरी ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का सचिव श्याम महर्जनले सहकारीको विकास र प्रवर्द्धनमा बाधा गर्ने ऐन / नियम संशोधन हुनु पर्ने बताउनुभयो । सो साधारणसभाको अध्यक्षता गर्दै सोही संस्थाका अध्यक्ष अशोक महर्जनले



स्थानीय समुदायमा आधारित यस संस्थाले सहकारीको मर्म , भावना र सिद्धान्त अनुरुप आर्थिक , सामाजिक तथा सांस्कृतिक रुपमा सदस्यहरुको जीवनस्तर माथि उठाउने विभिन्न कार्यक्रमहरु गरिरहेको बताउदै यस संस्थाले स्थानीय कला -संस्कृतिको विकास र संरक्षणमा सहयोग गरिरहेको छ भन्नुभयो । सो साधारणसभामा उक्त संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै सोही संस्थाका सचिव शान्त बज्राचार्यले सहकारी ऐन , २०७४ तथा सहकारी नियमावली , २०७५ जारी भइसकेता पनि यस क्षेत्रमा रहेको अन्यौलता अन्त हुन नसकेको बताउनुभयो । उहाँले यो सस्था स्थापनाकालदेखि हालसम्म सहकारीको सिद्धान्त , मुल्य र मान्यतासँगै समुदायमा आधारित सदस्य केन्द्रित योजना लागू गर्दै आएकोले २०७६ साउन १९ गतेबाट लागू गरिएको सहकारी सन्दर्भ व्याजदरले यस संस्थालाई कुनै असर परेको छैन भन्नुभयो । यस संस्थामग आर्थिक वर्ष २०७५/०७६ मा १,०७३ जना महिला र ८११ जना पुरुष गरी १,८८४ जना शेयर सदस्य , रु.२,८३,६५,१०० शेयर पूँजी रहेको उहाँको भनाई थियो । त्यस सभामा सो संस्थाको आर्थिक प्रतिवेदन पेश गर्दै सोही संस्थाका कोषाध्यक्ष नारायण महर्जनले आर्थिक वर्ष २०७५/०७६ मा यस संस्थाको कूल सम्पति रु.३१,६९,७९,०३२ , कूल निक्षेप संकलन रु.२४,२३,४३,८५८ र कूल कर्जा लगानी रु.२३,६७,०१,९११ रहेको बताउनुभयो ।
त्यस संस्थाका उपाध्यक्ष रवि महर्जनले स्वागत मन्तव्य तथा सह- सचिव सविना महर्जनले सञ्चालन गर्नु भएको उक्त साधारणसभामा त्यस संस्थाका जेष्ठ सदस्यहरु : श्रीमाया महर्जन र नाती डंगोल , उत्कृष्ठ कर्मचारी : राजेन्द्र महर्जन , उत्कृष्ट वर्ष सदस्य : शान्ती महर्जन , उत्कृष्ठ बचतकर्ताहरु : मायादेवी महर्जन , जमुना महर्जन , ज्ञानीमिरा महर्जन , श्याम महर्जन , कल्पना महर्जन , रीता डंगोल , सीता महर्जन , अजय महर्जन र शान्ती महर्जन तथा उत्कृष्ठ ऋणीहरु : माइला महर्जन , सहदेव श्रेष्ठ , मुकुन्द महर्जन , राजेन्द्र महर्जन , अर्जुन महर्जन , महन्त महर्जन सुशिला श्रेष्ठ , मीना महर्जन , दामोदरबहादुर श्रेष्ठ र हेरामाया महर्जनलाई सम्मान गरिएको थियो भने उक्त सभाका अध्यक्ष महर्जनले उप-मेयर सत्याललाई मायाको चिनो प्रदान गर्नुभयो ।
